Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग १२ः वापसी

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १२

30 Nov, -0001

१२ वापसी

हामी घरमा पुग्दा हाम्रो चहलपहल थाहा पाएर बाहिरको बत्ती बल्यो । एयरपोर्टमा **प्लेन ल्यान्ड** गर्दा नै रात परिसकेको थियो । घर पुग्दा त रात छिप्पिनै सकेको थियो । **इन्फ्रारेड** प्रविधिले गर्दा मान्छे आएको थाहा पाउँदा **आफैँ** बत्ती बल्ने भएकोले अरू बेला बत्तीको **बिल** पनि नबढ्ने र घर आइपुगेर ढोका खोल्न खोज्दा अँध्यारो पनि नहुने प्रविधिले सहज गराएको छ । अहिलेको प्रविधिको युगमा मान्छेका दैनिकी धेरै सजिला भएका छन् । बुवाले **आफूहरू** सानो छँदा गाउँमा सल्लाको राँको बालेर रातिमा यात्रा गरेको र देउसी भैलो गाउन हिँडेको सुनाउनुहुन्थ्यो ।

सल्लाको खोटो वन मन्त्रालयको इजाजत लिएर निकासी गरिने तथा विदेशी मुद्रा आर्जन हुने एउटा नेपाली उत्पादन हो । त्यही खोटो मिसिएको सल्लाका दाउराबाट ऊर्जा प्राप्त गर्ने नेपाली परम्परा निकै प्राचीन मानिन्छ । सल्लाको दियालो तथा चोप उज्यालोको लागि बाल्ने र पानीको **सिपेज** रोक्नका लागि प्रयोग हुँदै आएको वस्तु हो । त्यो चोप **भार्निस**, **पेन्ट** र कागज बनाउनमा पनि प्रयोग हुने हुनाले विदेशी बजारमा ठूलो माग रहेको छ । वन विभागको इजाजत नलिइ निकासी गर्न पाइँदैन । बिना इजाजत निकासी गरेमा कडा सजायको व्यवस्था पनि छ ।

परम्परागत रूपमा पहाडतिर रातिमा उज्यालो पार्ने साधनका रूपमा सल्लाको दियालो प्रयोग हुँदै आएको हो । सल्लो नपाइने तराईमा घिउ, आलस, सूर्यमुखी फूल तथा तोरीको तेल बालेर उज्यालो पारिन्थ्यो भन्ने तथ्य मगध साम्राज्यका ग्रन्थहरूबाट पनि पुष्टि हुन्छ । पछि पेट्रोलियम पदार्थको पहुँच भएपछि त्यो प्रचलन हराएको हो । तर, घिउ तथा तेलका दीयो धार्मिक कार्यमा अहिले पनि बाल्ने चलन छँदैछ । परम्परा धान्ने भावनाले त्यो प्रचलन जोगिएको रूपमा सहजै अनुमान गर्न सकिन्छ । चाणक्यले सरकारी कामका लागि सरकारी तेलबाट बल्ने दीयो बाल्थे भनिन्छ । सरकारी काम सकेपछि घरायसी कामका लागि अर्को दीयो सल्काएर सरकारी तेलको दीयो उनले निभाउँथे भन्ने कथन दक्षिण एसियाको सुशासनको उदाहरणीय कथन रहँदै आएको छ ।

यो युगमा एकातर्फ हरित ग्यास तथा पृथ्वीको तापक्रम नियन्त्रणको विषय छ, अर्को तर्फ ऊर्जा स्रोतको सन्दर्भ । पहिलेपहिले नेपालको पहाडी भेगमा पकाउने दाउरा मात्र होइन उज्यालोको स्रोत पनि सल्लाको गुदीका मसिना पारेका चिरा उपयोग गरिन्थ्यो । बुवाले ‘ती दीयालो बालेर अँध्यारो हटाउने प्रचलनको साक्षी पनि हुँ’ भन्नुहुन्थ्यो । त्यो प्रविधिले लामो युगसम्म मानव जीवनलाई सहज पारेको थियो ।

हिउँदमा खेतीका अन्य कार्य सकेपछि गाउँलेहरू दाउरा जोहो गर्न बन्चरो काँधमा बोक्दै, खुर्पेटोबाट खुर्पाको ख्याटख्याट स्वर निकाल्दै जङ्गलतिर जान्थे । शान्त गाउँले वातावरणमा टाढा जङ्गलबाट बन्चरोको मार खेप्दै गरेका रूख एवं बुटाबाट फैलिएको आवाज सुनिन्थ्यो । त्यो स्वर सुनिएको केही समय पछि रूख चर्मराउँदै ढलेको आवाज विरलै सुनिन्थ्यो । त्यसपछि फेरि त्यो ढलेका रूखलाई गेँड्दै टुक्रा पार्ने बन्चरोको मार गुञ्जायमान हुन्थ्यो । मानौँ रूखले दुख्यो, अइया, आच्य पो भन्यो भनेझै गरी ध्वनि फैलन्थ्यो । गाउँलेहरू बर्खाको झरीमा पनि चुलो र अगेनो तताउने दाउराको जोहो गर्न मुढा चिर्थे र डोकामा हालेर कट्कुरो (दाउरा राख्ने छाप्रोलाई अर्घाखाँचीमा प्रचलित शब्द)मा थुपार्थे । सधैँ सुकेका र मरेका रूखले नपुग्ने हुनाले हरिया रूख पनि ढालिन्थे । सल्लाघारीको स्वर...को धुन अनौठो गरी शोस्याउँछ । सल्लाका रिठाहरू गुल्टिँदै जहाँसम्म पुग्न सके त्यहाँसम्म पुगेर विश्राम गरिरहेका भेटिन्छन् । चैतको डढेलोमा सल्कन पाउँदा पण्डितजीले हवनखाडीमा चुहाउने घिउ बले झैँ ती रिठा दन्किन्छन् । नजिकका पोथ्रा पनि पोल्छ र **आफू** पनि खरानी बनेर उड्छ ।

बुवाले **आफू** त्यो दीयालो बालेर उज्यालो पार्ने र जन्ती जाँदा बाटो छिचोल्ने राँको बाल्ने चलनको देखिजान्ने साक्षी भएको बताउनु हुन्थ्यो । त्यसबेला वार्सा सन्धि सङ्गठन र नेटो सङ्गठनको शीतयुद्धको समय थियो भन्नु हुन्थ्यो । नेटो अझै पनि प्रभुत्वशाली रहेको छ र अमेरिकी नेतृत्वको विश्व शक्ति सङ्गठन हो भन्दा अतियुक्ति हुँदैन पनि । सोभियतसंघको नेतृत्वमा वार्सा सैन्यशक्ति सङ्गठन पनि प्रभुत्वशाली थियो भन्ने विषय सिकाउनु भएको थियो । उक्त वार्सा शक्तिसङ्गठन सन् १९९०मा सोभियतसंघको विघटनसँगै शक्तिहीन भयो । नेटो र वार्सा दुवै सङ्गठन शक्तिशाली हुँदा कुन दिन आणविक युद्ध भैहाल्यो भने मानव समाज ध्वस्त हुन्छ भन्ने त्रासको त्यो समयलाई शीतयुद्धका नामले चिनिने विषय पनि बताउनु भएको थियो ।

तिनताक गाउँघरमा अहिलेको जस्तो मोटर गुड्ने बाटो बनेको थिएन भन्नु हुन्थ्यो । दिउँसोमा कृषिका कामधन्दा गर्नु पर्ने समय बचत गर्न पर्ने हुनाले प्रायः रातिको समयमा जन्ती जाने चलन थियो रे । औँसीका चुक घोप्टाएको जस्तो अँध्यारोमा बाटो देखिने उज्यालो बनाउन सल्लाको त्यो दियालो नै असली ऊर्जा बन्थ्यो । साहुहरू तथा एक मानो खान पुग्नेका घरमा भने मट्टितेलबाट बालिने लालटिन, **ल्याम्प**, टुकी ढेबरी बाल्ने गरिन्थ्यो । त्यस्ता धनी परिवारका विवाह समारोहमा भने **मेन्टोल**–**पेट्रोम्याक्स** बल्थे । **मेन्टोलको** रेशमी धागोको त्यो जाली बलेपछि बिजुलीको गोलो बल्ब आकार बनाएर अडिएको खरानी हुन्छ । छोए फुट्छ । बेलाबखत किरा ठोक्किएर प्वाल पारिदिन्छ । वर्षमा एकदुई पटक अक्कल झुक्कल बल्न पाउने ती **पेट्रोमेक्सहरू** विरलै गाउँमा मात्र हुन्थे । ती पुराना कुरा बुवाले सुनाएर नै जानेकी हुँ ।

बुवा धेरै सानो छँदासम्म रातिमा बाटो छिचोल्न बालिएका दियालोको प्रयोगमात्र देख्नु भएको थियो रे । अलि जान्ने हुन थालेपछि तराईमा बस्न थालेकोले सानो छँदा खासै धेरै प्रयोग भोग्नु पनि भएन । तर, दियालोको प्रयोगमा अभ्यस्त उहाँ भन्दा जेठा आफन्तहरूका कुराकानीबाट त्यसको प्रचलन मट्टितेलबाट घटेको पनि धेरै वर्ष भएको थिएन भन्ने अनुभूति सुनाउनु हुन्थ्यो । हुन पनि बेलायतले भारतमा उपनिवेशका रूपमा शासन गर्दा फलाम बिछ्याएर रेल गुडाउन थालेपछि बल्ल टिनका टिन मट्टितेल बोकेर पहाड लग्न थालिएको हो । त्यसअघिका हजारौँ वर्षसम्म हाम्रा पुरखाले त्यही सल्लाको दियालोका सहाराले धेरै अँध्यारोमा पनि देखिने गरी उज्यालो पारेका थिए । तराईमा सल्लो हुँदैन । पहाडका अग्ला सल्लाका रूख हिउँदमा काटेर कट्कुरोका एउटा कुनामा मसिना चिरा पारेर राखिएका हुन्थे । हाम्रोतिर दाउरा थन्काउने ओत तथा छाप्रोलाई कट्कुरो भन्ने चलन छ । ठाउँ अनुसार शब्द फरक पनि हुन सक्छ । सल्लाको काठ ह्वारह्वारती छिटोछिटो बल्ने हुनाले खाना पकाउँदा प्रयोग गर्न उपयोगी हुँदैन । गीठाका दाउरा अडिलो भएर बल्ने हुनाले भान्सेका प्यारा दाउरा गीठा वा अन्य दाउरा हुन्थे । झट्टपट्ट आगो सल्काउन वा भल्काउन परेमात्र सल्लाको दाउरो उपयोग हुन्थ्यो । खयरको दाउरा पनि चड्केर फिलिङ्गा उड्ने हुनाले राम्रो दाउरा मानिँदैन । अब त दाउराले खाना पकाउने चलन नै भेट्न मुस्किल भैसकेको छ । यस्तोमा दियालोको उज्यालो पारेर गर्जो टार्ने अवस्था हराएकै अनुमान गर्छु ।

बुवाले ९ कक्षामा पढ्दा दिवालीको पूजा गर्न भनेर पाठो लिएर भान्जे हजुरबुवासँग पहाडतिर जानु भएछ । घरबाट अलि अबेला निस्किएपछि उकालो चढ्न थाल्नु भएछ । उकालो जङ्गल चढेर छाप नामको गाउँमा पुग्दा झमक्कै रात परेछ । त्यसैले एउटा घरमा बास माग्न पुग्नु भएछ । साँझमा बास माग्नेलाई बास दिने र खान सुत्न दिने गाउँको चलन थियो । त्यसैले उहाँहरूलाई सहजै बास मिल्यो । त्यो घरमा मट्टितेलबाट बल्ने लालटिन टुकी केही रहेन छ । उहाँले जीवनमा पहिलो पटक दीयालो बालेर घरभित्र उज्यालो पार्ने चलनको साक्षी बस्ने मौका पाउनु भएको रहेछ । त्यो छाप नामको गाउँ हाम्रो तराईको गाउँबाट देखिने सबैभन्दा अग्लो चुचुरोमा बसेको गाउँ हो । हाम्रा पुरखाले धेरै दुःख गरेर समाज अगाडि बढाउनु भएको उदाहरण पनि हो ।

तराईमा भने उस समयमा पनि मट्टितेलको प्रयोग प्रसस्तै हुन्थ्यो । ढुवानी गर्न पहाडमा भन्दा सहज भएकै हुनाले होला । गाउँमा **पेट्रोमेक्स** बालेर नौटङ्की (नाटक) खेलिन्थ्यो । हार्मोनियम ढोल मजुरा बजाएर ती कलाकारले देखाएका लैला मजनु, मानसिंह डाकु, इत्यादि नाटकहरू हेरेको सम्झना ताजै छ । हिन्दी भाषाका ती पटकथाहरू पर्दाका पछाडिबाट पढेर सुनाइन्थ्यो । कलाकार त्यो सुन्न अलि पछाडि पर्दा नजिक जान्थे र अगाडि बढेर चर्को स्वरमा **लाउडस्पिकरमा डायलग** बोल्थे । लैला मजनु वियोगान्त प्रेम कथा हो । तत्कालीन समाजमा व्याप्त डाँकुहरूको कथाहो एक्सन कथावस्तु हुन्थे डाकु मानसिंह, डाकु सुल्तान । डाँकु पनि गाउँले केटीका मायाजालमा परेर हिंसा त्याग्ने कथा वस्तु पनि सम्झन्छु तर उक्त नाटकको नाम के थियो अहिले सम्झन सकिरहेकी छैन ।

छाप गाउँको त्यो घरमा दीयालो धेरै बालिने भएर भित्ताहरू पनि धुवाँले अलि बढिनै कालो भएका रहेछन् । बुवाहरू पाहुना बनेर बास बस्न पुगेका त्यो घरभेटीले उहाँहरूलाई मकै भुटेर खान दिएका रहेछन् ।

सायद त्यसबेलाको दीयालोको प्रचलनले जुरेको नाम हुनुपर्छ चितवनमा नेपालका राजाको कहिलेकाहीँ बस्न जाने ‘दीयालो बङ्गला’ बनाइएको थियो । सायद त्यो अझै पनि संरक्षित पनि होला । राजा महेन्द्रले बनाउन लगाएको त्यो घरमा चितवन सिकार खेल्न जाँदा राजाहरू बस्ने चलन राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसम्म पनि चलेको गाइँगुइँ पनि सुनिन्छ । राजा महेन्द्रको मृत्यु २०२८ माघ १७ बिहान ३ः४५ मा चितवनको त्यही दियालो बङ्गला दरबारमा भएको थियो ।

ढोका खोल्दा जुत्ता राख्ने **र्याकको** माथि थुप्रै चिठी थुप्रिएका रहेछन् । नेपाल जान लाग्दा हत्त न पत्त छिमेकीलाई फूलका गमलामा पानी हालिदिन र रेखदेख गर्न भनेर घरको साँचो छाडेर गएकी थिएँ । हुलाकीले ढोकाभित्र छिराइदिएका चिठी उनै छिमेकीले उठाएर त्यहाँ राखिदिएका होलान् भन्ने सहजै अनुमान लगायौँ । हाम्रो नजिकको पहिलो छिमेकी भारत केरलाका हुन् । भारतका भए पनि उनीहरू क्रिश्चियन धर्म मान्छन् । क्रिश्चियनहरूमा छिमेकीसँग मिठो बोल्नुपर्छ, खाना र मिठाई बाँडीचुँडी गरेर खानुपर्छ भन्ने मान्यता हुँदोरहेछ । त्यो धार्मिक प्रभाव उनीहरूमा देखिन्छ । निकै सहयोगी छन् । हुन त हाम्रो हिन्दू धर्ममा पनि अतिथिलाई सत्कार गर्नुपर्ने कुराहरू सिकाइन्छ तर छिमेकीको बारेमा त्यति सिकाएको पाइँदैन । सायद पहिलापहिला खेती गरेर गाउँमा बस्ने हाम्रा हजुरबुवाका पालासम्म पनि गाउँमा धेरैजसो दाजुभाइ हुने हुनाले छिमेकी विषयको बढी नियमहरू हामीलाई नसिकाएर दाजुभाइका ममता र मर्दापर्दाका नियमहरूले नै काम गर्ने भएर पनि हुन सक्छ ।

यी छिमेकी महिलाले मैले काम गर्ने अस्पतालमै **केयररको** काम गर्छिन्, लोग्ने चाँहि एउटा **ग्रोसरीमा** काम गर्छन् । कहिलेकाहीँ किनमेल गर्न गएको समयमा उनले पसलमा काम गर्दै गरेको पनि भेटिन्छ । उनीहरूको एउटा छोरा छ । छोरा चाँहि हुनुपर्ने भन्दा अलि बढी नै मोटो छ । **आर्टको** सौखिन छन् । कोठामा बसेर **आर्ट** गरिरहने । स्कूलमा पनि उसले **आर्टमा** पुरस्कार पनि पाउने र **टिचरहरूले आर्टसमा** उनलाई प्रोत्साहन दिन्छन् भनेर उनकी आमाले सुनाउने गर्छिन् । यो वर्ष भने अलि **गार्डेनको** काममा पनि देखिन थालेका छन् । सायद कोठामा बसिराखेर मोटो भएको भन्ने लागेर जिउ अलि घट्छ कि भनेर पनि हो कि घर पछाडिको बारीमा यो वर्ष अलि नै मिहिनेत नै गरेका छन् ।

एक दिन उनकी आमाले भन्दै थिइन् ‘उता छिमेकीको घर पछाडिको **गार्डेन** कति चिटिक्क पारेका हुन्छन् ! हामीले पनि अब **गार्डेन** चिटिक्क पार्नुपर्छ मैले पनि सघाउँछु भनेको छ, छोराले ।’ नभन्दै यो वर्ष उनीहरूको **गार्डेन** त हाम्रोभन्दा पनि राम्रो भएको छ । हुन त त्यस्तो राम्रो त हाम्रो पनि होइन । तर, **वीकेन्ड** शनिबार आइतबार दिनेशलाई पनि **गार्डेनमा** काम गर्न मन पर्छ । अनि घाँस काट्ने मिलाउने गर्दा र साँझमा एकछिन कुटो कोदालो गर्दा पछाडिको बारी त्यति नराम्रो त हुँदैन नै । जाडो महिनाभरि जाडोले गर्दा बारीमा निस्कन पनि सकिँदैन । चिसोले गर्दा भएका बिरुवा फूल पनि मरिहाल्छन् । गर्मी महिनाभरि त हो नि **गार्डेन** पनि अलि हराभरा हुने ।