Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
सुखमय जीवनको स्रोतसाधनले भरिपूर्ण जिन्दगीभित्र यो चिन्तन पलाउनु सकारात्मक पक्ष हो। पर्यावरणमा असन्तुलन कथाकारको चिन्ताको विषय बनाएर कथाहरूमा पस्कन उनी सफल छन्।

कथासङ्ग्रह- थकित पृथिवी Writer: बिजय हितान

30 Nov, -0001

थकित पृथ्वी – गोविन्द बेल्वासे

विजय हितानले आफ्नो पर्यावरण सम्बन्धी ज्ञान, सैनिक जागिरको अनुभव र नेपालदेखि बेलायतसम्मका आफ्ना अनुभवहरू समेटेर कथा सङ्ग्रह 'थकित पृथ्वी' तयार पारेका छन्। उनको प्रयासलाई भानुभक्तको घाँसीबाट पाएको प्रेरणासँग तुलना गर्न सकिन्छ। मानवको आश्रयस्थल पृथ्वीमा भविष्यका मानव सन्ततिहरूलाई अनुकूलता कायम रहिरहोस् भन्ने सन्तुलित इकोसिस्टमका लागि उनको चिन्तन प्रशंसा गर्न लायक छ। सुखमय जीवनको स्रोतसाधनले भरिपूर्ण जिन्दगीभित्र यो चिन्तन पलाउनु सकारात्मक पक्ष हो। पर्यावरणमा असन्तुलन कथाकारको चिन्ताको विषय बनाएर कथाहरूमा पस्कन उनी सफल छन्। तर, पाठकलाई किताबमा मनोरञ्जनात्मक तरिकाले बाँधिराखेर सन्देश दिन कथाशैलीमा थुप्रै कमजोरीहरू समाधान गर्दै नयाँ कृतिहरूबाट समाजलाई उनले दिन खोजेको सन्देश फस्टाउन सुझाव दिन सकिने स्थिति रहेको कथा सङ्ग्रह पढेपछि अनुभव गर्न सकिन्छ।

कलमलाई खुला छाडेर बग्न दिएको भए उनले अभिव्यक्त गर्न खोजेको भावनाको प्रस्तुति कला अझै सुन्दर हुन सक्थ्यो भन्ने मेरो व्यक्तिगत धारणा छ। कथाका रूपमा विषयवस्तुलाई प्रस्तुत गर्न खोज्दा उनले वातावरण चेतनाको लगामले कलमलाई कसिदिनाले पाठकलाई यो पुस्तक पढ्दा मनोरञ्जन भन्दा धेरै पाठ्यपुस्तक पढ्दाको अनुभव ठाउँ ठाउँमा सहनु पर्छ।

प्राकृतिक वातावरणको विषय समेट्दै नेपालको राजनैतिक वातावरणमा आएको विकृतिबाट विरक्तिएका भावनालाई विद्यार्थीहरूको भनाइ‍का रूपमा उनले 'प्रश्नको पर्खाल' नामक कथामा छचल्काएका छन्। कथाकार हितानले शिक्षालाई रोजगारीको पूर्वाधारका रूपमा मात्र प्रस्तुत गरेको देखिन्छ। शिक्षाको महत्त्व र आवश्यकता रोजगारी मात्र भन्दा पनि सुन्दर समाज विकासका हरेक पक्षमा छ भन्ने विषयमा नचाहँदा नचाहँदै पनि उनको कलम सङ्कुचित भएको हुन सक्छ। एक साहित्यकारले शिक्षालाई रोजगारीको विषयभित्र सीमित राख्दा गलत सन्देश प्रवाह हुने खतरा उनले मोलेको देखिन्छ।

एउटै विषय उठान गरेर त्यसैभित्र धेरै सन्देशहरू एकै पटक पाठकलाई पस्कन खोज्दा पाठकलाई पुस्तकमा बाँध्ने कलाको कमजोरी उनको लेखाइमा भेटिन्छ। उनले क्रमशः चलाउँदै गरेको कलममा लगाम खुकुलो पारेर अनुभव र अनुभूतिहरू आफै पात्र बनेर पस्केको खण्डमा पाठकलाई उनका अक्षरमा बढी रुची हुनसक्ने भाव भने पुस्तकमा जताजतै छचल्किएको छ। औपचारिक शिक्षाको धङधङीबाट पाखा निस्केर त्यसमा उनको अनौपचारिक अध्ययन, अनुभव र अनुभूतिहरू आगामी कृतिहरूमा रोचक बनेर उदाउनेछन् भन्ने आशा गर्दै उनको कलम झैं तिखारिँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु।

सुन्दर समाज बनाउने प्रयासमा व्यक्तिगत सुख सुविधा त्याग्दै योगदान गर्न कटिबद्ध कथाकारका पिता र घर चलाउने जिम्मेवारीले बाँधिएकी आमाको बाध्यतामा रुमल्लिएको रहर तथा सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धाभित्रको सामाजिक संरचनालाई उनले यस कृतिमा छोएका मात्र छन्। यसभित्रका मसिनो पक्षहरूलाई आगामी दिनहरूमा रोचक पाराले समाजलाई सन्देश दिँदै पस्किन सके राम्रो हुने थियो।

<