Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
पुर्खा जहाँबाट आए त्यहाँको भलाई बारे हामीले सोँच्दैनो, हामी नेपालबाट आयौ र नेपाल र नेपाली कै भलाई सोच्दैछौ। बेलायतमै जन्मे, हुर्केका छ–सात पुस्ता पछिका हाम्रा सन्ततिले नेपालको भलाई मै ध्यान केन्द्रित गर्लान भनेर कथाकारले आशा गरेको देखिन्छ।

कथासङ्ग्रहः गन्तव्यहीन यात्रीको सपना Writer: दयाकृष्ण राइ
समीक्षा

30 Nov, -0001

गन्तब्यहीन यात्रीको सपना
– गोविन्द बेल्वासे

दयाकृष्ण राईले लेखन प्रतिको लगनबाट आफैले सिकेर जुन शैलीमा भावना र घटनालाई कथाका रुपमा अभिब्यक्त गर्ने कला विकास गरेका छन् त्यसलाई कुशको तिखारिएको टुप्पोसँग दाज्न सकिन्छ। यस कृतिलाई पढ्दा साहित्य विधाको औपचारिक उच्चशिक्षाको अवसर विना नै कुशाग्र बुद्धिलाई प्रयोग गरेर विषयको उठान गर्ने र बिट मार्ने पस्तुति कला स्वअध्ययनका माध्यमबाट उनले सिकेकेा भान हुन्छ।
उनको लेखनशैली विकास हुँदै “गन्तब्यहीन यात्रीको सपना”सम्म आइपुग्दा परिपक्क साहित्यकारको दर्जामा उनलाई राख्न कुनै कञ्जुस्याइँ गर्नु पर्दैन। तर पनि उनको प्रस्तुति शैलीमा विकास गर्न सकिने थुप्रै ठाउँहरु रहेको पाठकले सहजै अनुभूति गर्ने कमजोरीहरु भने नभएका होइनन्।
सैनिक कर्तब्यभित्र आफ्नो नाममै रहेको “दया”लाई कर्तब्यको साङ्ग्लोमा बाध्न बाध्य भएको हीनताबोधलाई सैनिक प्राविधिक शब्दका 'चार्ली–फोक्स्टर्ड' जस्ता शब्दजालमा उनेर प्रस्तुत गर्ने कला सराहनीय छ। महाभारतमा कृष्णले हतियार नउठाउने बचनलाई उलंघन गर्दै रथको पाङ्ग्रा नै चक्रका रुपमा उपयोग गरेको कर्तब्यलाई झल्काउने उनकेा बाध्यताबाट पाठकका दिमागमा सहज छाप छाड्न कथाकार सफल भएका छन्। तर, सैनिकहरुले दबाएर राखेको यौनको भोकलाई सकेसम्म छाडा शैलिबाट जोगाउनेृ प्रयास गर्दा साहित्य भन्दा तथ्य प्रस्तोता बनेको पनि भेटिन्छ। 'मुक्लिसे' जस्ता शब्दलाई उनले जानेरै लुकाएका हुन कि भन्ने खुल्दुली मेटिन उनका अरु कृति पढ्नु पर्ने देखिन्छ।
कथा लेखाइमा अनुभूतिको परिधि नाघेर कतै कल्पनामा बग्दै गरिएका ब्याख्याहरुले कथाकारले कतै उपन्यास लेख्न खोज्दा कथा लेखिएको त होइन भन्ने शैली ठाउँ ठाउँमा झल्किने गर्छ।
कथाकारले सैनिक जागिरको कर्तब्य भित्रको नकारात्मक पक्षहरुमा मात्र जोड दिएका छन्। त्यहाँ भित्र सैनिक तालिमकै क्रममा उनले सिकेका सकारात्मक कुरा र त्यसलाई सामान्य जीवनमा उपयोग गर्न सकिने पक्ष हुँदै नभएका होइनन् होला। उनको प्रस्तुतिले त्यहाँ केही दया–माया र सकारात्मक कुरा छँदैछैन भन्ने प्रस्तुत गर्न खोजेको भान हुन्छ।
प्राज्ञ पक्षमात्र असल, सैनिक संस्कार खत्तम भन्दाभन्दै उनी त्यस भित्रको नकारात्मक पक्षबाट समाजलाई जेागाउन कुनै मार्ग देखाउन भने असफल भएका छन्। कुलतमा रमाएका सैनिक खसमबाट सताइएकी महिलाले सन्ततिलाई बौद्यिक जमातमा प्रवेश गराएको सकारात्मक पक्ष प्रस्तुत गरेका छन र ती महिलाको त्यो स्वतहस्फुर्त विकास भएको सत्कर्मलाई सकारात्मक कडीका रुपमा पस्कन दयाकृष्ण सफल छन्। तर, एक साहित्यकारको कर्तब्यका रुपमा त्यस्ता सकारात्मक पक्षलाई सैनिक परिवारका आम महिलाहरुमा विकास गर्न मार्गसहितको सन्देश दिन चुकेका छन्। नेपालको परिवेशबाट बेलायती परिवेशमा छिरेपछि विचलित भएका सैनिक परिवारका महिलाहरुको पारिवारिक घटनालई उजागर गर्दा अलि बढि पुरुषको पक्षमा कलम चलाइएर अन्याय गरेका त होइनन भन्नलाई केही ठाउँ दिएका पनि छन्। पुरुषका कमजोरीहरु उजागर गरेर न्याय हुने आशा गर्नु भन्दा यी विक्रिति जोगाउन सन्देश पनि दिनु पर्ने कर्तब्यबाट साहित्यकार भाग्न सक्दैनन्। समस्या पैलाउने मात्र होइन समाधानको गन्तब्य पुग्ने बाटो देखाउन सक्ने साहित्यकार नै सच्चा युगानुकुल कवि हुन्छ।
उनको कुशको टुप्पो जस्तो तिखारिएको कलमले यी विक्रितिबाट समाजलाई जोगाउने र सभ्य समाजको विकास गर्ने बाटो पनि भेट्याउने छ भन्ने आशा भने जगाएको छ। हाम्रा दश पुस्ता अघिका पुर्खा जहाँबाट आए त्यहाँको भलाई बारे हामीले सोँच्दैनो, हामी नेपालबाट आयौ र नेपाल र नेपाली कै भलाई सोच्दैछौ। बेलायतमै जन्मे, हुर्केका छ–सात पुस्ता पछिका हाम्रा सन्ततिले नेपालको भलाई मै ध्यान केन्द्रित गर्लान भनेर कथाकारले आशा गरेको देखिन्छ। हामीलाई राम्रो लागेको भाषा, संस्कृति र संस्कारलाई जड रुपमा सन्ततिले अपनाउन भन्ने सोच्नु मुर्खता हुनेछ। त्यसैले कथाकारले धेरै पछिसम्म हाम्रो भाषा, संस्कृति र संस्कार जीवित राख्नकालागि गर्न सकिने सुधार र परिमार्जन बताई दिएमा दयाकृष्ण राई जस्ता साहित्यकारहरुलाई सम्मान भैरहने छ।