Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट
1.0

कथा

दोषी समय

गोविन्द बेल्वासे

Text Reader Controls

1.0
1.0
1.0

शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका । बाटो सुनसान । आकाश खुला छ । घाम लागेको छ । तर सुनसान भने मध्य रात जस्तो छ । छोरी ज्वाई जापानबाट आउँदा ल्याइदिएको नाडीघडीमा समय हेरे विहानको दश बज्न ७ मिनेट मात्र बाँकी रहेछ । तर बुढाले दुध किन्न पाएनन् । पसल खुलेकै रहेनछन् । यता उता हेर्दा र परै सम्म पुग्दा पनि सुनसान छ । दुध किन्न कुनै पसल पनि खुलेको फेला परेन् ।

शेखर श्रीकान्त हिजो मात्रै लण्डन आएका हुन् । नेपालमा सरकारी जागिर खाएरै छोरो पढाए लेखाए र बेलायत पठाएका थिए उनले । त्यही छोरोले हिजो बिहानै आफ्नो बुवालाई हिथ्रो एयरपोर्टबाट आफ्नै गाडीमा लण्डनको घरमा ल्याएका हुन् । शेखरलाई पनि बेलायतको रमझममा रमाउने खुब रहर थियो । त्यसैले आउँदाकै दिन छोराबुहारीसँग उनीहरुको किनमेल गर्ने दुकानहरु, ग्रोसरी पसल घुमिसकेका थिए । घर नम्बर र गल्लीको नाम कण्ठ पारेका छन् । यती भए पछि त यताउता हराए पनि छोराको घर पत्ता लाउन सकिने आँट पनि छ, उनमा ।

>हुन पनि सरकारी जागिर खाएर कस्ता कस्ता हाकिम समेत रिझाएर खली परेका बुढा ! आफनो जमानाका चल्ता पूर्जा र टाठाबाठा सुब्बा न ठहरिए । आउँदाकै दिन लामो हवाई यात्राको थकाईलाई पनि वास्ता नगरेर घुमफिरमा गएकाले पनि झन थाकेका हुनाले घाम छंदै उनलाई हाई हाई आएको देखेपछि उनलाई छोरा बुहारीले कर गरेर सुत्न पठाएका थिए ।

>शेखर जाग्दा उज्यालो भै सकेको थियो । तर घरमा अरु कोही उठेका रहेनछन् । सुनसान थियो । श्रीमती बितेको पनि पाँचबर्ष भैसक्यो । त्यसैले बिहानमा आफै चिया बनाएर खाने बानी परेको छ उनलाई । श्रीमती छँदा सम्म त उनैले वेडटी खान दिन्थिन् । विहानै चियाको तलतल लाग्ने बानी पारिदिएकी छन् । बिहानको वेडटीको समय सँगै श्रीमतीको संझना बोकेर विस्तरा छाड्ने बानी परेको छ । श्रीमतीकै सम्झना लिएर चिया पकाउने र खाने उनको दैनिकी नै बनेको छ ।

उठेर सिरक पट्याए तन्ना तानतुन पारे खुचमुचिएको सिरानीलाई सपारे । अनि बाथरुममा गएर नुहाईधुवाई गरे । तातो पानी र चिसो पानी मिलाएर मनतातो पारेको पानीले सावरको फोहरामा रमाई-रमाई नुहाए पछि उनी भान्सामा पसे । चिया पकाउने मेसो मिलाउन दुध झिक्न फ्रिज खोल्दा दुध त रहेनछ । हुन त एयरपोर्टबाट आएपछि ग्रोसरी गएर छोरा बुहारीले हिजो दुध पनि ल्याएका थिए । तर बुहारीले ससुरालाई खिर खुब मन पर्छ भनेर खिर पकाउँदा दुध सकिएको रहेछ । शंखरलाई दुध हालेकै चिया खानुपर्ने । उनलाई दुध नहालेको रातो चिया त मनै नपर्ने । फेरि, मिठो चियाका सौकिन सरकारी कर्मचारी परे उनी ।

>बाहिरबाट चराको चिरबिरको आवाज आइरहेको थियो । चियाको तलतलले अलि अत्याए जस्तो पनि भए बुढा । अनि दुध किन्न जाने विचार गरे । उनले बाटोमा चाहिएला भनेर नेपालबाटै ल्याएको दश दश पाउण्डका दुइवटा र एउटा पाँच पाउण्डको नोट उनीसँग जस्ताको तस्तै थियो । हुन पनि प्लेनमा चढेपछि खाना एयरवेजले नै दिई हाल्यो । एयरपोर्टबाट बाहिर निस्कनासाथ छोराले कारमा बसालिहाल्यो, त्यो पैसा खर्च नै भएको थिएन । अब गएर त्यही पैसाले दुध किनेर ल्याउने विचार जाग्यो उनमा । हिजो घरमा आए पछि घरमा ढोका लाउने र साँचो लिएर हिड्ने गर्न सिकाउँदै एउटा साँचो पनि दिएका छन्, छोराले । साँचो, खल्तीमा हालेर विस्तारै ढोका खोलेर बाहिर निस्केर बाहिरबाट ढोका तान्ना साथ ढोका आफै लक भै हाल्यो ।

>अघिल्ला दिन छोरासँग गएको ग्रोसरीमा पुग्दा त दुध पक्कै पाइएला र घरमा गएर चिया पकाएर खाउँला भन्ने खुव आँशा थियो । तर, त्यो पसल पनि खुलेको रहेनछ । यस्तो अवेला सम्म पनि दुध किन्न दुकान नखुल्ने बेलायती चलन देखेर वाक्क लाग्यो उनलाई । चिया खाने दुध किन्न नपाए पछि परलोक भएकी श्रीमतीको खुब याद आयो । यस्तो घाम झक्झकी लाग्दा सम्म पनि दोकान नखोल्ने र सुति राख्ने बेलायतको चलन देखेर उनलाई रिस पनि उठ्यो । दुध किन्न नपाएर वेड टी खुवाउने श्रीमतीको यादले सताउन थाल्यो । हुन पनि श्रीमती बाँच्दा सम्म बिहान सधै मिठो चिया खुवाउँथिन उनले । कहिले काही माइत गए पनि घरमा काम गर्ने केटीलाई राम्ररी अह्राई पर्राई गरेर जान्थिन । कुनै दिन पनि उनलाई चिया नखाई विस्तरा छाड्न परेको थिएन् । तर बेलायत आएको भोलि पल्टै उनको दैनिकी बिग्रियो । अंग्रेजहरुले बिहानीले दिन दर्सउँछ भन्थे, खै बेलायतको बर्साई राम्रो होला जस्तै छैन, भन्ने पनि लाग्यो उनलाई । बिहानमा चिया खाने दुध किन्न त नपाइने बेलायतमा कसरी विकास भएको होला भनेर अचम्म पनि लाग्यो उनलाई । दोप्पर हुँदासम्म र उनको घडीले दश बजाउँदा सम्म पनि सुनसान सडक र शुन्यता देखेर उनलाई अचम्म लाग्यो । उनले बिहानको टुँडिखेलको भिडभाड सम्झे । काठमाडौको मुटुमै पर्ने न्यूरोड निरै हुर्केका हुन उनी । टुँडिखेलमा बिहान कसरत गर्ने र दौड्ने अनि मन्दिर आउने र जानेको चहलपहल भुकभुकेबाटै सुरु हुन्छ तर यहाँ त यति बेर सम्म पनि मान्छे सुतेको सुतै छन् भनेर उनलाई दिक्क पनि लाग्यो । नेपाल त फूर्तिला मान्छेहरुको देश जस्तो लाग्यो । तर, आफ्नो देशको दुर्गती र आफु आइपुगेको दोप्पर सम्म सुत्ने अल्छीहरुको देशको विकास देख्दा मेहनत र इमान्दारिताबाट देश बन्ने होइन रहेछ की भन्ने शंका पनि जाग्यो उनमा ।

>त्यत्तिकैमा उताबाट एउटा मान्छे फूटपाथमा हिंड्दै गरेको देखेर अब त्यससँग दुध कहाँ किन्न पाइएला भनेर सोध्ने विचार गरे उनले । त्यो मान्छे कतिखेर आफनो नगिच आइपुग्ला र आफ्नो कुरो सोधौंला भनेर उनले बाटो कुरे । नेपालीमा सोधेर त भएन त्यसैले अंग्रेजीमा के भनेर सोध्ने भनेर उनले वाक्य गठन गर्न मनमनै सोच्न थाले । दुधलाई मिल्क, कहाँ भन्न 'हृवेर' किन्ने भन्न 'वाई' भन्ने शब्दहरुको गठन गर्न उनको विचार मन्थन गर्दा गर्दै त्यो बटुवा पनि नगिचै आइपुग्यो । उनले त्यो मान्छेको ध्यान आफू तिर ताने । उसले पनि मैले तपाईलाई के सहयोग गर्न सक्छु भन्दै अंग्रेजीमा बडो नरम पाराले सोध्यो । उसका कुरा उनले बुझदै बुझेनन् । उसले भनेका शब्दलाई उनले फोर्न सकेनन् । तर बुढाले पनि जागिरका दौरानमा अनेक चतुर्राई सिकेकै थिए । उसको अनुहार र शारीरिक भावबाट यसले पक्कै मेरो प्रस्नलाई सकारात्मक रुपमा लिन्छ भन्ने उनले बुझिहाले । त्यसपछि उनले आफूले दुध किन्न खोजेको र पसल नखुलेकोले कहाँ किन्ने भनेर सोध्न खोजे । तर अर्को मान्छेले उनका शब्दहरु बुझदै बुझेन् । हुन त शेखरले पनि अंग्रेजीमै ग्रामर मिलाएर सोधेका थिए तर उच्चारण बुझन् नसकेर ती दुवै जनाले एउटाले भनेको कुरा अर्काले बुझन सकेनन् । तर 'मिल्क' भन्ने शब्द चाँही बुझे छ क्यारे त्यो बटुवाले र अन्दाज लगाए होला ! यो मान्छे कुनै अन्य देशबाट हालसालै आएको होला र दुध किन्न खोजे होला भनेर । त्यसैले उसले अलि ढिलो ढिलो गरी बोलेर शेखरलाई दुकानहरु एकछिन पछि खुल्छन् पर्खनु कि त २४ सै घण्टा खुल्ने अफलाइसन्स त्यो गल्लीको अन्तिमबाट दायाँ मोडिए पछि भेटिन्छ त्यहाँ किन्नु भन्यो । तर, शेखरका लागि भने त्यो ब्यक्ति सारै छिटो बोले जस्तो लाग्यो र केही बुझनै सकेनन् तर पनि उनले ओके ओके भने पछि त्यो बटुवा पनि ट्रेन स्टेसन तिर लाग्यो । त्यतिनजेलमा फाट्ट फूट्ट एक दुई जना बाटामा हिड्ने मान्छे देखिन थालेका थिए । त्यत्तिकैमा परबाट अलि छिटो छिटो हिड्दै एउटा २८-२९ बर्षो लिखुरे पातलो मान्छे उनी भए तिर आयो । उनलाई यसलाई सोधुँ कि नसोधुं भन्दै अलमल हुँदै थियो । त्यही लिखुरे उनी नजिक आएर चिल्लर लेन भनेर भाग्न थाल्यो । शेखरले कुरो बुझेनन् भन्ने थाहा पाएर उसले क्वाइन माग्यो । त्यसपछि उसले विस्तारै आफूलाई फोन गर्न क्वाइन चाहिएकोले पैसा मागेको भन्ने कुरा बतायो । बेलायतमा आएका नयाँ मान्छेलाई कसरी भन्दा कुरा बुझ्छन् भन्ने उसलाई थाहा रहेछ त्यसैले शेखरले बुझ्ने गरी मुखको भाव, शरीरको सञ्चालन र शब्द उच्चारण गरेको थियो । शेखर उसका कुराबाट अलमल्लमा परे, तर यसो विचार गरे । यो झुत्रा मैला कपडा लगाएको भुत्लुङ्ग परेको यसलाई कुनै दुःख परेर जरुरी फोन गर्न परेछ क्यारे भन्ने सोँचेर आफुसंग रहेको पाँच पाउण्डको नोट उसलाई दिए । त्यो खोतले त्यो पैसा पाए पछि छिटो छिटो हिड्दै त्यो गल्लीको पल्लो टुप्पामा पुगेर दाँया मोडियो । थ्याङ्क यू, भन्ने शब्द दोहर्‍याउँदै उ गयो ।

>शेखर भने अलमल्लमा पर्दै यता उता टोल्याउन थाले यस्तो घाम टन्टलापुर हुँदा सम्म पनि दुकान नखुलेर दुध किन्न नपाएकोमा आफै अचम्ममा परे । त्यो पाँच पाउण्ड लिएर गएको गोरे केटो फेरि गल्लीको पल्लो टुप्पामा देखा पर्‍यो । अलि नगिच आउँदै गयो । उसको दाँया हातमा खोलेको वियरको क्यान थियो । अर्को हातमा प्लाष्टिकले अल्झाइएका दुईटा वियरका क्यान थिए । झन् झन् नजिक आउँदै गर्दा उनी नजिक आएपछि क्याङ्क यू, भन्दै टे्रन स्टेसनको कुना तिर लाग्यो । उसले वियर किनेर ल्याएको देखेर उनले यस्सो विचार गरे । त्यो गल्लीको अन्तिमबाट दायाँ मोडिए पछि खुलेको दुकान भेटिन्छ होला भन्ने अर्थ लगाए, र त्यतै लागे । नभन्दै त्यहाँ अफलाइसन्स पसल खुला भेटियो । एउटा दुधको ग्यालन बोकेर काउन्टरमा पुगे । पैसा बुझाए । त्यसपछि घरमा पुगेर चिया पकाएर खाँदै गर्दा छोरो पनि उठ्यो । अनि छोरालाई चिया पकाउन दुध फेला नपरेर दुध किन्न गएको कुरा सुनाए । बिहान दश एघार बजे सम्म पनि दुकान नखुल्ने र दोप्पहर सम्म घाम माथि आउनजेल सुत्ने अल्छी बेलायतीलाई गाली गरे । छोराले भने अबेलासम्म सुतेकोमा बाबु रिसाएको अनुभूति गर्‍यो । त्यस पछि शेखरले अफलाइसन्स सम्म पुगेर दुध किनेर ल्याउन आफू सफल भएको फूर्ति लगाए । तर, खातेले पाँच पाउण्ड ठगेर लगेको गुनासो भने उनले पोखेनन् । आफू ठगिएको र कसैको दुःखमा सहयोग गर्छु भन्दा रक्सीको अम्मलीलाई रक्सी खान पैसा दिएको कुरा उनले भनेनन् ।

>त्यस पछि छोरा चाँहिले बल्ल बिहानको साढे पाँच बज्दै गरेको र शेखरको घडीमा नेपालकै समय रहेको कुरा मिठो गरी शेखरलाई सम्झाए । बेलायतमा जाडो समयमा बिहान ८ बजे सम्म पनि अन्धकार रहने र ४ बजे नै रात पर्ने देखि लिएर गर्मी समयमा बिहान चारै बजे घाम लागिसक्ने समय चक्रका बारेमा छोराले शेखरलाई बेलिबिस्तार लगाए । बर्षको दुई पटक घडीको र्सुई एक-एक घण्टा घुमाएर समय मिलाउनु पर्ने बेलायती समय तालिकाका बारेमा पनि उनले प्रष्ट पारे । यो घडी घुमाउने समस्या बेलायतमा मात्र होइन युरोपका अन्य मुलुकमा पनि छ । भन्ने पनि बताए । युद्धका लागि उज्यालो र अध्यारो समय तालिका सहितका युद्ध नीति बनाउने क्रममा बर्षो दुई पटक घडी घुमाउने नियम लागु भएको पनि उनले प्रष्ट पारे । छोराले शेखरको घडीमा रहेको नेपालको समयबाट र्सुइ घुमाएर घडीको र्सुइमा बेलायती समय मिलाइ दिदाँ त भरखर साढे पाँच बजेको रहेछ । त्यसपछि शेखरले साँझे नपरे पनि अपरान्ह ६ बजे पछि बेलायतीहरुले घाम र्छर्दै गुड इभनिङ किन भनेका रहेछन भन्ने पनि बुझे । दुध बेच्ने दुकान टन्टलापुर घाम लाग्दासम्म पनि किन नखुलेका रहेछन् भन्ने पनि कुरा बुझे ।