सुवाससिंह पराजुली
सुवाससिंह पराजुली
गोविन्द बेल्वासेले लेख्नुभएको **‘एम्मा’** एउटा सुन्दर साहित्यिक कृति हो । यो कृति देश (नेपाल) छोडेर जाने प्रवासीको एकल जीवनसँगै जोडिन आउने परिवारको विरासतबारे बोल्ने **डायस्पोरिक** आवाज हो । अहिले पनि नेपालमा विदेश जाने धेरै अर्थ र कारणले प्रचलन जस्तै बनिसकेको छ । पहिलेपहिले विदेश जानु अध्ययन, लाहुर, ज्यालादारी काम तथा कोही सिपाहीमा भर्ती हुन जाने अर्थ लाग्थ्यो । अध्ययन र भ्रमणका निहुँमा विदेश जानेहरू पनि बढ्दै गए । भूमण्डलीकरणको जालोमा प्रविधि, यन्त्रले गाँज्दै लगेपछि जन्मदेश छोडेर बसाइँ सर्नेहरू पनि बढ्दै गएका हुन् । मैले यतिका विषयहरू उप्काउनुमा उपन्यास **एम्माले** बोल्ने भाषा र मर्मको पृष्ठभूमि दिने कोसिस हो ।
प्रवासमा रहँदा स्वदेशका रीतिरिवाजको निरन्तरता अनि लामो समयको अन्तरालमा स्वदेश फर्कंदा देखेका, भोगेका परिवर्तनको अनुभूति यस कृतिमा पाइन्छ । साथै आधुनिक समयको जगमा हुर्केबढेका सन्तानका व्यवहार वृत्तान्त र उनीहरूको सोच, जिज्ञासाका सबै पाटाहरूलाई खुल्ला किसिमले राखिएको छ ।
कुनै पनि परिवारको विरासत भनेकै पुस्तौनी रूपमा आएका संस्कार र घर, परिवारभित्रका प्रचलन र व्यवहारहरू हुन् । आउने पुस्ताका बारेमा तिनै व्यवहारले दिशा जनाउ गर्दछन् । अन्धविश्वास र मान्यताका घटनाहरू जो वैज्ञानिक छन् र तर्कसहितका छन् ती बाँच्दछन् नभए मर्दछन् भन्ने कुरा यस कृतिले छर्लङ्ग देखाएको छ । नेपाली समाजमा प्रचलित चाहे त्यो ब्रतबन्ध होस् वा महिनावारी, जीवन र मृत्युसम्मका क्रियाकर्महरू यी सबैको वकालत यसले गरेको छ । ती संस्कारलाई नयाँ तर्क र नयाँ पुस्ताले बुझ्ने भाष्य बनाएर लेखक बेल्वासेले लेखनमा सरल शैलीमा अप्ठ्यारा कुराहरू बताउनुभएको छ । श्रद्धाकर्मका बारेमा उल्लेख गर्दै डार्विनको विकासवादलाई मान्ने कि, धर्मले ल्याएको ईश्वर, आत्मा, परमात्मालाई मान्ने ? यसखाले तुलनात्मक तराजु लेखकले पुस्तकका धेरै ठाउँमा देखाउनुभएको छ । नेपाली समाजको मेसोलाई लिएर बेलायतमा बसोबास गरिरहेका प्रायः सबै विधाका व्यक्तिहरू यसमा अटाएका छन् । साथै नेदरल्यान्डदेखि नेपालको तौलिहवासम्मका कुरा पनि जोडिएर आएका छन् ।
**एम्माको** सबल पक्ष भनेको, समकालीन समयमा प्रायः सबैले बाँचिरहेको समय हो । विशेषतः प्रवासमा रहेको परिवारको कथा यसमा छ । साइकल चढेर आफूले बाँचिरहेको समयबारे बोल्ने **एम्माको** भाकामा उसको सुस्केरा मात्र नभई उसको प्रेमीको प्रेम मिसिएको छ । मावलीघरका हजुरबाको अर्ति मिसिएको छ । घरमा मर्दापर्दा आउने किरियाकर्मको पोको फुकाइँएको छ । पिताम्बर काकाको प्रवेश, दिनेशको सान्त्वना, नेत्रदाईको नजरियाले विषयलाई फराकिलो बनाएको छ । अहिले खैरो चकलेटी रङ्ग पाएको नेपाली **पासपोर्टको** हरियो कहरकथा र रातो **पासपोर्टले** संसारका कुनै पनि अध्यागमनमा सुललित बनाउने वातावरणको जिकिर यहाँ गरिएको छ । चिकित्सा क्षेत्रभित्रका गूढ संरचना र नागरिकता प्राप्तीसम्बन्धी नेपाली कानुनका विषयमा बेल्वासेजीले उल्लेख गर्नुभएको छ । आफैँ पनि कानुनको विद्यार्थी र विषयमा अब्बलता भएकोले कानुनका प्रसङ्गहरू पारदर्शी किसिमले बुझिने खालका छन् । व्याख्या तर तर्कना व्यवहारिक हुने नै भयो । पुस्तकले नेपालबाट बेलायतसम्मको सोझो यात्रा गरे पनि बृहत्तम भ्रमण भने अवश्य गराउँछ । पढ्दै जाँदा कल्पना कल्पना जस्तो तर फेरि लगत्तै चित्रात्मक लेखन जस्तो विस्तृत विवरणात्मक ज्ञानको खुराक कृतिले दिएको छ ।
सन् २०२३ मा प्रकाशित गोविन्द बेल्वासेद्वारा लिखित शीर्षक मिल्दो कृति **एम्मासँग** सन् १८१५ मा प्रकाशित जेन अस्टिनको उपन्यास **एम्मा** विश्वसाहित्यमा चर्चित कृति हो ।
काल्पनिक गाउँको व्याख्या गरिएको शताब्दीऔँ पुरानो **एम्मामा** पनि पारिवारिक सम्बन्धका बारेमा चित्रण गरिएको छ । युगीन **एम्माले** त्यसबेलाको समाजको बोध गराउँछ भने यो **एम्माले** मूलतः नेपाली परिवारको गाथा र बेलायती भूमिमा भोगेका उतारचढावहरूका बारेमा जानकारी गराउँदछ । मूलतः प्रवासमा रहनेहरूका लागि कृति सुरुचिपूर्ण लाग्न सक्छ । कतिपय दिनचर्या र बाँच्ने शैलीका आधारमा पनि बदलिँदो विश्वसँग मुखरित भइरहेको बेलायती समाजमा अन्य देशबाट आउने परिवारको घटना पनि मिल्न जान्छ ।
<
© www.amaaba.org