दोस्त सोध्धेः - Blog Details

Blog Details

  • Home
  • Blog
  • दोस्त सोध्...
दोस्त सोध्धेः
मोहर्रमको ढोलकको रौनकमा रमाउने म, हिन्दू परिवारको सन्तान । त्यो कर्बलामा बतासा खाँदै रमाउन जान्थें, र मुसलमान साथीहरूले ‘पान खाइबो’ भनेर मलाई सत्कार गर्थे ।

दोस्त सोध्धेः

01 Aug, 2026

Text Reader Controls

1.0
1.0
1.0
Loading voices...

दोस्त सोध्धेः "पान खइबो ?"


पचास वर्ष नाघेकाहरूलाई मात्र मैले लेख्न लागेका यी कुरा सहजै विश्वास लाग्लान् । त्योभन्दा कम्ति उमेरकालाई विश्वास नलाग्न पनि सक्छ । तर, म यहाँ साढे पाँच दशक अघिका आफ्नै भोगाइलाई उतार्दै छु ।

यो विषय त्यही बाटोको हो, जहाँ सिद्धार्थ गौतमले घोडा चढेर हिँडेका थिए । ती डगरमा घोडाका टापले धुलो उडाएका थिए । यो त्यही रोहिणी खोलाको कथा हो, जहाँ उनले पौडी खेलेका थिए । आज जसलाई रामघाट भनिन्छ, त्यसै नदीमा मैले पौडी सिकेको हुँ ।

विक्रम सम्बत् २०२७ सालको तराईको जीवन आज पनि मेरो आँखा अगाडि झल्झल्ती आउँछ । त्यो जीवन शैली कमसेकम तीन हजार वर्षदेखि उस्तै थियो । प्रविधि र गाउँलेको दिनचर्या त्यतिवेला पनि उस्तै थियो । हो, म सानो छँदा आकाशमा प्लेन उड्थे, भारतमा रेल दौड्थ्यो, कतै मोटर पनि चल्थ्यो । रुस र अमेरिका अन्तरिक्षमा पुगिसकेका थिए, र त्यही वर्ष उत्तर अमेरिकामा मानिसहरू अपोलोमा चढेर चन्द्रमा पुग्ने तयारीमा थिए ।

यी आधुनिक प्रविधि बुद्धको समयमा थिएनन् । मेरो त्यो बचपनमा ती प्रविधि अन्त प्रचलनमा भएपनि हाम्रा दैनिकी बुद्ध कालको प्रचलनका भन्दा खासै फरक थिएनन् ।

हाम्रो गाउँमा ती प्रविधिले कुनै असर गरेको थिएन । हो, केही दशक अघिदेखि मट्टितेल गाउँमा आइपुगेको थियो । एकाध् घरमा मात्र भएपनि, लाल्टिन र ढेबरी बल्न थालेका थिए । तैपनि, अधिकांश घरमा ढिकीको कक्कल-ढ्याकको आवाज बिहान र बेलुका बजिरहेको हुन्थ्यो । ती ढिकी बुद्धको समयमा पनि त्यसरी नै उछारिने र पछारिने गर्थे ।

एउटा कुपर कम्पनीको एक पिस्टनवाला इन्जिनको धुँवाले पुकपुक गर्दा त्यो आवाज छ-सात गाउँ परसम्म सुनिन्थ्यो । त्यो मीलको इञ्जन चिस्याउने पानी टेङ्कीमा पानी झर्थ्यो । छेउको धुवाँ निस्कने पाइपमा झुण्डिएको लोटाबाट पुक्पुक गर्ने आवाज चर्को गरी निस्कन्थ्यो । हाम्रै गाउँमा तेल पेल्ने र पीठो पिस्ने मेसिन सात वर्ष अघि नै चल्न थालेको थियो, तर कम्तीमा तीस किलोमिटरको परिधिमा त्यो एउटै मात्र थियो । अर्थात्, इन्जिन गाउँको नजिकै आइपुगेको थियो, तर जीवन शैलीमा त्यसले खासै हस्तक्षेप गर्न सकेको थिएन ।

आज अन्तरिक्षमा ‘होलिडे’ मनाउन जानेहरूको कुरा सुन्दा त्यस्तै लाग्छ । ती प्रविधिहरू प्रचलनमा त थिए, तर सर्वसाधारणको जीवनमा थिएनन् । अन्तरिक्ष ‘होलिडे’का समाचार पढ्नु र ती मेसिनको आवाजमा गाउँलेहरू छक्क पर्नु दुवैको स्तर उस्तै थियो ।

साना खोला, कुलो र नालाहरूमा मात्र पुल, धुरुवा र साँघु थिए- ती पनि काठका । धेरै ठाउँमा पुलै थिएनन्, केवल कच्ची सडक र नदीहरू । बर्षाको बाढी आएपछि या त डुङ्गा चढ्नुपर्थ्यो, नत्र पानी घटेपछि मात्रै पार गर्न सकिन्थ्यो । असारदेखि गोरु गाडा (लडिया) चल्नै छाड्थे । पानी र घामले गलाउँछ भनेर चक्का खोलेर र जुवा फुकालेर गोठको छेउमा सुरक्षित पारिन्थ्यो । त्यतिवेला तिनीहरूले खासै ठाउँ पनि ओगट्दैनथे ।

ती लढ़िवान गोरुहरू हौदी (गोरुलाई खाना- घाँसपराल दिइने काठ काटेर बनाएको भाँडो) मा सानी (मसिनमा काटेर (भुस,घाँस र खलि, दालको चोकर मिसाएर गाई-गोरुलाई दिइने खाना) खाएर नथिया र डोरीको तालमा हेंगाल तार्न खटिन्थे भने साना गोरुहरू काठको डुँडको भुसा खाएर हलो तान्थे । दिउँसो र साँझ झारपात चर्थे । किसानहरू वर्षका केही महिना व्यस्त हुन्थे, र त्यही व्यस्तताले नै उनीहरूको वर्षभरिको खानपानको जोहो गरिदिन्थ्यो ।

मंसिरसम्म असहन धान खलामा आइपुग्थ्यो । खरिहान पहेँलो हुन्थ्यो । जडहन धान अलिपछि पाक्छ । तोरीलगायत हिउँदे बाली लगाइसक्दासम्म बाटो पनि सुकिसकेको हुन्थ्यो । त्यसपछि हरेक गाउँका बासिन्दाले आफ्नो सीमानासम्म बाटो मर्मत गर्थे । धुरुवा र पुलपुलेसाका काठहरू ठोकठाक पारिन्थे । बर्षाको पानीले गोरु गाडाका चक्काले बनाएको डोबको धुलो बगाएर लगेको हुन्थ्यो । माथिको धुलो गए पनि पानीले भिजेको गह्रौं माटो थिग्रिएर टाँसिएको हुन्थ्यो । हरेक वर्ष बाटो मर्मत हुन्थे ।

मंसिरदेखि गोरु गाडा फेरि गुड्न थाल्थे । तिनका चक्काको च्वाइँ-च्वाइँ आवाजले बटुवाहरूलाई आनन्दित पार्थ्यो । गोरुका घाँटीमा झुण्डिएका घुँघुरुको झन्कार र तेल दलेर चिल्ल्याइएका तिनका सिङहरू चम्किला देखिन्थे । ती सबैले सौन्दर्यशास्त्रको महत्व त्यतिवेला पनि रहेको थियो भन्ने कुरा बताइरहेका हुन्थे ।

त्यही बाटो मर्मत भएपछि अक्कल–झुक्कल मोटर पनि गुड्न थाल्थे । सिडियो अफिसका रुसी जीपहरू गाउँमा कहिलेकाहीँ आइपुग्थे । तिनले उडाएको धुलोमा पेट्रोलको इमिसनको गन्ध मिसिएको हुन्थ्यो । गाउँका केटाकेटीहरू त्यही धुलो पछ्याउँदै दगुर्थे । कसैले धरो मात्र लगाएका हुन्थे । कन्धनीमा ती धरो झुण्डिएको हुन्थ्यो । आमाको सियोले तुनिएको छिटका कपडाका लेहँगामा बेरिएका केटी नि’ त्यो भिडमा मिसिएका हुन्थे ।

भारतीय सेनाबाट विदामा घर फर्कने लाहुरेहरू बोक्ने मोटर पनि गुड्थ्यो । सदरमुकामदेखि पहाडको खोचसम्म हिउँदमा मात्र पुग्थ्यो मोटर । धुलो उडाउने ती हरिया गाडीको घ्यार-घ्यार सुन्नु नै अनौठो थियो । भारतीय सेनाले लिलाम गरेका पुराना सवारी साधनलाई नै ‘वन टन गाडी’ भनिन्थ्यो । दस क्विन्टलको एक टन हुन्छ भनेर तिनको क्षमता बुझाइन्थ्यो । रिटायर भएर फर्कने लाहुरेहरूको हरियो गुण्टा र टिनका बाकसहरू, ती गाडीको छतको बारमा धुलोले रङ्गीचङ्गी भएका हुन्थे । उनीहरूको यात्रा र बिदाको समय सामान्यतया हिउँदमै पर्थ्यो । बर्षाको खोला बाढी र असहज बाटो छल्ने उपाय खोजिन्थ्यो ।

तर, मानिसले सोचेजस्तो सधैं मिल्दैन थियो । बर्षामा घर फर्किने लाहुरेहरूले भने घोडामा बाकस र गुन्टा बोकाएका हुन्थे । सदरमुकामसम्म टाँगा (घोडाले तान्ने गाडा) वा जीपमा भारतको रेल स्टेसनबाट आउँथे । अनि खोला–खोल्सामा बुट, पाइन्ट र मोजा खोलेर तर्दै गरेका भेटिन्थे । मलायाका लाहुरेहरू त टेप रिकर्डरसमेत ल्याउँथे । लाहुरे गाउँमा पस्नेबित्तिकै पहाडका साहुहरू सल्बलाउँथे । कसको खेतबारी कहाँ किनबेच गर्ने भन्ने चहलपहल लाहुरेको आगमनसँगै मात्र सुरु हुन्थ्यो ।

तराईका ठूला धनाढ्यहरू हात्ती चढ्थे । तर काठका साना पुलपलेसाले हात्तीको भार थेग्न सक्दैनथे । त्यसैले माउतेले हात्तीलाई खोल्सा र कुलामा धुरुवा–पुलको छेउबाट पार गराउँथे । ती हात्तीका फराकिला पैतालाले छेउ-छाउका बाली लगाएका गहरामा गहिरा डोब पारिदिन्थे ।

हाम्रो गाउँको दक्षिणपट्टि केही पर मुसलमान गाउँहरू थिए । दश किलोमिटर दक्षिणमा चौरी भन्ने गाउँ छ । त्यहाँका जिमिन्दार अलि रजाको पनि हात्ती थियो । उनले हात्ती किन्ने वेला मेरा बुबासँग उधारो लिएका रहेछन्, र समयमै पैसा फर्काएका थिए । त्यो मित्रता बढ्दै गयो, र त्यो हात्ती हाम्रो निम्ति पनि यातायातको साधन बन्न थाल्यो । माउते बढुवाले चइ-अगत भन्थे । हात्ती अगाडि बढ्थ्यो, र हामी हात्ती माथि बसेर लचक–लचक हल्लिँदै यात्रा गर्थ्यौं ।

बुबाका अलि रजाजस्ता अरुपनि धेरै मुसलमान साथीहरू थिए-कसैसँग गहिरो चिनजान, कसैसँग सामान्य । त्यो पैदल यात्राको युग थियो । घोडा र हात्ती धनाढ्यहरूका लागि मात्र उपलब्ध थिए, र मोटर त आज अन्तरिक्षमा ‘होलिडे’ मनाउने टाइकुनहरूको साधनजस्तै थियो ।

टन्टलापुर घाममा पैदल यात्रा गर्ने बटुवाहरू बाटो छेउका कुनै घरमा पस्थे । चिनी, गुण (भेली) र कहिलेकाहीँ बतासासँगै पानी दिने चलन थियो । हामी पनि यात्रामा निस्कँदा आफन्त नभए अरू कसैको घरमा पसेर त्यसरी नै सत्कार पाउँथ्यौं । त्यो समाज त्यस्तै मिलेर बसेको समाज थियो । खेतीपातीका कुरा धेरै, चाडपर्वका कुरा अलिअलि, र चुनाव आउँदा मात्र राजनीतिका कुरा पनि सुनिन्थे । गोरु, गाई र भैँसीको मोलभाउ र खेती योग्य वर्षाको वार्तालाप नै मुख्य हुन्थ्यो ।

मुसलमान गाउँतिर बकर-इदको खसीको चर्चा र रौनक पनि मेरो बाल्यकालको रोचक हिस्सा थियो । इदमा दूधमा पकाएको सेवइ र दिवालीमा मिठाइका डिब्बा आदानप्रदान गर्ने बजारका बासिन्दाको रवाफिलो चलन थियो । हिन्दी सिनेमाको प्रभावसँगै सन्तोषी माताको पूजा पनि थपियो । यी सांस्कृतिक परिवर्तनहरू नै मेरो बाल्यकालका अनुभूति हुन् ।

आज सम्झँदा मलाई निकै नियास्रो लगाउँछ, त्यो गाईको लस्करको यादले । बिहान सबेरै हरेक गोठको तगारो खुलेपछि निस्केका बथानले बाटो भरिन्थ्यो । हाम्रो गाउँ सात सय घरधुरीको ठूलो गुचुप्पको थियो । अहिले झन् धेरै घर बनेका छन् । ती टाटी र माटाका भित्तामा खरको छानाको ठाउँमा अहिले पक्की घर बनेका छन् । बाह्र फिट फराकिलो बाटोमा ती गाई, गोरू, बाच्छा–बाच्छीको बिहानै लस्कर जान्थ्यो ।

यिनको बथान १०-१२ मिनेटसम्म नदीको पानीजस्तै बाटोभरि बग्दै घोराही नाला पारिको गौडीमा थुप्रिन्थे । साँझको गोधुलीमा तिनै खुरले धुलोको बास्ना छर्दै, उस्तै गरी बगेजस्तै फर्किएर गोठभित्र पसिहाल्थे, र तगारो सरेर फलेकको प्वालमा पस्थ्यो । उनीहरू त्यहाँ थुनिन्थे । गोधुली साँझमा तिनले उडाएको धुलो स्वर्णिम लाग्थे ।

एकपटक अलि रजाका छोरासँगै बिहेको निम्तोमा म पनि गएको थिएँ । उनैको हात्तीमा फर्कँदा रात परिसकेकाले उनकै घर बस्नुपर्यो । म हिन्दू परिवारको ठिटो, मुसलमानले छोएको हामी नखाने, उनीहरूले पनि नदिने चलन । त्यसदिन नयाँ कुरा थाहा पाएँ ।

मुसलमान गाउँमा पनि धनाढ्यहरूले कम्तीमा दुई हिन्दू परिवारको बसोबास मिलाएका हुने रहेछन् – एउटा भुजा भुट्ने भारको परिवार र अर्को कुनै अहिर वा अरू कुनै हिन्दू । त्यो साँझ ती हिन्दू अलि रजाको घरमा बोलाइए, र उनले आँगनको कुवा (इनार) बाट पानी भरेर मलाई खुवाए । त्यो सौहार्द र एकता कायम गर्ने चलन अहिले पनि झल्झल्ती सम्झन्छु । यस्तै अनुभव गिधवा गाउँका अमीनको घरमा पनि भएको थियो ।

आज देवानगञ्जको घटनाले मेरो ती सम्झनामा अर्को कोण थपिदिएको छ । समाज कतातिर फर्कियो भनेर सोच्दै चिन्ता लाग्छ । त्यो मोहर्रमको ढोलकको रौनकमा रमाउने म, हिन्दू परिवारको सन्तान । त्यो कर्बलामा बतासा खाँदै रमाउन जान्थें, र मुसलमान साथीहरूले ‘पान खाइबो’ भनेर मलाई सत्कार गर्थे । अहिले देवानगञ्जमा त्यो पानको रातो रङ कसले अर्को रङमा पोतिदियो ?

कृपया, मेरो त्यो एकता नखल्बलाउन सबैको मनमा करुणा जागोस् भन्ने कामना छ ।
Published on nepalipost.com on 30 July 2026

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!