Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
हुनेखानेलाई भिसा दिने तर गरिबलाई भिसाको व्यवधान खडा गरेर गैरकानूनी आप्रवासीका रूपमा शोषण गर्ने प्रवृत्तिलाई तीखो बाण हान्न लारा सफल रहेकी छन्।

कथासङ्ग्रह- पात्रहरूसँग एक साँझ

30 Nov, -0001

लाराका अक्षर पढ्दै – गोविन्द बेल्वासे

लाराका अक्षर पढ्दै गएँ। किताब “पात्रहरुसँग एक साँझ” सकियो तर उनी अध्यात्मवादी हुन् कि भौतिकवादी भन्ने बुझ्न नसकी अन्तिम पानासम्म पुगेछु। तर, यो कृति अध्ययनबाट निस्किएको निचोडको अनुमान चाहिँ उनी अध्यात्मवादी होइनन् भन्ने नै हो। परम्परागत धार्मिक कुरीतिबाट जन्मिएका महिला शोषणका विषयमा यथार्थ उजागर गर्दा आफू‍ले खेप्नु पर्ने विरोधबाट बच्न आफूलाई तटस्थ राख्ने कोसिस गरेको भेटिन्छ। यो दुनियाँ चेतनाबाट सिर्जना भएको हो वा पदार्थको मिश्रणबाट चेतना जन्मिएको भन्ने अन्योलमा अल्मलिएर आफूलाई उनले तटस्थ राख्न खोजेको हुनुपर्छ। आइन्स्टाइनले पनि अहिलेसम्मको 'डार्क इनर्जी' तथा 'बिग ब्याङ थ्यौरी' आदिको चिन्तनलाई मन्थन गर्न पाएका भए आस्था परिवर्तन गर्ने थिए होलान्। त्यसैले लाराका थप कृति अध्ययन गर्ने मौका मिल्यो भने उनको आस्थाबारे मैले पनि बुझ्ने प्रयास गर्ने छु।

उनले यस कृतिमा सामाजिक असमानताविरुद्धका असन्तुष्टि र उत्पीडित महिला भाव व्यक्त त गरेकी छन् तर विद्रोहको द्वन्द्वात्मक विश्लेषण गर्न नसकेको कमजोरी देखाएर समाधान खोज्नबाट भागेको आभास दिएकी छन्। असमानतालाई विकृति त मान्ने तर विद्रोहको विरोधीका रूपमा हिंसाविरुद्धका अभिव्यक्ति‍का कारण यो कृतिमा द्वन्द्वात्मक विश्लेषणको कमी भेटिन्छ। हिंसा बिना बाघको पेट भरिन्न र पनि इकोसिस्टमका लागि बाघलाई आवश्यक मानिएकै छ। यो यथार्थलाई उनका आगामी कृतिमा अभिव्यक्त हुने आशा गर्न सकिने थुप्रै शब्दजालहरू उनिएको यो कृतिले समाज विज्ञानको विषयमा थुप्रै विषय उठान गरेको छ। रोजगारीका लागि बन्दुक उठाइएका हातहरूलाई लाहुरे परिवेशमा मिठास भरेर लाराले व्याख्या गरेकी छन्। साथै अन्याय र उत्पीडनविरुद्ध बन्दुक उठाउने हातहरूलाई नजानिँदो पाराले उठान गरेर “आरुका फूल र होलीका स्मृतिहरू” नामको कथामा उनले विद्रोहीलाई मन पराएको भाव जनाएकी छन्। साम्राज्यवादी बन्दुकको विरोध गर्न नसक्ने तर हिंसाबाट भाग्न खोज्ने उनको कलमको कमजोरी रहेको छ।

'कुरीकुरी नलागे पनि एक्लो उभिरहँदा कताकता कुतिकुति लाग्ने ठाउँ' जस्ता शब्दजाल बुन्ने लाराको लेखन पृथक् र सुन्दर छन्। महिलाका बाध्यता र सन्तुष्टिलाई नेपालदेखि पाश्चात्य सभ्यतासम्मको अनुभवका आधारमा उनले केलाएकी छन्। वेश्या र गृहिणी दुवै पुरुषका लागि समर्पित देख्ने उनका आँखा वास्तविक भोगाइका अभिव्यक्ति हुन्। कृतिमा उनले महिलाहरूको उन्मुक्ति खोजेको त बुझिन्छ तर स्पष्ट भाषामा पोखिन सकेको छैन।

भूमण्डलीकरणसँगै बसाइ सर्दै हिँडेको प्रसङ्गलाई “मान्छे सोध्छन् अझै पनि यो बाटो कहाँ जान्छ? बाटो कहीँ नजाँदो रहेछ। मान्छेहरू पो ओहोरदोहोर गर्दारहेछन्।” भन्दै स्पष्ट भाषा बोलेकी छन्। उनले इन्टरनेट तथा आधुनिक प्रविधिले राष्ट्रिय सीमाको व्यवधान नराख्ने तर भौगोलिक सिमानाको व्यवधानले परिश्रमीलाई श्रम बेच्न अर्को देश पुग्न छेक्ने हरियो र रातो पासपोर्टबीचको विभेदलाई समस्याका रूपमा औँल्याएकी छन्। हुनेखानेलाई भिसा दिने तर गरिबलाई भिसाको व्यवधान खडा गरेर गैरकानूनी आप्रवासीका रूपमा शोषण गर्ने प्रवृत्तिलाई तीखो बाण हान्न लारा सफल रहेकी छन्।

समग्रमा उत्पीडित महिलाभाव पोखिएको, लाहुरे जीवन वरपर मडारिएको परिवेशमा विद्रोहको सन्देश लुकाएर द्वन्द्वात्मक सामाजिक विश्लेषण गर्ने कोसिसमा यो कृति उदाएको भेटिन्छ। लाराले उठाएका समस्याहरूलाई समाधानको उपाय देखाउने कृति जन्माउने शुभकामना उनलाई दिन चाहन्छु।

<