Blog Details

Govind Belbase Govind Belbaseपुरानो ब्लगबाट
1.0

सांस्कृतिक विविधता र आत्मनिर्णयको अधिकार

गोविन्द बेलबासे Published on Kantipur Daily, 26 December 2003

Text Reader Controls

1.0
1.0
1.0

सामान्य प्रशासनमन्त्री बुद्धिमान तामाङको अध्यक्षतामा बसेको प्रशासन सुधार समितिको बैठकले गत साता प्रशासनमा महिला, दलित र जनजातिलाई आरक्षण दिने प्रस्तावसहितको शासकीय सुधार मार्गचित्र पारित गरेको छ । असारभित्र मन्त्रिपरिषद् सचिवालयले संवैधानिक निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने र चैत्रसम्ममा सम्बन्धित कानुन संशोधन गरी प्रशासनमा महिलाका निम्ति २०, दलित १० र जनजातिका लागि ५ प्रतिशत आरक्षणको व्यवस्था गर्ने प्रश्ताव अघि सारेको छ । यस प्रस्तावले नेकपा -माओवादी) का तर्फाट प्रस्तुत प्रस्ताव र कार्यसूचीका सम्बन्धमा सरकारको धारणासहित राज्यप्रणालीमा अग्रगामी सुधारसम्बन्धी अवधारणामा उल्लेख गरिएको आरक्षणको व्यवस्थाबारे चासो देखाएको हुनसक्छ ।

आत्मनिर्णयको अधिकार राष्ट्रियताको भावनाको विकासक्रमको उपज हो । आत्मनिर्णयको अधिकार भनेको प्रत्येक नागरिकको सामूहिक चाहनाको कदर गर्दै स्वतन्त्रतापूर्वक आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास र राजनीतिक व्यवस्थाको निर्णय गर्ने अधिकार हो । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रस्ताव १९६६ को धारा १ ले सबै नागरिकलाई आत्मनिर्णयको अधिकार भएको स्वीकार गर्दछ । त्यही अधिकारका आधारमा उनिहरूले स्वतन्त्ररूपमा आर्थिक सामाजिक र सांस्कृतिक विकास र राजनीतिक अवस्थाको निर्धारण गर्छन् ।

यस अधिकारको अवधारणाअनुसार नागरिकहरू आफ्नो प्राकृतिक सम्पदा र स्रोत बाह्य आर्थिक सद्भावअनुसार सामूहिक फाइदाका लागि पूर्वाग्रहविना उपभोग गर्न स्वतन्त्र हुन्छन् । यो अधिकार प्रत्येक घर परिवारका सदस्यदेखि लिएर विश्व समाजमा प्रत्येक राष्ट्रको अधिकारको हदसम्म विस्तार भएको हुन्छ ।

पिछडिएका र पीडितमात्र होइन अपहेलित जनजातिको रूपमा रहेका अछूत जातिलाई भारतको संविधानमा विशेष आरक्षणको व्यवस्था सुरुमै गरियो । संविधानमा त्यो व्यवस्था गर्नुको पछाडि डा. अम्बेडकरको मुख्य भूमिका रह्यो । उनी स्वयं अछूत जातका थिए र उनले उक्त जातिको प्रतिनिधित्व संविधान निर्माण गर्ने टोली प्रमुखका रूपमा गरे । तर, त्यस संवैधानिक प्रावधानको आरक्षणको प्रावधानले आधा शताब्दी पार गरिसकेर पनि भारतीय अछूतहरूको उत्थान हुनसकेको छैन र अधिकांश अछूतहरू उत्पीडित र अपहेलित भएरै बाँचेका छन् । आधा शताब्दीमा पनि समस्या कम गर्न नसकेको डा. अम्बेडकरको आरक्षणको परिकल्पनालाई असफल मान्नु नै पर्छ । त्यो असफलताका पछाडि विभिन्न कुराले भूमिका खेलेको छ र 'आरक्षण व्यवस्था' आफैमा खराब भन्न मिल्दैन र त्यसको सफलताका लागि अन्य आवश्यक संरचनाले संवैधानिक प्रावधानलाई टेवा पुर्‍याउन नसकेको हुँदा असफल हुन गएको छ । त्यसैले आरक्षणको व्यवस्था नै हटाएर होइन, त्यसलाई टेवा पुर्‍याउने र उत्पीडितको उत्थानको नेत्रृत्व उनीहरूकै प्रतिनिधिबाट हुने व्यवस्थाको परिकल्पना आवश्यक छ । त्यसका लागि उनिहरूलाई स्वायत्तता र आत्मनिर्णयको अधिकार प्रदान गर्नु आवश्यक छ ।

नेपाल अधिराज्यको सविंधान २०४७ का धेरै प्रावधानहरूको आलोचना अहिले व्यवहारतः प्रमाणित भएको छ । खास त त्यसको प्रमुख कारण सत्ता सम्हाल्नेहरूमा सद्भावको अभाव नै हो । विकेद्रीकरणको अवधारणालाई पनि सत्तासीन पार्टीले सिद्धान्ततः स्वीकार गरेर कानुन पनि बनेकै हुन् । तर, यी सबै कुराको असफलताले माओवादी जनयुद्ध बेहोर्न मुलुक बाध्य हुनुपर्‍यो ।

निकासको माध्यम जे बने पनि उत्पीडित, पिछडिएका, अछूत मानिएका जनजातिहरूको उत्थानबिना समाधान सम्भव छैन । न त जवान छोराछोरी विदेश जानाले ९० प्रतिशतभन्दा बढी जनता निर्भर मानिएको देशको खेतबारी बाँझो राखेर बेसाहा खाएर नै देश उँभो लाग्छ । त्यसैले आजको प्रमुख प्रश्न भनेको राजनीतिक प्रक्रियाबाट निक्र्यौल गरिने अग्रगामी निकासको परिकल्पनाले तल्ला जनजाति, वर्ग, तप्का र अछूतहरूको स्वायत्तता र मात्मनिर्णयको अधिकारलाई स्वीकार गर्न सक्छ कि सक्दैन भन्ने हो ।

जुलाई ८, १९७० मा अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले उत्पीडित र अपहेलित अल्पसंख्यक अमेरिकी आदिवासी रेड इन्डियनहरूको उत्थानका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको सहायता र सहयोगबाट समस्या समाधान हुन नसकेको स्वीकार गरे । संघीय सरकारको सहायता र उत्थान कटौतीले उनीहरू झन उत्पीडित हुने बताउँदै निक्सनले उनीहरूको उत्थानका लागि स्वायत्तता र आत्मनिर्णयको अधिकारको निर्देशन अमेरिकी काङ्ग्रेसका लागि जारी गरेका थिए । आदिवासीलाई संघीय सरकारले सहायता गर्नुपर्छ भन्ने कुरामा विवाद नरहेको र त्यो सहायता प्रभावकारी हुनका लागि आदिवासीहरूकै नेतृत्व र सहभागिता आवश्यक हुने कुरामा राष्ट्रपतिले स्पष्ट हुन जरुरी भएको बताए ।

खुला प्रतिस्पर्धात्मक अर्थ-व्यवस्थासहितको संसदीय प्रणालीअर्न्तर्गत परिकल्पना गरिएको प्रजातन्त्रमा होस् या समाजवादी प्रणालीअर्न्तर्गत परिकल्पना गरिएको प्रजातन्त्रमा होस् यी दुवै प्रणालीमा पिछडिएका, जनजाति वर्ग र तप्काको उत्थानका लागि उनीहरूको स्वायत्तता र आत्मनिर्णयको अधिकारलाई स्वीकार गर्नुपर्ने कुरा अमेरिकाका निक्सन र रुसका लेनिनको आत्मनिर्णय सम्बन्धी अवधारणाले मात्र होइन, संयुक्त राष्ट्रसंघको बडापत्रले समेत स्वीकार गरेको छ । बडापत्रको धारा १ को उपधारा २ र धारा ५५ को उपधारा १ ले नागरिकलाई आफ्नो राज्य स्थापित गर्ने वा भइराखेको राज्यअर्न्तर्गत स्वतन्त्रपूर्वक संगठित हुन पाउने अर्थमा आत्मनिर्णयको अधिकारलाई परिभाषित गर्दछ । साथै धारा ७३ को ए र बी र धारा ७६ को बी अनुसार प्रशासनिक निकायबाट आश्रति क्षेत्रलाई स्वायत्त शासन र राजनीतिक विकासको प्रयाप्त मौका दिनुपर्दछ ।

आत्मनिर्णयको अधिकार र स्वायत्तता जनजातिलाई प्रदान गर्ने अवधारणाले देश टुक्रने र अखण्डतामा आँच आउँछ भनेर जिकिर गर्नेहरूले विश्व समुदायको दस्ताबेजको भावना र प्रगतिशील भनिएका राजनीतिक पद्धतिमा स्वीकार गरिएको अवधारणालाई अस्वीकार गर्ने कुनै आधार छैन । परिवारका सदस्यको छुट्टाछुट्टै इच्छा र निर्णयको अधिकारको बीच सामूहिक चाहनाको कदर गरेर परिवार बन्दछ, प्रत्येक घर परिवारको छुट्टाछुट्टै स्वतन्त्रता र आत्मनिर्णयको अधिकारको बीचमा सामूहिक चाहनाअनुरूप गाउँ बन्दछ । प्रत्येक गाउँको छुट्टाछुट्टै स्वतन्त्रता र आत्मनिर्णय बीचमा सामूहिक चाहनाअनुरूप जिल्लाजिल्लाको सामूहिक चाहनाअनुरूप क्षेत्र र क्षेत्रहरूको सामूहिक चाहनाअनुरूप राज्य र राज्यहरूको सामूहिक चाहनाअनुरूप राष्ट्रमण्डल बन्दछ । मुख्य कुरा भनेको सामूहिक चाहना सद्भावमा आधारित हुनु हो ।

एउटा परिवारभित्रका सदस्यहरूको सामूहिक चाहना मिलेन भने परिवार छुट्टिन्छन् र भिन्नै बस्न थाल्छन् । परिवारिक सम्पत्ति विभाजनले उनीहरूको प्रगति बाधक बनेको हुँदैन । तर, परिवारका सामूहिक चाहनामा सहमत हुन नसक्ने सदस्यलाई जबर्जजस्ती थिचोमिचो गरेर छिमेकीलाई मेरो ठूलो परिवार भनेर देखाउँदैमा त्यो परिवारको विकास हुँदैन । घर र भान्सा छुट्टिए पनि पुरै गाउँलेको सामूहिक चाहनामा परिवारको विकास हुने गर्दछ । जबर्जस्ती दबाएर मातहतमा राखेर होइन अनेकतामा स्वतन्त्र एकताको सद्भावका आधारमा बन्ने समूहद्वारा सभ्य समाजको सिर्जना हुन्छ । हाम्रो सामाजिक नियमअनुसार नै सबै जनजाति, वर्ग, तप्का, भाषाभाषीलाई स्वायत्तता र आत्मनिर्णयको अधिकार प्रदान गरेर सामूहिक चाहनामा आधारित राष्ट्रको रूपमा प्रशासनिक निर्णयको आधारशिला बनाउनु वर्तमान अन्तर्विरोधको अग्रगामी निकास हुनसक्छ ।

-अधिवक्ता बेलबासे हाल लन्डनमा कार्यरत छन् ।)