Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग १०ः बिछोड

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १०

30 Nov, -0001

१० बिछोड

१३ दिनकै दिन साँझ पिताम्बर काका काठमाडौँ गइसक्नु भएको हुनाले हामीसँग गाडी पनि भएन । हुन पनि उहाँले **आफ्ना** सबै काम छाडेर हामीलाई सबै सहयोग गर्नुभयो । यसरी **आफ्नो** सबै गुमाएर हामीलाई सहयोग गर्नुको पछाडि हामीप्रतिको उहाँको मायाभन्दा पनि बुवाप्रति उहाँले दिनुभएको सहानुभूति थियो । बुवाले काकालाई गरेको सहयोगको प्रतिफल हामीले पायौँ । सामाजिक मान्यताका ममताहरू यसरी नै अगाडि बढ्छन् होला । त्यसैले त अब काकाका कुनै सन्तानलाई वा काकालाई नै भनौँ कुनै सहयोग गर्न हाम्रो मन आतुर हुनेछ । यस्तै, परिस्थितिबाट ममता बढ्छ । सामाजिक मान्यताहरू सौहार्द्र हुन्छन् । यस्ता सौहार्द्रताहरू विस्तार हुँदै गएको खण्डमा धार्मिक मान्यताबाट विकास भएका पाप गर्न नहुने अरूको सहयोग गर्दा धर्म कमाइने मान्यताहरू बिलाउँदै गए पनि समाज अझै सभ्य हुँदै जान्छ होला । यस्ता योगदानहरू, उपकारहरूबाट विकास हुने सम्बन्ध कायम नहुने र एकआपसमा वैमनस्यता बढ्दै जाने हो भने समाज असन्तुलित र विकृत हुँदै जाने सम्भावना रहन्छ ।

**फ्लाइट** समाउने गरी एयरपोर्ट पुग्न अर्जुन दाइले बोलाइदिएको ट्याक्सी चढेर छोरी, दिनेश र म एयरपोर्ट हिँड्यौँ । अर्जुन दाइले भाडामा लागेका घरका कोठाका विषयमा हिसाब किताबको कुरा उठाउँदा मैले भनेँ, ‘अहिले त्योसम्बन्धी कुरा गर्ने **मुड** छैन, हजुरले उचित सम्झेको गर्दै गर्नुस्, म पछि मन अलि शान्त भएपछि उतैबाट फोनमा कुरा गरौँला र सल्लाह गरौँला । ६ महिनाको समय पारेर फेरि आएर अरू विषय पनि मिलाउनुपर्ला, मालपोत कार्यालयमा गएर जग्गाधनी पुर्जाहरू बनाउन पनि बाँकी नै छ ।’ त्यति भनेर बिदावारी भएर हामी हिँड्यौँ ।

घरबाट हिँड्दा मन यति खिन्न कहिल्यै भएको थिएन । यो घरमा बुवाआमा हुनुहुन्छ भन्ने ढाडसले एउटा आँट र सान्त्वना दिइरहन्थ्यो । अब त्यो आँट हराएछ, त्यो ढाडस बिलाएछ त्यसैले ड्राइभरले गियरमा हालेर गाडी गुडाउँदासाथ आँखाबाट भल्भल्ती आँसु बग्न थाले । यसो घरतिर हेरेँ भक्कानो फुट्यो । दिनेश अगाडिपट्टिको सिटमा बसेका थिए । उनी पनि निःशब्द थिए । मेरो भक्कानो फुटेको आवाजले पछाडि फर्किए, केही बोलेनन् । छोरीले मेरो दायाँ हात **आफ्ना** दुवै हातले समाएर सहलाउँदै गर्दा छोरीका हातका स्पर्शले सान्त्वना दिलायो ।

धुलोको गन्ध हामीलाई मात्र होइन छोरीलाई पनि बानी परिसकेछ र त होला खासै धुलोको गुनासो उनले पनि गर्न छाडिसकिछन् । घ्यार–घ्यार घुरघुर टाँ–टाँ–टुँ टुँको आवाजका बीचमा कति ट्रक र बसलाई उछिन्दै ट्याक्सीले हामीलाई समयमै एयरपोर्ट पुऱ्यायो । तुवाँलोले ढाकेको वातावरणका कारण एक घण्टा जति ढिलो भए पनि **प्लेन** आइपुग्यो । काठमाडौंबाट आएको त्यही **प्लेन** फर्किएर जाँदो रहेछ । उताबाट आएको **प्लेनबाट** झर्ने यात्रुहरू धेरैजसो भारतीय मूलका जस्ता देखिने र यता उताको गाइँगुइँबाट राजस्थानतिरका भारतीय **टुरिस्ट** भएको अनुमान गरेँ । लोग्ने मान्छेको लाइनमा बसेका दिनेशभन्दा छोटो रहेको महिला लाइनमा छोरी र म छिरेर सुरक्षा जाँच पास भएपछि विश्रामस्थलमा बसिरहँदा एकैछिनमा दिनेश पनि आएर छोरीका छेउको खाली कुर्सीमा बसे । ठूला सिसाहरू जडान गरिएको त्यो प्रतीक्षा कोठाबाट बाहिर छर्लङ्ग देखिइरहेको थियो । तुवाँलो पूरै खुलेको थिएन तर घामलाई पूरै छेक्न पनि सकिरहेको थिएन । विस्तारै तुवाँलोको बल घट्दै गएको र सूर्यको किरणले उज्यालो बढाइरहेको थियो । **पिच** गरिएको धावनमार्गबाहेक अरू ठाउँको घाँस अग्लो भइसकेको रहेछ । गोलो आकारको रिङमा झुण्डाइएको रंगीन कपडा पनि फहराइरहेको छ । सायद हावा कताबाट कता बग्छ भन्ने देखाउने पुरानो प्रविधि अहिलेसम्म पनि चलिरहेको होला । सुरक्षा जाँच पास भएर **प्लेन** चढ्न आएका यात्रुहरू थपिँदै गर्दा प्रतीक्षा कोठा झण्डै आधाभन्दा बढी भरिइसकेको थियो ।

केही क्षणको त्यो पर्खाइ थियो । **प्लेनका** कर्मचारीहरूले लाइन लागेर **बोर्डिङ पास** देखाउँदै **प्लेनमा** जान बोलाए । लाइनमा हामी पनि बस्न पुगेपछि धेरै पट्यार नलगाईकनै समाधान भयो । बलिया **स्टीलका** पाताले बनेको जस्तो देखिने **प्लेनमा** सिँढी चढेर पस्यौँ । **प्लेन** करिब ३० जना जति अटाउने सानै रहेछ । आखिर आधा घण्टादेखि पौने एक घण्टा जतिमा काठमाडौं पुगिहालिन्छ जस्तो भइ नै रह्यो । **प्लेनमा** चढ्दा नेपालका **प्लेनलाई** **युरोपियन युनियनले** प्रतिबन्ध लगाएको प्रसंग सम्झिँदै हवाई सुरक्षा विषयमा अलि चिन्ता चसक्क भए पनि त्यसबाट अत्ताल्लिएर अरू उपाय अपनाउने **च्वाइस** (**मौका**) पनि थिएन । खुरुखुरु **बोर्डिङ पासमा** लेखेको सिट नम्बर खोज्दै गएर छोरी र म बायाँतिरको दुई सिटमा बस्यौँ र अघि पछि गर्न मान्छे हिँड्ने गल्ली जस्तो ठाउँ छाडिएको क्षेत्रपारिको **आइजल** सिटमा अर्कोपट्टि दिनेश बसे । एकैछिनमा **प्लेन** उडेको आवाजले कान अलि असजिलो पनि भयो । एकैछिनपछि भने त्यो आवाज कम भएको हो कि कानलाई बानी परेर हो कुन्नी त्यो आवाज अलि सहज जस्तो भयो । छेउमा बसेकी छोरीले **प्लेनको** गोलो सिसाबाट तल हेर्दै थिइन्, घरि बादल र तुवाँलोले पटक्कै केही नदेखिने गरी छेकिरहेको र कतिबेला अलि प्रस्ट देखिने लुकामारीमा पहिला तराईका फाँट अलिबेर हेर्दै गरिन् । अलिबेरपछि पहाड सुरु भयो र ती हरिया डाँडा, नदी र खोल्साको दृश्यले उनको मन अलि रमाएछ क्यारे अलि हसिँलो पनि देखिन थाल्यो ।

काठमाडौं पुग्न थालेको अनुभूति त पहाडका आकारहरू र फाँट र घरहरूको आकारले सूचना दिइहाल्यो छोरीले तल हेरिरहेको झ्यालबाट पूरै नभए पनि अलिअलि त मैले पनि देखिरहेकै थिएँ । **पाइलट क्याप्टेनले** हामीलाई व्यस्त हवाई **ट्राफिकका** कारण १५ मिनेट जति ढिलो अवतरण हुने जानकारी गराएअनुसारै थोरै ढिलो गरी हामी काठमाडौं अवतरण गरे पनि हाम्रो विराटनगर जाने **प्लेनको** लागि धेरै ढिलो भइसकेको थिएन ।

हाम्रा ठूला **सुट्केस** जति पछि गाह्रो हुन्छ भनेर पिताम्बर काकाकै गाडीमै पठाइसकेकोले हामीसँग हाते झोला मात्र भएकोले **लगेज** पर्खने झन्झट गर्न परेन । हामी, **प्लेनबाट** झरेर अरू यात्रीसँगै बाहिर निस्किएपछि फेरि विराटनगर जाने **प्लेनको बोर्डिङपास** लिन लाइनमा बस्यौँ ।

**बोर्डिङपास** लिइसकेपछि दिनेशले चिया खान मन लागेको बताए । प्रतीक्षा कोठामा छिर्नुभन्दा पहिला नै एउटा सानो **क्याफेमा** पसेर दिनेशले चिया, मैले कफी लियौँ, अनि छोरीले एक बोतल पानी लिइन् । मलाई त्यहीँ बसेर कफी खानभन्दा त्यो लिएर गएर प्रतीक्षा कोठामा गएर खान मन थियो । तर, दिनेशले चिया कफी लिएर जाँदा सुरक्षा जाँचमा असजिलो हुने बताएपछि त्यहीँ बसेर खान थाल्यौँ । बाहिरपट्टिको वातावरणभन्दा सुरक्षा जाँचभित्र छिरेपछिको प्रतीक्षा कोठामा अलि सफा हुने हुनाले उतै गएर कफी खाने इच्छा थियो ।

आखिर विराटनगर जाँदा पनि **प्लेनको** सफर उही भैरहवाबाट काठमाडौं पुगे जस्तै नै रह्यो । हामी रातभरि विराटनगर घरमा बस्यौँ । उही सान्त्वनाका शब्द र परम्परागत ढोगभेट र सादा खाना र बुहारीले भान्सा पसेर निभाउनुपर्ने कर्तव्यहरू मेरा लागि असहज थिएनन् । जुन वातावरणमा हुर्किएँ त्यसैबाट सबैजसो सिकिसकेकी थिएँ । सधैँ सँगै बस्ने भएको भए सासू, नन्द आमाजु, देवर जेठाजुप्रतिका गुनासा र बुहारीप्रतिका कटुवचन, अपहेलनाको अनुभव पनि हुनसक्थ्यो होला तर पाहुनासरी बसाइ हुने परिवेशले म ती कुराको अनुभवी कहिल्यै भएकी छैन ।

नेपाल आउँदा आमाबुवा हुँदा कति रमाइलो लाग्थ्यो । फर्किएर बेलायत जाँदा खासै मन रमाउँथेन । तर, यसपालि अब बुवाआमा हुनुहुन्न भन्ने भावनाले हो कि ती एम्मा मेरी जुम्ल्याहा दिदी वा बहिनी हुन् वा होइनन् भन्ने पत्ता लगाउन हतार भएर हो कुन्नी बेलायत चाँडै पुग्न पाए हुन्थ्यो जस्तो भइरह्यो । बुहारीको बुहार्तनका विषयमा पढेको र सुनेको मात्र हो **आफूले** कहिल्यै अनुभव नगरेकोले त्यसले त मलाई चाँडै बेलायत जान पाऊँ हुन्थ्यो भन्ने भएको त हुँदै होइन भन्नेमा त म ढुक्क नै छु ।

बिहान समय तालिकाअनुसार नै **प्लेनले** विराटनगरबाट काठमाडौं झारेपछि ट्याक्सी लिएर नेत्र दाइकहाँ गयौँ । राति दुई बजेको **फ्लाइट** भएकोले हामीसँग पूरै दिन समय थियो । मनले जतिसुकै चाँडै बेलायत पुग्न पाए हुन्थ्यो भने पनि सामान **सुट्केस** नलिई जाने कुरा पनि भएन । पुग्दा भाउजू र दाइ मिलेर खाना पनि पकाइराख्नु भएको रहेछ । पहिला आएर त्यहीँ बसेको भएर होला सायद बुटवल घरमा भन्दा पनि त्यहाँ अपनत्व महसुस भयो । बुवाआमा विनाको **आफ्नो** घर पनि **आफ्नो** जस्तो नलागेर त होला । भाउजूको मिठा कुराले गाँसेको अपनत्व आमापछिको सबैभन्दा सामिप्यता भएर पनि होला दिनभरि बसुन्जेल **आफ्नै** जस्तो लागिरह्यो । त्यत्तिकैमा नेत्र दाइको फोनमा घण्टी बज्यो र अर्कोपट्टि पिताम्बर काकासँग कुरा गर्दै हुनुहुन्छ भन्ने पनि उहाँको कुरा गराइ र शब्दबाट बुझेँ ।

फोनमा कुरा सकिएपछि नेत्र दाइले भन्नुभयो ‘काका अफिसबाट सिधै यतै आउनुहुन्छ रे अनि यतैबाट तिमीहरूलाई एयरपोर्ट पठाएर बल्ल घर जानुहुन्छ रे ।’

भाउजूलाई भने मलाई जस्तै त्यो एम्माको विषयमा निकै खुल्दुली लागिरहेको रहेछ । दिनेश एकछिन इमेलहरू पठाउन भन्दै माथि कोठामा **ल्यापटप** लिएर बसे । छोरी पनि स्कूलमा बुझाउने भनेको विवरण लेख्न माथि कोठामै बसिन् । नेत्र दाइ एकछिन **मिटिङ** गएर आउँछु भन्दै बाहिर जानुभयो । भाउजू र म मात्रै थियौँ, **सिटिङ रुममा** अनि भाउजूले कुरा निकाल्नुभयो, ‘अब गएपछि त्यो जुम्ल्याहा नानीको राम्ररी पत्ता लगाएर यहीँ लिएर आउनुस् है ।’

‘जुम्ल्याहा दिदी र बहिनी नै हुन् भन्ने त कहाँ छ र भाउजू, **आफू** जस्तै **आफ्नै** उमेरकी केटी भेट्दा शङ्का गरेको मात्र हो । तै पनि मलाई पनि कस्तो खुल्दुली त लागिरहेको छ । **डीएनए** रिपोर्ट पनि पक्कै आइसकेको होला अब जानेबित्तिकै त्यो **चेक** गर्छु । त्यसमा मेरो र उनको **डीएनए सिक्वेन्सले** सम्भावना देखाएन भने कुरै सक्किहाल्यो । उनलाई खोज्नुको पनि कुनै मतलब नै भएन । यदि **डीएनएले** हामी दुई बहिनी भएको पुष्टि गऱ्यो भने मेरो बुवाआमा अब नभए पनि उनका बुवाआमा त छँदैछन् पत्ता लागिहाल्छ । साँच्चै जुम्ल्याहा रहेछौँ भने त यहाँ ल्याइहाल्छु बुवाआमाको सम्पत्तिमा उनलाई पनि भाग दिइहाल्छु । तर, अहिले त गफै मात्र त हो नि भाउजू’ मैले भनेँ ।

भाउजूले ‘उनका बुवाआमा कहाँ रहेछन् ? छोरी अस्पतालमा बिरामी अवस्थामा भएपछि त त्यहाँ आउँदा **तपाईंँसँग** भेट हुनुपर्ने हो नि ?’

‘त्यो त हो भाउजू, उनका बुवाआमा नेदरल्याण्ड्समा बस्छन् । उनी पहिला अर्कै अस्पतालमा हुँदा आएका रहेछन् । पछि हो मैले काम गर्ने अस्पतालमा उनलाई ल्याएको त्यसैले मेरो भेट हुन पाएन । पछि त्यो अस्पतालमा पनि आउने थिए होलान् । तर, उनीहरूको पहिलादेखि नै **होलिडे बुक** भएको रहेछ । फेरि छोरीको पनि अस्पतालमा उपचार भइहाल्ने अनि खासै खतराको स्थिति पनि नभएकोले उनीहरू **इटलीमा होलिडे** गएछन् । उनीहरू पहिला **इटलीबाट** नेदरल्याण्ड्स सरेका रहेछन् ।’ भाउजूलाई मैले जानेसम्मको विवरण सुनाएँ ।

भाउजूले अर्को प्रश्न थप्नुभयो, ‘उनका बुवाआमाले पनि ती नानीको नेपाल र नेपालीसँगको सम्बन्ध वा वास्तविक बुवाआमा बारेमा बताएका रहेनछन् ?’

‘हजुरले भने जसरी खुलस्त त मैले सोधिनँ तर हामी जुम्ल्याहा जस्तो देखिने विषयमा ती एम्मा र मेरो बीचमा कुरा भएकोले त्यस्तो केही थाहा भए त उनले मलाई भनिहाल्थिन् । फोनमा बुवाआमासँग त्यस विषयमा सोध्न पनि खोजेकी थिइन् तर **नेटवर्क** राम्रो भएन । फोनमै भए पनि उनका बुवाआमासँग सोध्ने सल्लाह त गरेका थियौँ । फेरि त्यतिखेर त बुवा र आमासँग मैले पनि सोध्छु भन्ने थियो । भोलिपल्ट नै उनको खुट्टाको अपरेसन गरेर टुक्रा परेका हड्डीका टुक्रा जोडेर अपरेसन कोठाबाहिर निस्कनासाथ यहाँ बुवाआमाको **एक्सिडेन्टको** कुराले गर्दा यता आइहालेँ । यति छिटोछिटो भयो कि केही मेसो नै भएन । अझ हेर्नुस् न भाउजू अब म यहाँबाट जाँदासम्ममा ती एम्मा पनि अस्पतालबाट **डिस्चार्ज** भएर गइसकेकी होलिन् । **डीएनए** रिपोर्ट त अस्पतालको रेकर्डबाट हेर्ने चाँजो मिलाउन सक्छु जस्तो लाग्दै छ । तर, **डीएनए** रिपोर्टबाट हामी जुम्ल्याहा हौँ भन्ने भयो भने अरू कुरा पत्ता लगाउन फेरि उनलाई खोज्न कति मिहिनेत गर्नुपर्ने हो केही थाहा छैन ।’ मैले **आफ्नो** चिन्ता पनि भाउजूलाई जनाएँ ।

भाउजूले पनि मलाई सान्त्वना दिने भावमा भन्नुभयो, ‘**डीएनएबाट** पनि निश्चय नै तपाईंहरू जुम्ल्याहा भएको देखिन्छ जस्तो मान्दै छु म त । अब हेर्नुस् न तपाईंहरू हुबहु उस्तै भएको मात्र भए त एउटा कुरा अब जेठाजु र दिदी पनि नेदरल्याण्ड्समा हुँदा हजुर पनि त्यहीँ जन्मनुभएको, ती नानी पनि नेदरल्याण्ड्सकी सबै कुरा मिलिरहेको छ । अब त्यो **डीएनए** भनेको के हो कसरी थाहा हुन्छ त्यसको **रिजल्टले** ठ्याक्कै निधो हुन्छ कि हुँदैन मलाई थाहा भएन । तर, मेरो मनले भने हजुरहरू त जुम्ल्याहा दुई बहिनी नै हो भन्छ । अब जेठाजुहरू नरहे पनि उनका बुवाआमाबाट तपाईंहरूमध्ये को पहिला जन्मेको हो ? को दिदी हो ? को बहिनी हो भन्ने पनि थाहा त भइहाल्छ होला । चिन्ता नगर्नुहोस् ।’