Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग ९ः फिर्ता

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग 8

30 Nov, -0001

८ सूचना

बिहान हामी मालपोत कार्यालय पुग्दा त्यत्ति धेरै चहलपहल बढिसकेको रहेनछ । अफिस भर्खर खुलेको समय भएर पनि होला । अघिल्लो दिन जस्तो लेखनदास खोज्न गाह्रो पनि परेन । उनी चौपारीमै भेटिए । उनले हामीलाई देख्नासाथ ‘सरासर मुद्दा फाँटमा जाऊँ’ भने । हामी मुद्दा फाँटमा जाँदा ती दुब्ला अग्ला सुब्बा **आफ्नो** टेबलमा थिए र उनको सँगैको कुर्सीमा बसेका एक कर्मचारी कम्प्युटर अगाडि थिए । सायद कम्प्युटर खुल्दै थियो क्यारे उनी घरी पर्खने र घरी माउस–किबोर्ड चलाउने गर्दै रहेछन् ।

सुब्बाले हामीलाई देख्नासाथ ‘ल ल्याउनु त फाइल’ भनेर फाइल मागेर खोले । एकैछिन पढे, ‘कानुनअनुसार मिल्छ जस्तो त छ, त्यही पनि हाकिमसाबले सल्लाह गर्छु भन्नुभएको छ । एक पटक हिँड्नुहोस् सोधौँ गरिदिने भन्नुभयो भने प्रक्रिया अगाडि बढाउँला ।’ भन्दै सुब्बाका पछाडि लागेर हामी पनि हाकिमकै कोठामा पुग्यौँ ।

आखिरमा हाकिमले ‘हुन्छ, निवेदन दर्ता गरेर सूचना निकालिदिनुहोस् भन्ने आदेश दिए सुब्बालाई ।’

त्यत्तिकैमा एउटा मैलो कपडा लगाएको ११–१२ वर्षको स्कूल जाने उमेरको केटाले ल्याएर टेबलमाथि चिया राखे । हाकिम र सुब्बाले चिया खाँदै गर्दा सुब्बाले हामीलाई ‘ल तपाईंहरू तल फाँटमा हिँड्नुहोस् म आउँछु’ भने ।

तल फाँटमा आउँदा थुप्रै मान्छे कम्प्युटरमा काम गर्दै गरेका कर्मचारीको डेस्कपारि थुप्रिएका रहेछन् । हामी त्यही कोठाको भिड थप्नुभन्दा कोठाबाहिर नै उभिएर ती सुब्बा अर्को बिल्डिङ (**भवन**)बाट आउने बाटो देखिने गरी उभिरह्यौँ । सायद ‘पर्खिएको समय धेरै’ लागेर पनि होला निकै समय बित्दासम्म पनि ती सुब्बा माथिबाट झरेनन् । चिया खाइसक्ने समयभन्दा धेरै समय बित्दा पनि नझरेपछि हामीलाई पट्यार नै लाग्यो । तर, उनलाई पर्खनुबाहेक कुनै विकल्प पनि त थिएन हामीसँग । पर्खाइको समय त्यसै त पट्यार लाग्दो हुने, त्यसैमा यसो एकछिन बसौँ न त भन्नलाई सफा बस्ने कुर्सी पनि कतै रहेनछ । थोत्रो भत्कन लागेको भवनमा जता छोयो धुलो लाग्ने । भित्ताहरूमा औँलाले कालो दलिएका दागहरू जताततै रहेछ । सायद कागजमा ल्याप्चे लगाएका हातको कालो पोत्ने सेवाग्राहीले त्यसरी रंग्याएका होलान् ती भित्ताहरू भन्ने सहजै अनुमान गर्न सकिने । तर, बेलायतमा हुर्किएकी छोरीले त्यो सहजै बुझ्न सकेको जस्तो मानेकी थिइनन् । छोरीले पनि खासै गुनासो र कचकच नगरी ती सबै रमिताहरू अनुभव गर्दै थिइन् । सायद उनले कल्पना गर्न सक्नेभन्दा भिन्दै परिस्थितिमा अनौठो तरिकाका काम गर्ने तरिका, डेस्क टेबलहरू, त्यसैमाथि सहयोग प्रदान गरिएको भनेर लेखिएका दराजहरू उनलाई अकल्पनीय दृश्यको अनुभूति भइराखेको थियो होला ।

कोठाबाहिर हामी उभिराखेको ठाउँबाट भित्र कोठामा देखिएका दराजहरूमा लेखिएका शब्दहरू नेपालीमा के लेखिएको हो भन्ने नबुझेर छोरीले मलाई सोधिन् ‘त्यो दराजहरूमा के लेखिएको छ ?’

सायद उनलाई ती सुब्बालाई पर्खिन परेको समय कटाउने उपाय पनि चाहिएको थियो र ज्ञान पनि थपिने जिज्ञासाका साथ उनले सोधेकी थिइन् । मैले उनलाई अथ्र्याइदिँदै भनेँ ‘एउटा **प्राइभेट कलेजले** सहयोगमा दिएको दराज भनेर लेखिएको छ । सायद कलेजले नयाँ दराजहरू किनेपछि पुराना दराजहरू यसरी सहयोग दिएर यहाँ राख्दा कलेजको प्रचार हुने हुनाले सहयोगस्वरूप लेखेर सस्तोमा राम्रोसँग कलेजको प्रचार हुने उपाय अपनाएको हुनुपर्छ । यो त मेरा लागि पनि पहिलो अनुभव हो ।’

छोरीले सोधिन् ‘यो **गभर्नमेन्टको** अफिस भनेको होइन र ? **ल्यान्ड रजिष्ट्री** अफिस भनेको त **गभर्नमेन्टको रेभेन्यु** (अर्थ) सङ्कलन गर्ने अफिस होला, त्यसमा पनि सहयोगको दराज किन राखेका होलान् ?’

यहाँ यस्तै हुने भएर त समाज र देश उभो लाग्न सकिरहेको छैन । यहाँ यस्तै चल्छ भन्दै सबै परिपाटी नै भताभुङ्ग पारिएकोले देश पनि विकास नभएको त होला छोरी । म त बुझ्न नसक्ने भइसकेँ । यहाँ अलिअलि पढालेखा भएका मान्छेहरू इमानदारी खोज्न थाल्छन् तर यहाँको **सिस्टमले** कि त उनीहरूलाई यही पद्धतिमा चल्न सिकाउँछ, कि त यो पद्धति सिकेर लथालिङ्ग तालमा नाच्न नजान्नेहरू विदेशतिर जान्छन् । यहाँ यसैलाई भन्छन् **ब्रेनड्रेन** तर **आफ्नो** कमजोरी यहाँ स्वीकार गर्ने चलन नै छैन । कमजोरी स्वीकार नगरेपछि त्यो कमजोरी सुधार गर्ने कुरै हुँदैन ।

आखिर सुब्बा तल झर्नासाथ मेरो रिस पनि ठण्डा भइहाल्यो । यो मनै त हो पर्खिँदासम्म पाँच मिनेट पनि घण्टौँ जस्तो लाग्छ । जसलाई पर्खिएको हो, ऊ आइपुग्दा घण्टौं बिताउन परेर गाह्रो भएको पाँच मिनेट पनि फर्किएर पाँचै मिनेटमा झर्छ । मैले पनि रिसलाई सजिलै दबाएर काकाका पछिपछि सुब्बाका कोठामा प्रवेश गरेँ । सेवाग्राहीको भिडका बीचमा हामी पनि थपियौँ । सायद हामीलाई पनि त्यो भिड यहाँ यस्तै हो, यसैमा नरमाई सुख छैन भन्ने अनुभूति भइसकेर होला अरू विषयमा भन्दा काम कसरी सकिन्छ र त्यो परिस्थितिबाट उम्कन पाइन्छ भन्ने मात्र सोच्न थालिसकेको थियो ।

आखिरमा कागजका पानाहरू लेखेर सुब्बाले **आफैँ** हाकिमको कोठामा लिएर गए । हामी चुपचाप उनकै पछि लाग्यौँ । हाकिमले ती सुब्बाले लेखेका पानाहरू पढेपछि, ‘हुन्छ अब यस विषयमा हामीले दाबी विरोधको सूचना निकाल्छौँ । कसैको उजुर नपरेमा **तपाईंले** नीलो **जग्गाधनी** पुर्जा बनाउनुहोला’ भने ।

हामी हाकिम र कर्मचारीसँग बिदा भएर निस्कँदै गर्दा काकाले भन्नुभयो ‘कार्यालयलाई हामीले एउटी छोरी मात्र भनेर निवेदनमा लेखे पनि अरू कोही हक लाग्ने व्यक्ति छ कि छैन भन्ने यकिन गर्न यो सूचना निकाल्ने चलन छ । यो त ठीकै पनि हो, किन भने कसैले अरू हकवालालाई थाहै नदिई एउटाको मात्र नाममा नामसारी गरेर अरू दाइभाइ दिदीबहिनीको हक मार्न सक्छन् भनेर सूचना गरेपछि जालझेल हुन पाउँदैन । कसैकसैको उजुर पऱ्यो भने मालपोत कार्यालयले यसमा कसकसको हक लाग्ने हो त्यो विषयमा अदालत गएर छुट्याएर आएपछि मात्र नामसारी हुन्छ भनेर पठाउँछ । यो सूचनाको अवधिभित्र कसैको उजुर नपरेपछि निवेदनमा हामीले अरू यो सम्पत्ति खाने कोही छैन एक मात्र छोरी भएको भनेर लेखेको विषय ठीक साँचो रहेछ भनेर निर्णय लेखेपछि पुर्जा बनाएर दिन्छन् । परराष्ट्र मन्त्रालयले दिएको पत्र हामीसँग छँदैछ, त्यसैको आधारमा निलो पुर्जा बनाएपछि गैरआवासीय नेपालीको हैसियतमा तिम्रो सम्पत्ति नेपालमा रहन्छ । तिमीले चाहेको बेलामा बेच्छु भन्न पनि पाउँछ्यौ । तर, बेचेर विदेश पैसा लैजान्छु भन्नलाई विदेशी मुद्रामा पैसा साटेर लैजान दिने कानुन छैन । यस्तो अवस्थामा ठूलाबडाले त मन्त्रिमण्डलबाट निर्णय गरेर पनि लैजान्छन् नत्र अरूले हुण्डी गरेर लैजाने गरेका छन् । यो कानुनी व्यवस्था नमिलाउँदा सरकारलाई उठ्न सक्ने कर देशलाई घाटा लागिरहेको छ । **आफ्नो** सम्पत्ति बेचेर विदेशी मुद्रा लिएर जाने कानुनी व्यवस्था नहुनाले हुण्डीवालाहरूले यहाँ पैसा पहिला लिन्छन् अनि विदेशबाट कमाएर नेपाल पठाउने व्यक्तिहरूको पैसा उतै बुझाउँछन् । जनताको अरू काम त चलेकै छ, तर देशले **ट्याक्स** गुमाइरहेको छ ।’

अरू पनि हकवाला (**दाबीकर्ता**) भए उजुर गर्न पाउने सूचनाको कुराले फेरि मलाई एम्माको सम्झना भयो । उनी साँच्चै जुम्ल्याहा दिदी वा बहिनी भए त उनको पनि त बुवाआमाको सम्पत्तिमा हक लाग्छ नि भन्ने सोचेँ । तर, जुम्ल्याहा हुन कि होइनन् मलाई के थाहा । उनी जुम्ल्याहा दिदीबहिनी भए त सम्पत्ति बाँडेर लिन हुन्थ्यो नि । मलाई सम्पत्तिको के लोभ र ! **आफूलाई** चाहिनेभन्दा बढी नै कमाइ हुन्छ । छोरीलाई दाइजो दिने परम्परा तोड्ने मानसिकताले गर्दा त्यसको लागि जोहो गर्न नि परेन । छोरी पढाउन मैले नदिए पनि छोरीलाई सरकारले ऋण उपलब्ध गराइदिने व्यवस्था छँदैछ । बिरामी नै भए पनि उपचार **एनएचएस** (**नेसनल हेल्थ सर्भिस**)ले गरिहाल्छ । धनको थुप्रो लगाएर तेरोभन्दा मेरो थुप्रो ठूलो भनेर **फुर्ती** लगाउनु भनेको मान्छेको दुःख बेसाउने उपाय मात्र त हो नि । एउटै चिन्ता भनेको एम्मा मेरी जुम्ल्याहा हुन कि होइनन् भन्ने कसरी पत्ता लगाउने भन्ने चिन्ता छँदैछ । **डीएनए** रिपोर्ट हेर्न पाए अलि मन शान्त हुन्थ्यो । अब चाँडै फर्किएर युके गएपछि पत्ता लगाउनुपर्ला ।

काकाले त्यो भन्दाभन्दै हामी गाडीमा पुग्यौँ र बुटवलतिर हिँड्यौँ । सबैलाई आ–**आफ्नै** पीर भनेझैँ छोरीलाई पनि **आफ्नै** पढाइको अर्थात् **टिचरले** यो अवधिमा परिवारका व्यक्तिको मृत्यु भएको अवस्थामा अपनाइने संस्कारहरूको विषयमा चिन्ता रहेछ । हुन त सुनेको देखेको र उनले सोध्दा हामीले बताएका कुराहरूको आधारमा छोरीले स्कूलमा बुझाउन भन्दै लेख्दै **ल्यापटपमा** **सेभ** गरेर राख्ने पनि गरेकी छन् । त्यसबाट उनलाई पनि ज्ञान बढ्ने र हाम्रो संस्कारका विषयमा पढ्न पाउने **क्रिश्चियन**, मुस्लिम जस्ता अरू धर्म मान्नेहरूले पनि हाम्रो संस्कार र संस्कृति बुझ्न मिल्ने गरी पाठ्यक्रमहरूको ढाँचा मलाई राम्रो पनि लाग्ने गर्छ । त्यसबाट बच्चाको ज्ञान पनि बढ्ने अनि उनले लेखेको लेखनबाट अरूले पनि ज्ञान पाउने । अझ स्तरीय लेखहरू छनोट गरेर प्रकाशन गर्ने चलनले मानव समाज झन् सभ्य बनाउनमा सहयोग गरिरहेका हुन्छन् । हामीले नेपालमा स्कूल पढ्दा भने त्यस्तो हुन्थेन । केवल **टेक्स्ट बुकहरू** घोकेर जाँच पास गर्न मात्र सिकाइन्थ्यो ।

गुड्दै गरेको गाडीमा हामीहरू बीचको मौनता तोड्दै छोरीले सोधिन् ‘हामी यहाँ आएको त **अफिसियल पेपरहरू** **म्यानेज** (सरकारी कागज व्यवस्थित) गर्न हो । हजुरबुवा र हजुरआमाहरूको मृत्युका विषयको **रिचुअल** (धार्मिक परम्परा) कार्यक्रम अब सकियो कि बाँकी छ ?’

‘उहाँहरूको आठ दिन भइसक्यो । हामी किरिया बसेको वा कुनै बाहुनलाई किरिया बसाएको भए कसैसँग नछोइने, आफैँ पकाएर नुन नहाली सादा खाने विषयमा त तिमीलाई पहिले नै बताइसकेकै छौँ । तिम्रो **कोर्सवर्कको** लागि लेखी पनि सक्यौ होला । भोलि नौ दिन हुन्छ । चेलीबेटीहरूले घोत ल्याउने हुन्छ । चेलीबेटी भनेको छोरीपट्टिका नातेदार नाति, नातिना, ज्वाइँ चेलाहरू हुन्छन् । परम्पराअनुसार नेपालमा छोराहरूलाई सम्पत्ति दिने र छोरीहरूलाई विवाह गरेर केही दाइजो दिएर पठाउने चलन हुनाले छोरी पट्टिकालाई चाडपर्व र मर्दापर्दाको अवस्थामा दानदक्षिणा गर्ने प्रचलन छ । यस्तो कोही मरेको अवस्थामा घोत भनेर चेलीपट्टिकाले चिनी, घिउ आदि ल्याउने चलन छ । १३ दिनमा किरिया बस्नेहरू शुद्ध हुने पूजा गरेपछि **गहुँत** खानुपर्छ । **गहुँत** भनेको गाईको **पिसाब** हो । त्यसलाई दुबोले मन्त्र पढ्दै पण्डितले छर्कन्छन् । हाम्रो संस्कारमा गाईको **पिसाबलाई** शुद्ध गर्ने माध्यम मानिन्छ । भन्न त गाईको **पिसाबमा** **एन्टिब्याक्टेरियाको** चरित्र हुन्छ भन्ने पनि गरिन्छ । हुन पनि सक्छ । तर **गहुँतलाई** धेरै पुस्ता पहिलेदेखि चलिआएको हुनाले कसैले प्रश्न बिना नै चलन स्वीकार गर्ने गर्दछन् । दान दक्षिणा गर्दा चेलीहरूले जति घोत ल्याएका छन् त्यो दोब्बर गरेर उनीहरूलाई दक्षिणा दिने र शाकाहारी मिठो खाना खुवाएर पठाउने चलन छ’ मैले भनेँ ।

बेलायतको कानूनमा सन्तानलाई अंश दिने **व्यवस्था** छैन । बाउ–आमा बितेपछि अपुतालीको **व्यवस्था** भने छ । पुस्तकहरूमा पनि छोरीले त्यो पढेकी हुनाले नेपालमा छोराले अंश पाउने छोरीले दाइजो पाउने विषयमा अनौठो लागेछ । उनले छोराछोरीबीच समानताको विषयमा मात्र बुझेकीले अल्मलमा पर्दै सोधिन् ‘हाम्रो पनि मामाहरू भएको भए के हुन्थ्यो ?’

म ः ‘मामाहरू भएको भए उनीहरूले सेतो कपडा लगाएर पहिले भनेको जस्तो किरिया बस्नुपथ्र्यो । अझ हामी सानो छँदासम्म त छोराहरूले वर्षभरि नै अरूले पकाएको नखाने, सेतो पहिरन मात्र लगाउने गर्थे । अहिले भने त्यस्तो सेतो पहिरन गरेर वर्ष दिन बस्ने चलन हराउँदै गएको छ । तर, अलिअलि अझै बाँकी छ । मरेको वर्ष दिनसम्म हरेक महिना तर्पण दिने, ४५ दिन, ६ महिना र वर्ष दिनमा पिण्ड दिने श्राद्ध गर्नुपर्ने थियो । तर्पण भनेको पितृहरूलाई सम्मान गरेर जल अर्पण गर्ने र पिण्ड भनेको गाईको दूधमा पकाएको खीर मरिसकेको पितृले पाउँछन् भनेर चढाउने प्रचलन छ । त्यसरी चढाएको खीरको डल्ला गाईलाई खुवाएपछि पितृले पाउँछन् भन्ने मान्यता पण्डितजीहरूले सिकाउनु हुन्छ ।’

छोरी ः ‘त्यसरी खीरको डल्ला गाईलाई खुवाउँदा मरेको मान्छेले पाउँछ भन्ने त **सुपरस्टिसन** (अन्धविश्वास) जस्तो लाग्यो ।’

म ः ‘हामीहरू हिन्दू धार्मिक मान्यताका संस्कार र संस्कृतिमा हुर्कियौँ । त्यसैले हामीले पण्डितले भनेको कुरामा प्रश्न उठाउन पाउँथेनौँ । अध्यात्मवादी नियमहरू मान्न इन्कार गरे पाप गरेको दण्ड भोग्नुपर्ने त्रासमा हामीले सबै कुरा सिक्यौँ । त्यसैले तिमीहरूले सोच्ने र गर्ने प्रश्नहरू हामीले स्कूल पढ्दा सोच्दै सोचेनौँ । पछि पढ्दै गएपछि हामीलाई पनि यस्ता प्रश्नहरू मनमा उब्जन थाले । तर, हामी वादविवाद नगरी चलन मान्दै गयौँ । तर, तिमीहरूलाई अध्यात्मिक विचारभन्दा बाहिर सोच्न नपाउने हुँदैन । प्रश्न गर्न रोक छैन । तिमीहरूले अध्यात्मवादी सोच ठीक छन् कि छैनन् ? मान्ने कि नमान्ने भन्नेमा आफैँ सोचेर निर्णय गर्नुपर्छ । हामीले तिमीलाई हामीले सानामा जे बुझ्यौँ पण्डितहरूले जे भने त्यो नै मान्नुपर्छ भन्ने बाध्यतामा पार्न हुँदैन । तिमीलाई यी विषय ठीक लागे त्यसैगरी मान्न पनि छुट छ । विश्वास नलागे अरू चलन बनाउन पनि छुट छ । तर, हामीलाई त्यस्तो छुट थिएन । नेपालमा हुर्कने धेरैजसो केटाकेटीलाई तिमीलाई जस्तो स्वतन्त्र भएर धर्मका विषयमा धारणा बनाउने छुट अहिले पनि छैन ।’

‘नेपालका घरघरमा बच्चाहरूलाई हरेक वर्ष माघ महिनाभरि स्वस्थानी ब्रतकथा सुनाइन्छ । उक्त कथामा देवताले राक्षस मारेर पहाड, माटो, ढुंगा र समुद्र भए भनेर सिकाइन्छ । हामी त्यही कुरा सत्य हो भन्ने बुझदै बढेका हौँ । अहिले तिमीले स्कूलमा पढेका विज्ञानका पुस्तक गलत हुन् स्वस्थानीका कथा ठीक हुन् भनेर कसैले भन्दैन । तर, हामीलाई स्वस्थानीको कथामा विश्वास नगरे भगवान्ले हामीलाई सजाय दिन्छन् भन्ने डर मात्र हुन्थ्यो ।’

‘तिमीलाई मैले परिवार सदस्य मर्दा गरिने किरियाकर्मको विषयमा भन्दै थिएँ । ४५ दिन, ६ महिना र वर्ष दिनमा मलामी बोलाएर खुवाउने, बाहुनहरूलाई दान **दक्षिणा** दिने गर्नुपर्छ । त्यसपछि भने हरेक वर्ष दुई पटक श्राद्ध गरेर गाईको दूधको खीरको पिण्ड चढाएर गाईलाई खुवाउनुपर्छ । नत्र पितृ स्वर्ग जाँदैनन् र पितृहरू खुसी भएनन् भने दुःख हुन्छ भन्ने सिकाइन्छ । एक किसिमले मानिसहरूलाई ज्ञान र प्रकृतिका नियमहरू नबुझदासम्म र पुलिस प्रशासन नहुँदा सन्तुलित समाज बनाउन ती नियमहरूले राम्रै काम गरेको हुनुपर्छ । त्यस्ता नियमहरूका कारण सभ्य हुँदै गएको समाजले कानुन, नियम, पुलिस प्रशासनको विकास गरेकोले अहिले हाम्रो समाज यत्तिको सभ्य भएको छ । मरेको मान्छेले स्वर्ग जान बैतर्नी तर्न पर्ने विषयमा पनि पण्डितहरूले बताउने गर्छन् । तर त्यस विषयमा मलाई पनि धेरै थाहा छैन । साथै त्यस विषयमा तिमीले जान्न **महत्त्वपूर्ण** हुन्छ भन्ने लाग्दैन ।’

१३ दिनको खानपिनको व्यवस्था घर पछाडिको बारीमा टेन्ट लगाएर मारवाडी सेवा समितिको चोखो खानाको **क्याटरिङको** व्यवस्थाले गर्दा खासै गाह्रो भएन । अर्जुन दाइले सबै मलामी र घोत ल्याउनेहरूलाई निम्ता गरेर बोलाउने चाँजो मिलाउनुभयो । नन्दराम गुरुलाई दक्षिणा पनि दिइयो । हामीले किरिया नबसेको विषयमा कुरा गाइँगुइँ भए, आलोचना निकै भयो तर मलाई दिनेशको पनि पूरै साथ थियो । काकाले सबै विधान आदि बनाइसकेकोले समयमै अक्षय कोषको कागज पूरा गरेर १३ दिनका दिन, २० लाख नेपाली रुपैयाँको अक्षय कोष बुवाआमाका नाममा खडा गरेर बुवाले पढेको स्कूलका विद्यार्थीलाई ब्याजको पैसाबाट छात्रवृत्ति दिने व्यवस्था मिलाउनाले जसले जस्तो कुरा काटे पनि मन शान्त गर्ने बाटो भयो भन्ने आत्मसन्तुष्टि भयो ।

हामी चौधौँ दिनका दिन अस्तु सेलाउन त्रिवेणी जाने निधो गरेर गाडीको व्यवस्था भएकोले बिहानै हिँड्यौँ । मलाई भने अस्तु सेलाउने धार्मिक भावनाभन्दा बढी बाल्मिकि आश्रम पुग्न पाइने लोभ लागिरहेको थियो । बाल्मिकि आश्रम विषयको जिज्ञासा मेरो बाल्य अवस्थादेखि नै भित्र मनमा गडेर बसेको थियो । तर, जीवनको ओरालो समय सुरु भएपछि बल्ल त्यहाँ पुग्ने समय जुऱ्यो । घर परिवार एवं समाज जताततै रामायणका पात्रहरूमा बीरताका साथै जनसेवक पात्रका रूपमा राम र असल नारी चरित्रका रूपमा सीताको चारित्रिक व्याख्यामा व्याप्त थियो । धेरै हदसम्म अझै छ । धार्मिक आडमा भानुभक्तद्वारा व्याख्या गरिएका राम र सीताका चरित्रलाई हाम्रो समाजमा मोक्षको मार्ग भेटिने अर्थमा बुझिएको थियो, धेरै हदसम्म त्यो बुझाइ अझै कायमै छ । विकासवादी (**डार्विन**) सिद्धान्त बुझदै र विश्वास गर्दै गरेको पुस्तामा त्यो बुझाइ घट्दै गएको छ ।

रामायणको मुख्य रचयिता (**व्याख्याता**) वाल्मिकि ऋषि नै हुन् । सीताको जीवनका पछिल्ला दिनहरू तथा उनका दुई छोरा लव–कुश पनि वाल्मिकि ऋषिकै आश्रममा हुर्केका र शिक्षा प्राप्त गरेको उल्लेख भएका कारण वाल्मिकि आश्रम प्रति मेरो जिज्ञासा बढी रहेको हो । रामायणको दोस्रो संस्करणका रूपमा कालिदासले पनि संस्कृतमै लेखेका थिए । तुलसीदासको रामायण उत्तर भारतमा प्रचलित अवधि भाषामा प्रकाशित भयो । संस्कृत नबुझनेहरूका लागि पनि पढ्न सहज भयो । वाल्मिकिले रामायण संस्कृत भाषामा लेखेका थिए । नेपालमा पछि भानुभक्तले नेपाली भाषामा रामायणको अर्को संस्करण प्रकाशित गरेपछि नेपाली समाजमा त्यसको महत्व बढ्यो । भानुभक्तका पालासम्ममा छापिएका पुस्तकहरू उपलब्ध भएकाले पनि छोटो समयमै त्यसले समाजमा गहिरो छाप पाऱ्यो ।

भानुभक्त रामायण घर–घरमा पढ्ने चलन भएकोले पनि मेरी जेठी माइजू र भाञ्जे भाइ विष्णुले घोकेका **श्लोक** बालापनमै सुनेपछि रामायणका पात्रहरूका विषयमा जिज्ञासा जागेको थियो । माइजूले सीताको चरित्रमा जोड गरेर रामायणका प्रसंग सुनाउनुहुन्थ्यो । भाञ्जे भाइ विष्णुले कण्ठस्त गरेका **श्लोकबाट** राम, भरत, शत्रुघ्नहरूका तीन सौतेनी आमाहरूबीचका कुटिल चाल र तिगडमका विषयमा मेरो मस्तिष्कमा बालक अवस्थामै अध्यात्मिक लेपमा लपेटिएको ज्ञान भरिएको थियो ।

आखिर आज **वाल्मिकि** आश्रम पुग्दा मेरो आध्यात्मिक लेप पखालिइसकेको थियो । आश्रमलाई ऐतिहासिक तथ्य केलाउने भावना बोकेर म त्यहाँ पुगेकी थिएँ । हामी २९ जनाको समूहमा अस्तु सेलाउन त्रिवेणी (चितवन) पुगेकै समयमा **वाल्मिकि** आश्रम भ्रमण जुऱ्यो । उक्त आश्रम त्रिवेणीबाट नजिकै छ भन्ने मलाई थाहा थियो । १३ दिनसम्मको सबै प्रक्रिया नसकिँदासम्म पनि त्यहाँ पुगिन्छ भन्ने निधो थिएन तर अस्तु सेलाउन त्रिवेणी पुग्ने तारतम्य मिलाउनासाथ मेरो मस्तिष्कमा **वाल्मिकि** आश्रम पुग्ने विचारले ठाउँ पायो ।

बुटवलबाट हिँडेको बस त्रिवेणी बजारमा पुग्नुअघि केहीबेर नहरको छेउको बाटोमा गुड्यो । हामी नेपालकै भूमिमा गुड्दै थियौँ तर नहरको पानी सिधा भारत पस्दै थियो । त्यो नहरको पानीलाई नेपालका खेतबारी सिञ्चाइ गर्ने अनुमति छैन । किसानहरू नहरमा बगेको पानी हेर्ने र खडेरीले सुक्न थालेका बालीको तिर्सनामा छट्पटाउने बानी परेको रहेछ । त्यही भएर त गण्डक नहर बदनाम भएको छ ।

त्रिवेणी बजार पुग्नुअघि गण्डक बाँध देखियो । नारायणी नदीलाई छेकेर पानी भारत लैजाने नहरमा पानी पठाउन बाँधका फाँट बन्द भएकाले आँखाले देख्ने जति दूरीसम्म पानी भरिएको रहेछ । बजारभन्दा थोरै तल नदीको तटमा मानव शवहरू दाउरा बालेर पोलिँदै थियो । त्यसको गन्ध बजारसम्मै महसुस हुन्थ्यो । नदीका तटमा मरेको गोरुको शव ढाडिएको थियो । सायद पहाडतिरबाट नदीले बगाएर ल्याएको होला भन्ने अनुमान गरेँ ।

हाम्रो अस्तु सेलाउने भनेर तोकिएको गन्तव्य आइपुग्यो भनेर बसबाट ओर्लिएर नदी तटमा पुग्यौँ । हाम्रो समूहमा धेरै मनहरू आध्यात्मिक भावमा अस्तु सेलाउन त्यहाँ पुगेका थियौं । इँटाले सिँढी बनाएर तट बनाइएको रहेछ । नदीकै छेउमा अस्तु सेलाउन रोक लगाइएको रहेछ र त्यहाँका काठका डुंगाहरूको व्यवसाय पनि चल्ने हुनाले पनि होला डुंगामा नदीको बीचतिर लगेर पूजा गरेर बचेका फूल प्रसादहरू नदीमा बगाउन दिइँदो रहेछ । वातावरणीय हिसाबले सोचेर त्यसो गरिएको होला भनेर चित्त बुझाउन मन लाग्यो । नदीको बीचमा पुगेर अस्तु र फूलपाती सेलाएर फर्किनेलाई डुंगाले पाँच सय रुपैयाँ लिँदा रहेछन् । नदीपारि गएर आउनेलाई एक हजार एकसय रुपैयाँ भाडा तोकिएको रहेछ ।

नदी तटमा पुग्नासाथ आध्यात्मिक मनले भरिएका महिलाहरू धर्म हुन्छ भन्ने भावमा पानीमा डुबुल्की मार्नुभयो । डुबुल्की मार्नेमा चौरासीको पूजा गर्नुभएकी मामा घरकी हजुरआमा, भाञ्जेदिदीहरू समेत हुनुहुन्थ्यो । त्यहाँबाट उत्तरपट्टि र नदीपारि पूर्वपट्टि चुरे पहाडका हरियाली डाँडाहरू देखिँदै थिए । दक्षिणतिर देखिएको गण्डक ब्यारेज नै भारत नेपालबीचको सिमाना हो । पूर्वपट्टिबाट पनि एउटा अर्को नदी नारायणी नदीमा मिसिँदो रहेछ । तीनवटा नदीको मिलन हुने ठाउँ भएको हुनाले नै त्यस ठाउँलाई त्रिवेणी भन्ने गरिएको हो । त्यहाँ अरूले धार्मिक स्नान गर्दै गर्दा म भने **वाल्मिकी** आश्रम पुग्ने चाँजो मिलाउँदै थिए । डुंगाको समिति रहेछ । उनीहरूलाई डुंगाको भाडा भुक्तान गरेपछि **लाइफ ज्याकेट** दिएर डुंगामा बसालेर नदीको पारि पुऱ्याउँदा रहेछन् । पारि पुगेपछि करिब ४५ मिनेट हिँडेपछि **वाल्मिकि** आश्रम पुगिँदो रहेछ । डुंगाबाट पारि गएर हिँडेर त्यहाँ पुग्नबाहेक मोटरमै भारत गएर घुमेर पनि आश्रमसम्म पुग्ने उपाय त रहेछ । तर, मेरो, छोरीको र दिनेशको विदेशी नागरिकता भएकोले भिसाको समस्या हुने भएकोले पनि हामी हिँडेरै आश्रम पुग्ने भयौँ । हुन त कसले थाहा पाउँछ र अनुहारले विदेशी नदेखाएपछि सोधपुछ नै हुँदैन । गाडीमै जाऊँ भन्नेहरू पनि हाम्रो समूहमा कम थिएनन् । तर, कानुन मिच्न हुँदैन भन्ने मनमा भएकोले भारत नछिर्ने नेपालभित्रैबाट बरु डुंगा तरेरै आश्रम पुग्ने निधो गऱ्यौँ । दिनेश र मेरो पनि कुरा मिलिहाल्यो । दुई वटा डुंगामा १९ जना नदी पारि पुग्यो । अरू त्यहीँ वारि नै बस्नुभयो । आश्रम पुगेर फर्किर आएपछि फोन गरेमा हामीलाई नदी तराउने डुंगा फेरि आइपुग्ने भन्दै हामीलाई फोन नम्बर दिइयो ।

समूहमा कसैको हिँड्ने गति अलि छिटो थियो, कसैको अलि ढिलो, कसैका जुत्ताका तला फुत्किए, कसैलाई आश्रमसम्म पुग्नै हम्मेहम्मे भयो । सबैभन्दा अगाडि पुग्नेमा म र दिनेश थियौं । सानो छँदा कपिलवस्तुको बोक्टापुर गाउँबाट बुढी गाउँमा आउँदाको जंगलको बाटोमा हिँडेको जस्तै अनुभूति साथ डुंगाबाट झरेपछि आश्रम भनिएको ठाउँमा पुग्दा करिब ३५ मिनेट लाग्यो । उल्टो गरी ढलेर लम्पसार परेका रूख, सुक्खा खोल्साहरू तर्ने बेलामा झर्ने र चढ्ने खुड्किलाहरू । कतै भर्लाका ठूला लहराले गेट बनेका त कतै बनेलले खोस्रेका डोबहरू थिए । एउटा रूखमा झुण्डाइएको खुइलेको बोर्डमा आश्रम पुग्न १५ मिनेट लेखेको देखेपछि त्यो सुनसान बाटो हामीले बिराएका छैनौँ भन्ने ढुक्क भयो । हुन पनि मान्छे हिँड्दा हिँड्दा अलि चिल्लो परेको गोरेटो एउटा मात्र देखिएको थियो । बाटो बिराएको चिन्ता त लागेको पनि थिएन, चराचुरुंगीका आवाजले संगीत भरिरहेका थिए ।

आश्रम पुग्दा पहिला काठको एउटा लामो ठाटी देखियो । पहिले त्यो पुलिस बस्ने चौकी रहेछ । तर, अहिले त्यसमा बस्न छाडेका रहेछन् । उनीहरूका लागि छुट्टै भवन बनेको रहेछ । सेनाको टुकुडी पनि रहेछ त्यहाँ । साना पसलहरू ठेला र **टङ्की** (**घुम्ती**)मा राखिएका रहेछन् । सीता भासिएको भनेर गहिरो खाल्डो जस्तो परेको ठाउँमा आधुनिक इँटा जडान गरेर सिमेन्ट पोतेर सिँगारिएको रहेछ । ऐतिहासिकता झल्कने कुनै भाव थिएन । बरु, सुन्दर रूपभन्दा पनि **ब्युटिपार्लरको** कमाल प्रदर्शन गर्ने **मोडेलहरूको** अनुहार जस्तो कृत्रिमता झल्किएको रहेछ । तै पनि फोटो खिच्न भने प्रतिबन्ध रहेछ ।

सबैभन्दा बढी ऐतिहासिकता झल्कने एउटा इनार रहेछ । त्यसलाई पनि वि.स. २०६३ मा जीर्णोद्धार गरिएको भनेर सिमेन्ट पोतेर (**प्लास्टर** गरिएको) लेखिएको देखियो । पुरातत्त्व विभागले लव–कुशले घोडा बाँधेको खम्बा भनेर लेखेर राखिएको **कलात्मक** ढुंगाको खम्बा भेटियो । वैज्ञानिक रूपले पुष्टि गरेर कति पुरानो भन्ने तथ्यको जानकारीसमेत त्यहाँ भेट्न सकिएन । अध्यात्मको भावमा टीका चढाउन र धर्म बटुल्न जानेहरूका लागि त त्यो अवस्था सन्तोषप्रद नै हुन पनि सक्ला । तर, ऐतिहासिकताको पुष्टि कति हदसम्म भएको हो भन्ने मेरो जिज्ञासा मेटिने कुनै पनि उपाय त्यहाँ भेटिएन । यथार्थ नजिक पुग्ने सूचनाको अभाव भने मेरो मनमा अहिलेसम्म पनि खट्किरहेको छ । गुगल गरेर खोज्ने प्रयास गर्दा भारतको पञ्जाबमा पनि **वाल्मीकि** आश्रम भएको जानकारी भेटेँ (https://punjab.gov.in/key-initiatives/view-show7ppid.900) (https://en.wikipedia.org/wiki/Bhagwan_Valmiki_Tirath_Sthal) । भारतको बिहारको बिठोरमा पनि वाल्मीकि आश्रम भएको विवरण उत्तर प्रदेशको सरकारी वेबसाइटमा भेटिँदो रहेछ । ( https://uttarpradesh.gov.in/en/details/valmiki-ashram-320039003300 ) । वास्तवमा हामी पुगेको ठाउँ नै रामायणमा उल्लेख गरिएको **वाल्मिकि** आश्रम हो भन्ने पुष्टि गर्ने आधार खोज्ने क्रम जारी रह्यो । हुन त वाल्मिकिको जीवनमा केही समय पञ्जाबमा केही समय बिहारमा त केही समय हामी पुगेको ठाउँमा आश्रम बनाएर बसेको हुन सक्ने अनुमान गर्न नसकिने त होइन तर त्यसको पनि पुष्टि हुने आधार केही भेटिएन । हामीले कल्पना गर्ने गरेको राम राज्यको समयमा अहिले जस्तो सिमेन्टको प्रयोग भएको विश्वास त कमसेकम गर्न सकिँदैन । त्यसैले हवनद्वार भनेर देखिने खम्बा हेर्दा प्राचीन ढुंगा कुँदेर खडा गरिएको भन्दा पनि धातु प्रयोग गरेर कुँदेको जस्तो भान हुनुले पनि कति ऐतिहासिक होला भन्ने तथ्य बुझ्न कठिन लाग्यो ।

पानीका घैँटा राखेका खोप देखिने ढुंगा देख्दा बालक कालमा मैले **आफू** हुर्किएको थारू गाउँको कुवाका डिलमा इँटा घोटिएर घैँटो बस्ने डोब त्यस्तै देख्ने गरेको याद आयो । नजिकको इनार र ती घैँटाले घोटिएर बनेका हुन सक्ने खाल्डो परेका ढुंगाले केही पुरानोपनको झल्को त दिन्छन् । तर, कार्बन **डेटिङ** आदि विधि अपनाएर त्यहाँको तथ्यलाई पुष्टि गरेको खण्डमा त्यहाँ पुग्ने म जस्ता यात्रुलाई पुरातत्त्व विभागले गुन लगाएको ठहरिनेछ ।

एक ठाउँमा दुई रूखलाई चौपारी (**चौतारी**) चिनेर लव–कुशले शिक्षा लिएको स्थल भनेर लेखिएको छ । तर, त्यसलाई मात्र हेर्ने हो भने त विश्वास गर्नुभन्दा पनि भ्रम सिर्जना हुने देखिन्छ । दुईटा ढुंगा उभ्याएर अवीर दलेर ऐतिहासिक स्थल भनेर भन्दैमा अहिलेको पुस्ताले विश्वास गर्ने आधार देखिँदैन । अध्यात्मको जलप लगाएर जे भन्यो त्यो पत्याउने पुस्ता हराउँदै जाने र विज्ञानबाट पुष्टि भएका तथ्य खोज्ने पुस्ता अब **वाल्मिकि** आश्रम खोज्दै त्यहाँ पुग्ने हुँदा पुरातत्व विभागले आवश्यक तथ्य जुटाएर सूचना दिन जरुरी देखिन्छ ।

पूर्वीय दर्शनमा **वाल्मिकि** ऋषिको स्थानलाई मैले अल्पसंख्यक पक्षधरका रूपमा बुझने गरेकी छु । उनी तल्लो जातमा जन्मिएका र ज्ञान हासिल गर्नुभन्दा पहिला रत्नाकर डाँकु थिए भन्ने पनि भनाइ पाइन्छ । उनले अपहेलित र तिरस्कृत गरिएकी सीतालाई आश्रय दिएको र एकल नारीका दुई पुत्र लव र कुशलाई शिक्षा दिने जस पनि पाउने गरेका छन् । समाजमा व्याप्त अल्पसंख्यकको उत्पीडनलाई रामायणको माध्यमबाट उजागर गरेको श्रेय पनि वाल्मिकिलाई दिनु न्यायसंगत नै हुन्छ ।

हामी फर्किएर बुटवल पुग्दा रात परिसकेको थियो । अब नेपालमा बस्नुपर्ने सबै कामहरू सकिइसकेका थिए । मालपोत कार्यालयमा गएर पुर्जा बनाउनु ३५ दिनको सूचना अवधि पर्खिएर नबस्ने, बरु पछि कुनै समयमा नेपाल पुगेर पुर्जा बनाएर लिने सल्लाह दिनेश र मेरो भइसकेको थियो । त्यसैले सुत्नुभन्दा पहिला बेलायतको मैले काम गर्ने अस्पतालको **म्यानेजरलाई** सोमबारका दिन काममा आइपुग्ने हुनाले त्यसै अनुसारका कामको **रोटा** (**ड्युटी** **समयतालिका**) मिलाउन भनेर इमेल पठाएँ ।