एम्माले बिस्कुट एउटा **ट्रेमा** लिएर आइन् । **ग्रिन टीको** मगबाट सबैको कपमा मैले चिया थपिदिएँ । हामीले त्यसो गर्दै गर्दा **आन्टीले** कुरा अगाडि बढाउँदै गर्नुभयो ‘नेपालकी आमाले लिएर गएकी छोरी यिनी अस्मिता रहिछन् । र, नेदरल्यान्ड्सकी आमासँगकी त्यो बच्ची एम्मा त मेरै अगाडि हुर्के बढेकी त हुन् नि । हुन त अस्मितालाई पनि मैले धेरै पटक भेटें तर एम्मा जति नजिक रहिनन् । मेरा पतिले तिमी दुईटीको स्वभाव हावभाव सबै लिखित रूपमा विश्लेषण गरेर **रिसर्च पेपरमा** विस्तार गरेका छन् । उनले **रिसर्च पेपरको** अन्तिममा एक **डाक्टरले** आमाहरूको जानकारीबिना नै परिस्थिति सिर्जना गरेर सम्पूर्ण मानव हितको लागि गरेको अनुसन्धानको **रिपोर्ट** बाहिर प्रकाशन नगर्न **युनिभर्सिटीलाई** पनि आग्रह गर्नुभएकोले यो **रिपोर्टमा** तिमीहरूको नाम **कोड** भाषाका रूपमा र देश र ठेगाना पनि **कोड** भाषाका आधारमा गरिएको छ ।’
**आन्टीले** कुरा बिसाएको अनुभव गरेर आमाले भन्नुभयो ‘खास रहस्य त अब हामीले बुझ्यौँ । यसमा सबैको हित नै रहेकोले मलाई यो सबै जे भयो सबै स्वीकार्य छ, सायद यी दुवै छोरी र मेरा पतिलाई पनि स्वीकार नै होला भन्ने आशा छ । अब यो रहस्य तिम्रा पतिको जीवन रहँदासम्म गोप्य राख्न तिमीले गरेको प्रतिबद्धताको विषयमा तिमीलाई इच्छा लाग्छ भने बताइदेऊ । तर, यति कुरा बुझेपछि तिमीले यो कुरा गोप्य राख्न बाध्य हुन परेको परिस्थिति तिमीलाई बताउनैपर्छ भनेर मैले कर भने गर्दिनँ ।’
**आन्टीले** कुरालाई अगाडि बढाउन थालिन्, हुन पनि उनलाई हामी दुई बहिनी किन छुट्टिन पुग्यौँ ? कसले छुट्यायो ? भन्ने विषय जानकारी गराउनुभन्दा पनि यो छुट्याउनुको उद्देश्य सम्पूर्ण मानव हितका लागि अनुसन्धान कार्य अगाडि बढाउने उद्देश्यले छुट्याइएको थियो भन्ने बताउन हतार थियो । यो बताउँदा उनको मन पनि भारी बिसाए जसरी हल्का भएको अनुभव भइरहेको थियो । त्यो उनको **बडी ल्याङ्ग्वेज**, आवाजको उतारचढाव र आँखाले झल्काइरहेका थिए । मलाई लाग्यो मलाई मात्र होइन हामी सबैले त्यो अनुभव गरिरहेका थियौँ । उनलाई यो रहस्य पति जीवित हुँदासम्म आफूले गोप्य राख्न गरेको वाचाको विषयमा जानकारी गराउन पनि उनको मन उत्ताउलो भइरहेको थियो ।
‘**फकल्यान्ड टापुको** विषयमा अर्जेन्टिना र बेलायतको झगडा वार्ताबाट समाधान भएन । दुई देशबीच लडाइँ चलिरहेको थियो । त्यही लडाइँको समयमा बेलायतले **फकल्यान्डमा** लड्न गोर्खा सेना पठाउन लागेको भनेर निकै प्रचार गऱ्यो । त्यो समयमा **मिडियामा** गोर्खा सेनाको विषयमा निकै चर्चा चलाइयो । संसारभरि नै **बीबीसी** भरपर्दो **मिडियाका** रूपमा स्थापित भएको फाइदा उठाउँदै गोर्खा सेनाको बहादुरी र मर्न नडराउने, लडाइँमा दुस्मनको मासु नै पनि खान परे त्यसो गर्न पनि पछि नपर्ने क्रूरताको प्रतीकको रूपमा **मिडियामा** खुब प्रचार गरेको देख्ने र सुन्ने गरेपछि मेरा पति र मेरो बीचमा मान्छे जन्मँदा नै स्वभाव लिएर जन्मन्छ कि समाज संस्कृति र संस्कारले मान्छेको स्वभाव निर्धारण गर्छ ? भन्ने छलफल हुन थाल्यो । हामीले त्यस विषयमा दिनदिनै जस्तो करिब एक महिना जति निकै छलफल गऱ्यौँ । **युनिभर्सिटीका प्रोफेसरहरूलाई** खाना खान निम्ता गरेर विविध विषयका विज्ञहरूसँग हामीले निकै चर्चा पनि गऱ्यौँ । मेरा पतिलाई त्यस सम्बन्धमा जानकारी बटुल्न र अनुसन्धान गरेर पुष्टि गर्ने नशा नै चढ्यो । उनको सङ्गतले गर्दा पनि होला म पनि उनको त्यो जिज्ञासा पुरा गर्नमा मैले जति सहयोग गर्न परे पनि तयार हुन्छु जस्तो लाग्न थालेको थियो ।
त्यसबेलाको हाम्रो त्यो छलफल चल्ने ताका नै तिमीहरू गर्भवती भएका थियौ । मेरा पति नै तिमी दुवै आमाका **डाक्टर** भएकाले तिमीहरूको अवस्थालाई उपयोग गर्न सकिने भावना उनमा जागिसकेको थियो । तर, तिम्रो बच्चा जिउँदो जन्माउन भरमग्दुर प्रयास गर्नमा कुनै कसर बाँकी नराख्ने कुरामा उनी ढुक्क थिए । तर, **मेडिकल साइन्सको** उन्नति त्यो अवस्थाको भ्रूणलाई जिउँदो राख्न सकिने अवस्थामा उनलाई विश्वास नभएकोले अनुसन्धानलाई नयाँ प्रयोगको अवसर मिलाउने अवसर समाउन उनी अग्रसर भइसके पनि त्यो अवस्थालाई गोप्य राख्नुपर्ने विषयमा **डाक्टरहरूको** नैतिक जिम्मेवारी उल्लङ्घन भएको आरोपबाट उनलाई बच्नु पनि परेको थियो । उनी **डाक्टर** र म **नर्स** भएको परिवेशले पनि उनको त्यो विचारले सहायता पाइरहेको थियो । तर, उनको मनमा उक्त घटनाक्रमलाई कसरी गोप्य राख्ने भन्ने चाँजो मिलाउन भने समस्या भइरहेको अवस्था थियो । त्यसै बीचमा उनले मलाई वाचामा छिराउने निधो गरेछन् ।
हुन त उनले साधारण वचनमा मलाई बाँधेको भए पनि सायद उनले भने जसरी मैले घटनाक्रमलाई गोप्य राख्थेँ होला नै तर उनी अझ बढी सुरक्षित हुन चाहन्थे । फेरि हामीभन्दा अघिल्लो पुस्तामा भन्दा हाम्रो समयसम्मको समाजमा लोग्ने स्वास्नीका बीचमा झगडा गर्ने र **डिभोर्स** गर्ने प्रचलन बढिरहेको थियो । हाम्रै कतिपय साथीहरूले पनि **डिभोर्स** गरेका थिए । त्यसैले पनि उनले कथम्कदाचित उनको र मेरो बीचमा झैँ–झगडा भएको खण्डमा, अझै झगडा बढ्दै गएर **डिभोर्सकै** स्थिति कथम्कदाचित भइहाले पनि यो रहस्य अरूले थाहा नपाऊन् भनेर उनी अझै कडा प्रतिबद्धतामा मलाई बाँध्न चाहन्थे । उनी एकदमै इमानदार थिए त्यसैले हाम्रो त्यस्तो झगडाको स्थिति हुनेवाला त थिएन, आखिर भएन नै । अब त उनी नै यो दुनियाँमा नरहेपछि त्यो सम्भावना पनि रहेन । तै पनि उनी सुरक्षित हुन स्वभाव अनुसारको पूरै पाको काम गर्न चाहन्थे । उनको बानी बरु ढिलो नै किन नहोस् गर्न थालेको काम दोहोऱ्याइ तेहऱ्याइ परीक्षण गरेर पाको काम गर्ने बानी थियो । कहिलेकाहीँ त उनले गरेको काम ढिलो हुँदा मलाई रिस पनि उठेर आउँथ्यो । कराउँथेँ पनि । तर, म जति कराए पनि हतारिएर कुनै काम गर्दैनथे उनी । बरु धेरै पटक त पाको काम गर्छुभन्दा काम सक्नुपर्ने **डेडलाइन** नै नाघ्न पुग्दथ्यो । तै पनि उनले हतारिएर कामलाई कच्चा हुन भने कहिल्यै पनि दिएनन् ।
त्यही पाको काम गर्ने बानीका कारण उनले मलाई अचम्मको परिस्थिति पारेर रहस्य नखोल्ने वाचामा बाँधे । उनले अनुसन्धान गर्न दुई अलग समुदायका बच्चा साटेर परीक्षण गरेको खण्डमा **जिनले** मानिसको आनिबानी निर्धारण गर्छ कि हुर्किएको समाज, संस्कृति र संस्कारले निर्धारण गर्छ भन्ने पक्कापक्की हुन्छ त्यसैले दुई बच्चाको आमाबुवा साट्ने विषयमा त जानकारी दिएका थिए तर तिमीहरूकै बच्चाको विषयमा परीक्षण हुने भनेर भनेका थिएनन् । मलाई अहिले पनि त्यो रात खुब याद छ ।
मैले उनीसँग यो रहस्य कसैलाई पनि नबताउने वचन दिएकी थिएँ र आजसम्म कायम रहेँ । अब उनी छैनन् । त्यसैले मैले तिमीहरूलाई यो कुरा बताएर वाचा तोडेकी छैन । म खुसी छु ।’
© www.amaaba.org