Blog Details

Govind Belbaseपुरानो ब्लगबाट
भाग 2: अन्योल

उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग 2

30 Nov, -0001

२ अन्योल

बिहान अस्पताल पुगेपछि एम्माको अपरेसनको लागि थिएटरमा जानुपर्ने थियो । उनीसँग सामान्य बिरामी र डाक्टरको सम्बन्धभन्दा अलि बढी नै मेरो भावना जोडिएको छ । हुबहु अनुहारसहितको रगतको सम्बन्ध हुन सक्ने आशङ्काका कारण मेरा लागि विशेष बिरामी हुन एम्मा । उनका टुक्रा परेका हड्डीका टुक्रालाई जोड्न चाहिने मेटलका सामान तथा जोड्ने टुक्राहरू पनि सबै तयार भइसकेकै रहेछन् ।

उता, मेरो मन भने उनको डिएनएको रिपोर्ट हेर्नमा आतुर थियो तर बिरामीको खुट्टाको समस्यासँग त्यो रिपोर्टको कुनै सम्बन्ध थिएन । थियो त मेरो मनको खुल्दुली समाधान गर्ने कडी । डिएनए रिपोर्टले हामी बीचमा कुनै रगतको सम्बन्ध नभएको पुष्टि गर्ने सम्भावना अनुमान गर्दै थिएँ । तर, मन भने सम्बन्ध जोडिन सक्ने सम्भावनाको तरंगमा चञ्चल पनि भइरहेको थियो । दुनियाँमा यति धेरै मान्छे भए पनि हुबहु ठ्याक्कै मिल्ने दुई जना त जुम्ल्याहा मात्रै हुन्छन् । कोही–कोही उस्तै–उस्तै देखिने पनि हुन्छन् तर जुम्ल्याहाको जस्तो ठ्याक्कै मिल्ने त हुँदै हुँदैनन् । नेपालका पहाडका डाँडाको स्वरूपसँग मान्छेहरूको विविधता कहिलेकाहीँ दाज्ने गर्छ मेरो मन । पहाडका लस्करै लम्बिएका डाँडाहरू उस्तैउस्तै त देखिन्छन् तर ठ्याक्कै मिल्ने कतै भेटिँदैनन् । कसैका वल्लो टुप्पा र पल्लो टुप्पका बीचको दूरी मिल्दैन, कतै एउटा डाँडाको मोटाइ र तलतिर फैलिएका शाखाहरू पटक्कै मिलेका हुँदैनन् । कुनै पहाडका थुम्कामा भएका चौपारीले स्वरूपमा सुन्दरता थप्दै अरू डाँडाभन्दा फरक पारेका भेटिन्छन् । कतै हरियाली र रूखका लस्करले पनि छुट्याएका हुन्छन् । आखिर कतैको डाँडा हुबहु अर्को डाँडासँग मिलेकै हुँदैन । मान्छे पनि तिनै डाँडा जस्तै एउटा मान्छे र अर्को मान्छेको अनुहार तथा शरीर ठ्याक्क उस्तै हुँदै हुँदैनन् । जुम्ल्याहा सन्तानहरूका बीचमा पनि समानता भेटिन्छन् । उस्तै हुन्छन्, कतिपय जुम्ल्याहा व्यक्तिलाई कहिलेकाहीँ भेट्ने व्यक्तिले छुट्याउनै सक्दैनन् । कहिलेकाहीँ त त्यस्ता दुई जुम्ल्याहा बीचमा अनुहारमा भएका कोठी हेरेर मात्र छुट्याउन सकिने परिस्थिति पनि बन्ने गर्छ । जुम्ल्याहाहरूले धेरै व्यक्ति झुक्किएका रमाइला कुरा पनि सुनाउने गर्छन् । उनीहरूलाई त बानी नै परेका हुँदोरहेछ । तर, बाबु–आमा तथा परिवार सदस्यले भने त्यस्ता जुम्ल्याहा बीचमा पनि सजिलै फरक छुट्याएर चिनिरहेकै हुन्छन् । कतै एम्मा र म पनि जुम्ल्याहा त होइनौँ ? भन्ने आशङ्काकै कारण मैले डिएनए परीक्षणको लागि रगत जाँच गर्न पठाएकी हुँ । त्यो रिपोर्ट आउन कम्तीमा चार हप्ता लाग्ने त पक्कापक्की नै थियो ।

तोकिएकै समयमा योजनाअनुसार नै अपरेसन पनि सफल भयो । थिएटरबाट बाहिर निस्कँदा दिउँसोको साढे दुई बज्न थालेको रहेछ । सिधै अफिस कोठामा गएँ । मोबाइलको बत्ती झिपीझिपी गरेर कुनै म्यासेज आएर बसेको सूचना दिइरहेको थियो । फोन उठाएर हेरेको भाइबरमा नेपालबाट आएको म्यासेज रहेछ । नेत्र दाइको म्यासेज रहेछ । मेरा मामाका छोरा नेत्र दाइले ‘दिदीभिनाजु चढेको बस ट्रकसँग ठोकिएर सिकिस्त घाइते हुनुभएकोले टिचिङ हस्पिटलमा राखेका छौँ, तुरन्त काठमाडौँ आउनु’ भनेर लेख्नु भएको रहेछ । हाम्रो गाउँघरतिर फुपू-फूपाजुलाई पनि दिदी भिनाजु भन्ने चलन छ । उहाँको आशय मेरा बुवा र आमा घाइते भएर टिचिङ अस्पताल बालुवाटारमा भर्ना हुनुभएको भन्ने बुझेँ । तुरुन्तै नेत्र दाइलाई फोन गरेको फोन पनि तुरुन्तै उठिहाल्यो । उहाँले त मेरो फोनको प्रतीक्षा गरिरहनु भएको रहेछ ।

उता फोन उठेको थाहा पाउनेबित्तिकै ‘दाइ मैले म्यासेज पाउनेबित्तिकै फोन गरेको, म त अपरेसन थिएटरमा थिएँ, बुवा र आमालाई कस्तो छ ? बेस्सरी घाइते हुनुहुन्छ कि कस्तो छ ?’ भन्ने प्रश्न गरेँ ।

उताबाट दाइको आवाज आयो ‘न आत्तिऊ हामी यहीँ छौँ, निकै सिरियस हुनुहुन्छ दुवै जना । तिमी तुरन्तै आउनुपर्ने भयो ।’

अवस्था गम्भीर रहेको अनुमानसहित मेरो मन अतालिन थाल्यो । दिमागले अरू सबै कुरा बिर्सिएर नेपाल जाने निधो नै गरिहाल्यो । दाइलाई भनेँ ‘यहाँ काममा मैले मिलाउनु पर्छ, सकेसम्म आजैको प्लेनमा उडेर भोलि आइपुग्छु । मैले यहाँबाट सबै मिलाएर यात्राको तयारी गरेर भोलि कतिबेला काठमाडौँ पुग्छु भन्ने जानकारी दिनेछु । हुन्छ अहिले राखें त’ भनेर मैले फोन काटें ।

हत्तपत्त म म्यानेजरको कोठामा पुगें । धन्न, म्यानेजर आफ्नै कोठामा रहेछन् । उनलाई ‘एक्सिडेन्ट भएर मेरा ड्याड र मम दुवै जना हस्पिटलमा सिकिस्त हुनुहुन्छ भन्ने भर्खर खबर आयो, म आजै नेपाल जानुपर्ने भयो । मेरो लिभ (छुट्टी) स्वीकृत गरिदिनुस्’ भन्दै अनुरोध गरेँ ।

उनले मेरो जिम्मेवारीका बिरामीको केसका विषयको जानकारी सोधेर टिपे । त्यसपछि, ‘हुन्छ तिमी आजै जान सक्छ्यौ, नेपाल पुगेर स्थिति बुझेपछि कहिले आउन सक्छ्यौ खबर गर्नु र म यहाँको रोटाहरू मिलाउने छु ।’

बिदाको समस्या त समाधान भयो त्यसपछि फ्लाइट मिलाउनुपर्ने थियो । ट्राभल एजेन्टलाई फोन गरेको साँझको फ्लाइटबाट उडेर भोलि नै दिउँसो तीन बजे काठमाडौँ पुग्ने टिकट मिलाएँ । कामका सिलसिलामा साउथ अफ्रिका गएका दिनेश (पति)लाई ‘अपरझट परेर छोरीलाई पनि साथै लिएर नेपाल जाँदै छु, अरू कुरा बताउन म एयरपोर्ट जान ट्रेन चढेपछि फोन गर्नेछु र कुरा गरौँला’ भनेर इमेल लेखेर पठाएँ ।

छोरी स्कूलको गेटबाहिरको पेटीमा हिँड्दै रहिछन् । उनको छेउमा विस्तारै कार लगेको उनले देखिन् र रोकिएको कारमा पस्दै भनिन् ‘आज किन चाँडै आएको आमा ? मैले त यसरी पिकअप गर्नुहुन्छ भन्ने एस्पेक्ट (आशा) नै गरेकी थिइनँ’

उनी अगाडिको सिटमा बसेर सिटबेल्ट बाँधेपछि गाडी अगाडि बढाउँदै मैले भनेँ ‘बुवा र आमा तथा तिम्रो हजुरबुवा हजुरआमाको एक्सिडेन्टमा परेर हस्पिटलमा हुनुहुन्छ । त्यसैले तिमी र म आज साँझकै फ्लाइटमा नेपाल जाने हो ।’

छोरीले अवस्थालाई मध्यनजर गरेर ‘बुवा त अर्को हप्ता मात्र फर्कनुहुन्छ, मेरो पढाइ पनि छुट्ने भयो, तर, उहाँहरूलाई भेट्न नेपाल त जानै प¥यो नि । स्कूल एब्सन्ट (गयल–गैरहाजिर) भएकोमा समस्या पर्छ कि !’

उनको चिन्ता जायज नै थियो र सम्झाउँदै भनेँ ‘यस्तो कम्प्यासन अवस्थामा फरक पर्दैन, मैले तिम्रो स्कूलमा इमेल पठाउँछु ।’

उनले अवस्थालाई बुझेको चाल पाएँ । पारिवारिक सम्बन्धको महत्व उनले बुझिन् पनि । आखिर बुवा–आमाकी म एक मात्र छोरी भएपछि सामाजिक चलन र संस्कृतिअनुसार मेरा कर्तव्यहरू पनि त छन् नि । साँझ नै फ्लाइट समाउने चाँजो मिलाउनुपर्ने भएकोले पनि नेत्र दाइसँग के कसरी कहाँ दुर्घटना भयो ? कसरी अस्पताल पु¥याइयो ? को को साथमा छ ? अवस्था के कसो छ भन्ने केही राम्ररी सोध्न पनि नपाएकोले मन झन् मलीन भइरहेको छ । जे होस् ठूलो नोक्सानी केही नभए हुन्थ्यो । दाइले सिकिस्त हुनुहुन्छ भने पनि स्थिति गम्भीर त पक्कै छ । उहाँहरूकी एक मात्र सन्तान साथमा नहुँदा उहाँहरू चिन्तित पनि हुनुहुन्छ होला, तर भोलि त म पनि पुगिहाल्छु नि । आखिर नेपालमै म भए पनि कुनै जिल्लातिर काममा भएको भए पनि त काठमाडौँ पुग्न समय त लागिहाल्थ्यो । नेपालका कतिपय जिल्लाबाट त यति समयमा काठमाडौँ पुगिहाल्न सम्भव पनि हुँदैन । अझ त्यसैमाथि मौसमको खराबी त कहिले नेपाल बन्द जस्ता आन्दोलनका कारण पनि भनेको र साँचे जसो गन्तव्य पुग्न नै कहाँ सकिन्छ र ! मैले परदेशमा भएर बुवा–आमालाई आवश्यक परेका बखत साथै हुन नपाएको पीडालाई सान्त्वना दिनलाई पनि त्यस्तै, कुरा मनमा खेलाउँदै रहें । मनमा कुरा खेल्दाखेल्दै घर पुगेर छोरीको र आफ्नो सामान झोलामा हालेर ट्याक्सीलाई बोलाउन फोन गरें । समयमै ट्रेन चढेर एयरपोर्ट जाँदा नै दिनेशलाई फोन गरेर आफूलाई जानकारी भएको जति र नेपाल हिँडेको जानकारी गराएँ । योजनाअनुसार काठमाडौँ पुग्न त समस्या भएन । समय भने निकै ढिलो हिँडिरहेको र चाँडै पुग्नमा अतालिइरहेको छ ।

एयरपोर्टमा बाहिर निस्कनासाथ नेत्र दाइहरूसँग भेट भइहाल्यो । उहाँकै गाडीमा हामी सिधै अस्पताल जाने भनेर गाडीमा बस्यौँ । नेत्र दाइको अनुहारमा निकै उदासीनता थियो । रातभरि नसुतेको जस्तो अनुहार उडेको थियो । गाडीमा बसेपछि उहाँले भन्नुभयो ‘दिदी र भिनाजु अब यो दुनियाँमा हुनुहुन्न, तिमीलाई पहिला नै भनेको खण्डमा यात्रामा समस्या हुन्छ भनेर हामीले नभनेका हौँ ।’

मेरो भक्कानो भरियो । आँखाबाट सररर आँसु बग्न थाले । त्यो स्तरको समाचारको कुनै सम्भावना नै सोचेकी थिइनँ । हुन त एक्सिडेन्ट भन्नासाथ शङ्का त लाग्नुपर्ने हो तर म बढी सकारात्मक भएर पनि होला बुवाआमा गुमाउने सम्भावना सोचेकै थिइनँ । हुन त सोचेकै कुरा मात्र हुने पनि त होइन । छोरी पनि रुन थालिन् । एकछिन दाइले हामीलाई केही नभनी चुप बस्नुभयो । करिब १० मिनेटपछि भन्न थाल्नुभयो ‘शव टिचिङ अस्पतालमा छ । अस्पतालसम्म पु¥याउँदासम्म त दुवै जनाको श्वास थियो रे । रगत धेरै बगिसकेको रहेछ । म राति १० बजे अस्पतालमा पुग्दा मैले पनि श्वास भेट्न पाइनँ । एम्बुलेन्सबाटै बोल्न छाड्नु भएको रहेछ । घटनास्थलबाट एम्बुलेन्समा सिधै ल्याएका रहेछन् । होस छँदै भिनाजुले मेरो नम्बर पुलिसलाई दिनु भएको रहेछ । पुलिसले मलाई खबर गरेपछि म सिधै अस्पताल आएको हुँ ।’

मैले आफूलाई सम्हाल्ने प्रयास गरेँ । भरिएको मनले भने ‘जाऊँ अस्पतालमा’, स्वर पनि बल्ल बल्ल निस्किरहेको थियो । गाडी हिँडिरहेको थियो । मेरो मनले पुराना याद र अबका सामाजिक रितिरिवाजको अल्झनको विषयमा सोचिरह्यो । हामी गत वर्ष बेलायत जानेबेला बुवा र आमा एयरपोर्ट आएर बिदा गरेको समय सबैभन्दा बढी आँखा अगाडि आइरह्यो । सानादेखिका कुराहरू सम्झना आइरहेको छ । अरूलाई यस्तो पर्दा आफन्तजन साथीभाइहरूले सम्झाउने शब्दहरू नै अब कानमा गुञ्जिनेछन् भन्ने अनुमान गर्न थालें । परम्पराअनुसार छोराले शवमा आगो लगाउने सम्भावना थिएन, म त्यसको लागि पनि मन भित्रैबाट तयार भइसकेकी छु । पहिलेभन्दा परम्पराहरूमा अलिअलि सुधार त भएको छ । छोरी मात्र हुनेहरूले नै आफन्तको शवमा आगो लगाउने चलन समाजले सहजै स्वीकार गर्न थालिसकेको छ । तर, अझै थुप्रै संस्कारहरू इन्धनबाट चल्ने यन्त्रहरू प्रचलनमा नआउँदैदेखि चलनचल्तीमा रहेका छन्, कुनै पनि सुधार गरिएको छैन । हाम्रो चेतनास्तर र विज्ञानको जानकारीका सन्दर्भमा अनुचित पनि रहेका छन् । तर, यस्तो अवस्था भनेको संवेदनशील हुन्छ । न त विरोधै गर्न मिल्छ न स्वीकार गरेर पालन गर्न मनले नै मान्छ । यही कुरा मनमा खेल्दै गर्दा छोरी अलि रुन कम गरेकी थिइन्, रुन्चे स्वरमा भनिन् ‘प्यास लाग्यो’

हाम्रो गाडी पशुपति नाघेर दायाँ मोडिँदै चाबहिल तिरको ट्राफिकको हुलमा नियन्त्रित गतिमा अगाडि बढ्दै थियो । मैले बोकेको ब्याकप्याकको छेउबाट सानो बोतलको पानी नबोलीकनै छोरीलाई दिएँ । दुई घुट्की खाइन् । अनि भनिन् ‘घाँटीमा र नाक थुनिए जस्तो, श्वास फेर्न अलि असजिलो भइरहेको छ ।’ मैले पनि त्यो गाडीका धुवाँको असरले श्वास फेर्न अप्ठेरो अनुभव गरिरहेकी थिएँ । छोरीलाई पनि त्यही गाडीको धुवाँको असर परेको सहजै अनुमान गरेँ । अनि दाइलाई सोधँे ‘दाइ, गाडीमा एक्स्ट्रा मास्क भए दिनुस् है, यसलाई यो पोलुसनले श्वास फेर्न अप्ठेरो भएर होला’ ।

उहाँले एक हातले स्टेरिङ समाउँदै अर्को हातले गाडीको अगाडिपट्टि सामान राख्ने खाली ठाउँको ढक्कन खोल्दै मास्क खोज्न थाल्नुभयो । ट्राफिकको चापले गर्दा गाडी निकै विस्तारै विस्तारै गुडेकाले उहाँलाई हात लम्काएर मास्क खोज्न खासै गाह्रो त भएको थिएन । उता आँखा बाटोतिर पनि लगाउँदै मास्क खोज्दै भन्नुभयो ‘हुन्छ, मसँग डिस्पोजेबल मास्क हुने गर्छ, छ होला म खोज्दैछु ।’

पूर्व–तयारी गरेर नेपाल यात्रा गर्दा मैले बेलायतबाटै मास्क बोकेर आउने गर्थेँ तर यस पटक त हतारमा हिँडेकोले त्यो विषयमा त ध्यान पनि भएन । मन मलीन छ, बोल्न मनै लागिरहेको छैन । विचलित मन अस्पताल पुगेर प्राण नभएको शरीरै भए पनि आमासँग हामफाल्ने मन गरिरहेको छ । दाइले भन्न थाल्नुभयो ‘यस्तै हो, हामीले टार्न सक्ने भएन, काल आएपछि के लाग्छ र चित्त बुझाउनुपर्छ । तिमी पढेलेखेकी डाक्टर मान्छे हामीले सम्झाउनुभन्दा पनि तिमी आफैँ बुझ्ने छँदै छौ । तिमीले उहाँहरूको जीवन छँदासम्म सबै कुराले सन्तोष लगाएकै थियौ । के गर्ने प्रकृतिको नियम हो जन्मिएपछि एक दिन मर्न त परिहाल्छ । उमेर नभई जानुभयो ।’

अस्पताल पुग्दा आफन्तहरू धेरै जना जम्मा हुनुभएको रहेछ । महिला आफन्तहरू मलाई देख्नासाथ रुन थाल्नुभयो । मेरा रोकिएका आँसुहरू पनि उहाँहरूको समवेदनाका आँसुमा साथ दिन थाले । म रोक्न प्रयास गरिरहेँ तर रोक्नै नसकिने रहेछ, चिकित्सा विज्ञानको अध्ययन र कामका सिलसिलामा थुप्रै मृत्युहरूसँग सामना भए पनि आफ्नो मान्छेको सधैँको विछोड फरक पो हुँदोरहेछ । असामयिक त थियो नै वृद्ध भएकै बाबुआमा गुमाउनेहरूलाई पनि त पीडा त उस्तै त हुन्छ होला नि ! पुरुष आफन्तहरूमध्ये पनि कोही भने लुकाएरै आँसु पुछ्दै गरेको देखेँ । हाम्रो समाजले पुरुषहरूलाई रुने छुट नदिएकोले होला । महिलाहरूलाई सामाजिक मान्यताले रुने अधिकार मात्र होइन रुने जिम्मेवारी पो तोकेको जस्तो चलनअनुसार नै कुनै पनि महिलाको आँखा ओभानो भएको मैले देखिनँ । त्यही रुवाबासीको सिलसिलामा मुर्दाघरमा राखिएको शवमा पुगेर शव भेटियो । ती प्राण नभएका दुई शरीर मेरै बाबु आमाका थिए तर ती भावनाविहीन माटोसरी भइसकेका थिए । तर, ती शवमा पनि ऊर्जा त थियो क्यारे ! त्यसैले होला माटोसरी भएका ती शरीरसँग पनि भावना जोडियो भक्कानो फुट्दा रोक्नै नसकिने । ती आत्मा नभएका र मस्तिष्क नचल्ने शरीरमा चेतना नभएपछि मेरा लागि महत्व नहुनु पर्ने हो तर शरीरका ऊर्जा भने भावनासँग जोडिइराखेकोले होला छुट्टिँदो रहेनछ । चिकित्सा विज्ञानले अर्थहीन भइसकेका मानव शरीर तथा संस्कारले आगो लगाएर जलाइने ती शरीरले मेरा लागि छुट्टै अर्थ बोकिरहेका थिए । मेरो जन्मदेखिका घटनाक्रम कोही मलाई याद भइरहेका त कोही मैले बिर्सिसकेर पनि बुवाआमाले सुनाएका कारण मेरै सम्झनामा ताजा बनाइएका घटनाक्रमहरू मडारिन थाले । म रोइरहँदा पनि दिमागमा पुराना ती घटनाक्रमहरू एकपछि अर्को गर्दै दिमागमा खेल्न थाले । सायद उपस्थित परिवारजनहरूलाई पनि म रुँदा मन हल्का हुन्छ भन्ने थाहा थियो क्यारे मेरो रुवाइमा अलि बेरसम्म हस्तक्षेप गरिएन । म पनि खुलेर रुन पाएको र पुराना घटना दिमागमा खोतल्न पाएकोमा अनौठो आनन्द अनुभूति गर्दै छु । सबैभन्दा बढी त पछिल्ला घटनाहरू नै मनमा खेल्नु स्वाभाविक हो क्यारे, गत वर्ष बुवाआमा दुवै जना बेलायत गएका समयमा अझ बढी उहाँहरू छोरीसँग रमाएको र नातिनीको भविष्य तथा विदेशिएका नेपालीहरूको नयाँ परिवेशको भविष्यबारेको उहाँहरूको चिन्ता मनमा खेलिरहेछ । छिमेकीका केटाकेटीभन्दा हाम्री छोरीको नेपाली भाषा बोल्ने स्पष्ट कलाले उहाँहरूलाई सन्तोष पारेको थियो । नेपाली परम्पराका संस्कृति र संस्कारमा भएका कुरीतिहरूको आलोचक हुँदाहुँदै पनि बुवा कुरीति हटाउँदै लगेको तथा सुधारिएको नेपाली संस्कृतिको चाहना भएको पटक–पटक दोहो¥याउनु हुन्थ्यो । नेपाली संस्कृति त्यसमा पनि छोइछिटो प्रथा जस्ता कुरीतिहरूलाई छोड्न नचाहने सामाजिक मान्यताबाट उहाँ त निकै उदास हुनुहुन्थ्यो । कुरीति हटाउने सुधार गर्ने प्रयासमा स्वयं धर्मगुरुहरू नै उदासीन रहेकाले नेपाली संस्कृति र संस्कार विलुप्त हुँदै जान्छ भन्ने उहाँको मान्यता थियो । विद्युतीय ऊर्जाबाट चल्ने यन्त्रहरूको प्रचलन हुनुभन्दा पहिलाको समाजको आवश्यकतामा विकास भएका हुन् हाम्रा संस्कार भन्नु हुन्थ्यो । ती संस्कार र संस्कृतिहरू अहिले डिजिटल र साइबर प्रविधिले सुसज्जित हुँदा जुन परिवर्तन हुन पर्ने थियो त्यसमध्ये एक प्रतिशत पनि सुधार हुन नसकेको बरु कुरीतिलाई धार्मिक आड दिने फण्डाहरूलाई उहाँले दोषी मान्नु हुन्थ्यो । चन्द्रमा छुने लक्ष्मीप्रसाद देवकोटाको कवितालाई निकै दोहो¥याउनु हुन्थ्यो जसलाई उहाँले हाम्रो समाजले कल्पनाभित्र मान्यता दिन पनि छुट नदिएको अवस्था भन्नु हुन्थ्यो । तर, मानिस नै चन्द्रमामा पुगेको तथ्यलाई समेत हाम्रा पण्डितहरूले नपत्याएको उहाँका युवा उमेरका दिनलाई त उहाँ ठट्टा मान्नु हुन्थ्यो । आमाले गर्ने मूर्तिपूजा तथा पूजाकोठाको सजावटमा उहाँ रमाउनु हुन्थ्यो । आमाको आध्यात्मिक सोचमा कहिल्यै हस्तक्षेप गर्नु भएन । स्वस्थानी व्रतकथा पढ्न रोक्नु भएन तर त्यो कथाभित्रका अवैज्ञानिक तथ्यहरूलाई बुझाउने प्रयास गर्नु हुन्थ्यो । तर, आमालाई तर्कसँग मतलव थिएन, चलिआएको परम्परा अनुसारको पूजाले आनन्द दिएको भन्दै पूजाआजामा रमाउनु हुन्थ्यो । बुवाले आध्यात्मिक सोच वास्तविक नभएको र ज्ञानको कमीले अध्यात्मिक सोच जन्माउँछ भन्ने मान्यता राख्ने भौतिकवादी भएको मान्नु हुन्थ्यो, आफूलाई । आफूलाई ‘नास्तिक होइन अध्यात्मिक कट्टरता नमान्ने मान्छे हुँ’ भन्ने गर्नु हुन्थ्यो । उहाँले नास्तिकले धार्मिक आस्था राख्नेहरूलाई घृणा गर्छन् र संस्कार अपनाउँदा व्यवधान खडा गर्छन् तर ‘म आफूले धर्ममा तथा अध्यात्मवादमा विश्वास गर्दिनँ तर धर्ममा आस्था राख्नेको पनि आस्था अनुसारका गतिविधि अरूलाई नोक्सान नपु¥याउने गरी गर्न पाउनुपर्छ’ भन्नु हुन्थ्यो । मानिसको ज्ञानले उत्तर भेट्टाउन नसकेको सिमानाबाट ईश्वरको कल्पना सिर्जना हुन्छ भन्नु हुन्थ्यो । मानिसले उत्तर निकाल्न नसकेको तर्कबाट पन्छिनका लागि यो त ईश्वरको खेल हो त्यसैले हामीले उत्तर भेटिँदैन भन्ने हुनाले ज्ञानको सिमाना सकिनासाथ ईश्वरको अस्तित्व सुरु हुने मान्यता राख्नु हुन्थ्यो । उहाँले उदाहरण दिँदै हाम्रा पण्डितहरूले गर्ने तर्कबाट ज्ञानको परिधि नाघ्नासाथ अध्यात्म सुरुवात हुने तर्क पुष्टि गर्ने गर्नु हुन्थ्यो । जबसम्म टिबी (ट्यूबरक्लोसिस–क्षयरोग) को औषधि बनेको थिएन र उपचार नभएर मानिस मर्थे त्यस समयसम्म ईश्वरका अगाडि डाक्टर केही होइनन् भनेर पण्डितहरू तर्क गर्थे । टिबी रोग सञ्चो पार्ने औषधिले बिरामीहरू निको हुन थालेपछि ती पण्डितहरूले टिबी त मान्छेले ठीक पार्न थाले क्यान्सरको औषधि खै पत्ता लगाएको ? भनेर प्रश्न गर्न थालेछन् । उनीहरूले त्यो तर्कबाट अध्यात्मवादको पुष्टि गर्ने प्रयास गर्छन् । मानिसको ज्ञानको परिधिले क्षयरोगको औषधि पत्ता नलगाउँदासम्म पण्डितहरूले त्यहीँबाट ईश्वरको पुष्टि गर्थे, जब टिबीको औषधि बन्यो त्यसपछि ज्ञानको परिधि उनीहरूले विस्तार गरे र क्यान्सर रोगसम्मको परिधि तोके भन्ने तर्क गर्नु हुन्थ्यो । चन्द्रमालाई भगवान् भन्छन्, अझै पनि अर्घ दिन्छन्, पानी चढाउँछन् तर मान्छे त्यहाँ आउने जाने गर्न थालेपछि मानिसको ज्ञानको परिधिलाई अध्यात्मवाद पुष्टि गर्ने परिधि बढाएर पण्डितहरूले सूर्यमा मान्छे पुग्नै सक्दैनन् भन्ने, उहाँ भन्ने गर्नु हुन्थ्यो । सूर्य आगोको डल्लो भएकोले त्यहाँ मान्छे पुग्न सक्दैनन् भन्ने कुरा पण्डितहरूले बुझेर होइन चन्द्रमा भगवान भएको भन्ने तर्क फेल भयो भन्ने माने पनि सूर्य ठूला भगवान हुन भन्ने तर्क प्रस्तुत गर्नु पण्डितहरूको विश्वास हो भन्नु हुन्थ्यो । बरु उहाँले धर्मगुरुहरूलाई ज्ञानी पुरुष भन्ने प्रचलनको भने समर्थन गर्नुहुन्थेन । जहाँबाट ज्ञानको परिधि सकिन्छ त्यहीँबाट अध्यात्मको तर्क गर्ने हुनाले त्यस्ता व्यक्तिलाई ज्ञानी पुरुष होइन अज्ञानी व्यक्ति भन्नु पर्ने बुवाको तर्क हुने गथ्र्यो ।

आखिर धर्मको विषयमा फरक मान्यता राख्ने बुवाको अन्त्येष्टि पनि हाम्रो समाजले पालन गर्दै आएको हिन्दू संस्कारहरूकै आधारमा पूरा गर्नु पर्नेमा म विश्वस्त नै थिएँ । प्रविधि र सुविधाहरू जे जस्ता उपलब्ध भए पनि परम्परा धान्नकै लागि बाँस र कात्रोको पुरानो परम्परा दोहो¥याइयो । सबै आफन्तहरू आ–आफ्नो गक्षअनुसारको सेवामा जुट्नुभयो । समय सापेक्ष नरहेका संस्कारप्रति असहमति रहेका आफन्तहरू पनि उपस्थित हुँदाहुँदै पनि यो अवस्था भनेको संवेदनशील भएकोले पनि कसैले त्यस विषयमा तर्क नगरी आर्यघाट शव पु¥याउने र हामी पुग्ने काम सम्पन्न भयो । त्यसपछि आगो सल्काउने छोराको अनुपस्थितिले भने शब्दहरू फुट्न थाले । कानेखुसीहरू पनि हुन थाले । ती कानेखुसीहरू मैले सुन्ने गरी गरिएका थिएनन्, त्यसैले मैले अनुमान र अड्कल धेरै खालका गर्दै रहेँ । परिस्थितिलाई मूल्यांकन गर्दै उपस्थित समुदायमध्ये मेरो कुरामा साथ दिने व्यक्तिहरूको उपस्थितिलाई मध्यनजर गर्दै मैले आफैँले मुख खोल्न जायज ठानें र भनेँ–

‘दाग बत्ती कसले दिने भन्ने चिन्ता नगर्नुस्, म आफैँले दाग बत्ती दिन्छु ।’

नन्दराम पण्डित नै हाम्रो परिवारको संस्कारहरूमा सरिक हुने गर्नुहुन्थ्यो । बुवाले पूजापाठ नगरे पनि आमाले धार्मिक कार्यका लागि उहाँलाई नै बोलाउनु हुन्थ्यो । बुवाले पनि आमाको भावनाको कदर गरेर संस्कारहरूमा सरिक हुनुहुन्थ्यो । अरू कोही नभएको र हामी परिवार मात्र भएको अवस्थामा भने आमालाई हाम्रा संस्कारका कुरीतिका विषयमा सचेत गराउने प्रयास गर्नु हुन्थ्यो ।

तर, आमा भने ‘भगवान्ले दिएका छन् र सबै पुगिसरी हुँदै आएको छ, भगवान्ले दिएको पनि पितृ खुसी नभए जान्छ भन्छन्, त्यसैले पितृ कार्य गर्नुपर्छ’ भन्नु हुन्थ्यो ।

आमा पण्डितका सल्लाहअनुसारका पितृकार्य र पूजाआजाका लागि अड्डी कस्नु हुन्थ्यो बुवाको तर्क आमाका अड्डीका अगाडि परास्त हुन्थे । बुवाको मनले धर्मकार्य तथा पूजामा विश्वास नगरे पनि संस्कार पालना गर्नु हुन्थ्यो । आमाले लोकलाई देखाउन पनि संस्कार पालन गर्नैपर्छ भन्नु हुन्थ्यो । म मनले सधैँ बुवाको पक्षमा हुन्थें तर उहाँहरूको बीचमा बोल्ने आँट कहिल्यै गरिनँ ।

नन्दराम पण्डितले मेरो कुरामा असहमत हुँदै तर कूटनीति खेल्ने प्रयास गर्दै भने,

‘शास्त्रले त छोराले नै दागबत्ती दिने भनेको छ, तर आजकाल छोरीले पनि दागबत्ती दिने चलन त छ ।’

उनको भाव छोरासरह छोरीहरूलाई मान्यता दिनु हुँदैन भन्नेमा केन्द्रित थियो । छोराभन्दा छोरीलाई तल्लो स्तरमा राख्ने गरी रचिएका कर्मकाण्डका पक्षमा अड्डी कस्ने उनको प्रयास गलिसकेको भाव भने झल्कियो । कुरीति बचाउन नसक्ने तर बर्चस्व कायम राख्ने चाहना भइरहेको भाव नै उनका शब्द थिए । उनी कर्मकाण्डको कुरीति बचाउन मोर्चामा अघि बढ्न नसक्ने लाचारीपन बोकेका हाम्रो समाजका एक पात्र थिए । धादिङका अधिकारी बाहुनहरूले हलो जोत्ने आन्दोलन गरेर सहेका पीडाहरूको योगदानका कारण कट्टर पण्डितहरू कुरीति बचाउने मोर्चामा गलिसकेको प्रमाणका रूपमा बुझ्ने गरेकी छु, मैले । वि.सं. २००६ सालमा पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा २७ जना ब्राह्मणहरूले हलो जोत्ने अभियान चलाउँदा समाजमा ठूलो हलचल शुरु भयो । ती २७ जनामात्र होइन उनका परिवारले सामाजिक बहिस्कारको पीडा भोगेका थिए । विवाह गर्न केटी पाएनन् । धेरै दुःख पाए तर त्यो अभियानले सुरु गरेको रफ्तार झन्पछि झन् तीव्र हुँदैछ । उनीहरू गलेका छन् तर सुधारका कदम चालेर संस्कृति बचाउने बुद्धि उनीहरूमा पलाएको छैन, बरु यो संस्कृति मासिएला तैपनि पाखण्डीहरू कुरीति हटाउने सुधार गर्नुपर्छ भनेर अग्रसर हुनेवाला छैनन् भन्ने नै मेरो बुझाइ छ । मेरो बुझाइ निकट भविष्यमा गलत सावित भइदियोस् भन्ने त मेरो कामना मात्र हो ।

हाम्रा गाउँ पिताम्बर पनि त्यहीँ रहेछन् । उनले मेरो कुरामा साथ दिँदै भने,

‘समाज दुनियाँ कहाँ पुगिसक्यो, संविधानले छोराछोरी बराबर भनेर व्यवस्थासमेत गरिसकेको छ, अझै पनि दागबत्ती दिन छोरा नै हुनुपर्छ भनेर हुन्छ ? छोरा नभएको अवस्थामा छोरीले दागबत्ती दिने प्रचलन त चलिसकेको छ, बरु मित छोराले दागबत्ती दिने छोरीले नदिने कुरा पाखण्डी हुन्, यस्ता पाखण्डी कुरा गरेर हुँदैन ।’

हाम्रै गाउँका पिताम्बर वकालत पेसा गर्ने नामै चलेका वकिल हुन् । मैले आइएस्सी पढ्दा हाम्रो जिल्लाको पिकनिकको समयमा भेट भएको थियो, त्यसपछि भेट भएको थिएन । तर, उस्तै रहेछन्, कपाल फुलेर सेतै भएछ, अलि बूढा पनि देखिन थालेछन् । हाम्रा गाउँतिरका सबैले उनलाई अलि सम्मान पनि गर्ने गर्छन् । हाम्रा लागि उनी सम्मानित व्यक्ति हुन् । पञ्चायत विरुद्धको २०४६ को आन्दोलनका समयमा त हाम्रो गाउँमा उनी सबैभन्दा चर्का मानिन्थे रे ।

उनका कुराले मेरो समर्थन गरेपछि पण्डित नन्दराम पनि नतमस्तक भए । मलाई दागबत्ती दिने सामाजिक मान्यता पनि प्राप्त भयो । दागबत्ती दिने विषयमा त अझै हाम्रो समाजले छोरीलाई अझै पन्छाउने प्रयास गर्छ भने संविधानमा समानताका कुरा गरेको भनेर पिताम्बर काकाको भनाइअनुसारको समानता पूरै कायम हुन त केही पुस्ता नै कुर्नुपर्छ होला जस्तो भान भयो । हुन त पूर्वीय र पश्चिम जताको समाज भए पनि पुरुषहरूले विशेष सुविधाको अवसर त पाउने गरेकै छन् तर पनि पश्चिमा समाजको तुलनामा हाम्रो समाजले त झन् धेरै भेदभाव गर्ने गरेको छ । बुवाले त हाम्रो सामाजिक बनावटमा चाणक्य नीतिको प्रभाव भएको र राणा शासनको अन्त्यपछि मनुस्मृतिको सिद्धान्तको ठाउँमा कमन लिगल सिस्टमको नीति लागू गर्न थालिएको बताउनु हुन्थ्यो । म भने यी समाज विज्ञानका कुरा बुझ्नपट्टि खासै ध्यान दिन्थिनँ । तर, यी प्रचलन र सामाजिक नियमहरूले त सबैका दैनिकीमा हस्तक्षेप गर्दा रहेछन् त्यसैले लैंगिक समानताको लागि त नीतिगत सिद्धान्तको जरोसम्मै पुग्न जरुरी भएको अनुभूति हुँदैछ ।

जेनतेन एक चरण सकियो । दागबत्ती दिएर शव जलुन्जेल लामो समय हुँदोरहेछ । मनमा कुरा खेल्दै गर्दा फेरि मेरो अनुहार र शरीरसँग सबै मिल्दोजुल्दो भएकी मैले अपरेसन गरेलगत्तै नेपाल हिँड्न परेकी महिलाको विषयमा मन मडारिन थाल्यो । सत्य पत्ता लगाउने एउटा सम्भावना मेरै बुवाआमा हुनुहुन्थ्यो, उहाँहरू पनि यो दुनियाँमा हुनुहुन्न । अब मेरो जिज्ञासाको उत्तर उहाँहरूले कहिल्यै दिनुहुने छैन । उहाँहरूले रहस्य बताउन चाहेको भए त मलाई पहिला नै भन्न सक्नुहुन्थ्यो । तर, उहाँहरूले बताउन नचाहेरै नभन्नु भएको हो भन्नेमा त दुईमत नै छैन । तर, मेरो आशङ्का सबै झुट हुने पनि त सम्भावना छ नि । उनीसँग मेरो कुनै रगतको सम्बन्ध नै नहुन पनि त सक्छ नि ! तर, मेरा बुवाको पढाइको सिलसिला नेदरल्यान्ड्समा हुनु र उनी त्यहीँ हुर्के बढेकी हुनु । मेरो जन्म पनि नेदरल्यान्ड्समा हुनु । हामी दुवैको जन्म मिति एउटै हुनुले रहस्य बनेको तथ्यसँग मेरो रगतको सम्बन्ध जोडिने कुरा बताइरहेका थिए । तर, बुवा आमा नै अब नरहेपछि कसरी पत्ता लगाउने भन्ने चिन्ताले सताउन थाल्यो । बुवा आमाको विछोडको पीडामाथि अर्को चिन्ताको विषय थियो ती एम्मा नामकी महिलासँगको सम्बन्धको यथार्थ पत्ता लगाउनु । यता म अलि दिन अन्त्येष्टि संस्कारमा अल्झिने छु, उता त्यो डिएनए रिजल्टबाट तथ्य बुझ्ने मेरो प्रयास पनि त अन्योलमा रहने भयो ।

मनमा यो समय एम्माको विषयमा सोच्ने समय होइन भन्ने लाग्यो र बुवाका सम्झनाहरू सम्झिन थालें ।

मैले एसएलसी परीक्षाको तयारी गरिरहेको समय हो । ठ्याक्क दिन त याद भएन । आमा मामा घरमा नेत्रदाइको विवाहको तयारीका लागि जानु भएको थियो । त्यस दिन बुवाले चाउमिन पकाउनु भयो र दुई कचौरामा हालेर टेबलमाथि राख्नुभयो । एउटा कचौरामाथि एउटा अण्डा थियो, अर्को कचौरामाथि अण्डा देखिएन । बुवाले मलाई एउटा कचौरा रोज्न भन्नुभयो ।

हाम्रो दैनिकी बुवाको सरकारी जागिरको तलबले पु¥याउनुपर्ने हुन्थ्यो । घुस नखाने र नैतिकवान बन्ने बुवाको आचरणले गर्दा उहाँको कमाइ महिना धान्न पुग–नपुग नै हुन्थ्यो बुवाको कमाइअनुसार अक्कल झुक्कल मात्र अण्डा खाने अवसर जुथ्र्यो । दशैँ तिहार जस्ता चाडपर्वमा । अहिले जस्तो नयाँ वर्ष र भ्यालेन्टाइन जस्ता पर्व मनाउने त चलन नै थिएन ।

मैले सहजै अण्डा भएको कचौरा रोजेँ । जब हामीले चाउचाउ खान थाल्यौँ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिँदै खुसी हुँदै अण्डा खाएँ । आफूलाई खुब बाठी–चतुरे मानेँ । बुवाले चाउचाउ खाँदै जाँदा उहाँको कचौराको पिँधमा चाउमिनमुनि दुईटा अण्डा देखियो ! मलाई ज्यादै पश्चात्ताप भयो ! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफैँदेखि रिस उठ्यो ।

बुवाले मुस्कुराउँदै मलाई भन्नुभो— ‘प्रिय छोरी, तिमीले बुझ्नुपर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरूबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ ।’

अर्को दिन बुवाले फेरि चाउमिन पकाउनुभयो र दुई कचौरा टेबलमाथि राख्नुभयो— पहेलेजस्तै एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।

बुवाले मलाई भन्नुभयो, ‘अस्मिता, कुनचाहिँ कचौरा लिन्छ्यौ, रोज ?’

यसपटक म चनाखो भएँ । मैले कचौरामा अण्डा नदेखिएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउमिन खोतलेर हेरें । कचौराको पिँधसम्म रित्याउँदा पनि एउटा पनि अण्डा भेटिएन । बुवाले मुस्काराउँदै मलाई भन्नुभयो, ‘हेर छोरी, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकाहीँ जीवनले धोका दिन या छल गर्न सक्छ । तर, तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रूपमा ग्रहण गर्नुपर्छ । यो पाठ पाठ्यपुस्तकबाट सिक्न पनि सकिन्न ।’

बुवाले तेस्रो दिन फेरि दुई कचौरा चाउमिन तयार पारेर टेबलमा राख्नुभयो— एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बुवाले कचौरा टेबलमाथि राख्दै मलाई भन्नुभयो—‘छोरी, चाउमिनको एउटा कचौरा रोज, कुन चाहिँ कचौरा लिन्छ्यौ?’

त्यसपालि भने मैले बुवालाई भनें— ‘बुवा, कचौरा हजुरले रोज्नुस् । हजुर घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान हजुरकै छ ।’

उहाँले नाइनास्ती केही नगरी एउटा अण्डा भएको कचौरा आफूतिर तान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें— ‘पक्का पनि यस पटक मैले अण्डा गुमाएँ !’ तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिँधमा चाउचाउले छोपिएको दुईटा अण्डा देखेर म आश्चर्यमा परें !

बुवाले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो,

‘हेर छोरी, तिमीले बुझ्नुपर्छ । जब तिमी अरूको भलाइको बारेमा सोच्छ्यौ स्वाभाविक रूपमा तिम्रो पनि भलो हुनेछ ।’

त्यस दिनदेखि, मैले सधैँ बुवाले भन्नुभएका ती तीन कुरालाई जीवनमा अपनाउने गरेकी छु—मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरूको भलाइ सोच्छु ।

त्यही कुरा मनमा खेलाउँदै थिएँ, त्यत्तिकैमा नेत्र दाइको फोनको घण्टी बज्यो । उहाँले फोनमा कुरा गरेपछि म नजिक आएर श्वासै श्वा