तेस्रो पुस्तासँग समय संवाद - Blog Details

Blog Details

  • Home
  • Blog
  • तेस्रो पुस...
तेस्रो पुस्तासँग समय संवाद
एक दिन ऊ ठूलो हुनेछ। ऊ संसारको जटिलतासँग जुझिरहेको हुनेछ। तब यो पत्रले उसलाई सम्झना गराउनेछ। हजुरबुबासँग बिताएको एउटा साँझ पनि समय थियो भन्नेछ। त्यो साँझ पनि आजको जस्तै एक साँझ हुनेछ।

तेस्रो पुस्तासँग समय संवाद

02 Jun, 2026

तेस्रो पुस्तासँग समय संवाद

-गोविन्द बेल्वासे

नाती स्कूलबाट घरमा पुग्दा ३ बजेर ४६ मिनेट भइसकेको थियो। आज बिहानैदेखि उसलाई एउटा कुरा सोध्छु भन्ने सोचेर बसेको थिएँ। खासमा केही महिनादेखि मेरो दिमागमा "समय के हो?" भन्ने विषयको विचार मण्डराइरहेको छ। समयको विषयमा मैले ६२ वर्षको उमेर भएपछि बल्ल त्यसरी मनन् गर्न थालेको हुँ। किताब पढ्ने र युट्यूबमा दर्शनशास्त्र, ज्योतिष, क्वान्टम फिजिक्स, बायोलोजी जस्ता विषयमा हेर्ने सुन्ने गर्दैगर्दा समयको विषय मेरो मनभित्र छिरेको हो।

समय सापेक्ष हुन्छ भन्ने आइन्स्टाइन तथा एडिङ्कटनको विवरणले मलाई मेरो बाल्यकालमा मैले बुझेको समय त भ्रम पो रहेछ भन्ने देखाएको छ। मेरो त्यो आधुनिक प्रविधि विनाको बाल्यकालको समय र मेरो ९ वर्षको नातिको समयमा कति फरक होला भन्ने लागेर मैले ऊ कतिबेला स्कूलबाट फर्कन्छ भनेर पर्खिरहेको थिएँ।

स्कूलबाट घरमा पुगेर उसले खाना खायो। छोरीले अर्थात उसकी आमाले दिएको स्मूदी (जुस) उसको अगाडि थियो। अरूखानाले नै पेट टुम्म भरिएकोले स्मूदीको गिलास अलि पछि रित्याउने मन बनाएको थियो। मैले उसको त्यो व्यवहारलाई ध्यानपूर्वक हेरिरहेको थिएँ। साधारण तर गहन क्षण थियो। एक बालकको आफ्नो शरीरको संकेत र आफ्नो इच्छा बीचको सन्तुलन। यो पनि त समयको नै खेल हो, शरीरले भनेको "अहिले" र मनले भनेको "पछि" को द्वन्द्व।

त्यत्तिकैमा मैले उसलाई "समय के हो?" भन्ने प्रश्न गरें। मैले उसको उत्तर जान्न सोधेको थिइन। समयका विषयमा उसले कसरी सोच्छ भनेर जान्न प्रश्न गरेको थिएँ। म आफू त्यो उमेरमा हुँदा यो विषयमा कसरी सोच्थेँ भन्ने मलाइ याद छैन। तर त्यो प्रश्न नै मेरो मनमा थिएन। कसैले मलाई समयको विषयमा सोधेको भए मिनेट, सेकेण्ड, घण्टाको रूपमा उत्तर दिन्थें होला भन्ने लाग्छ।

प्रश्न सुनेर नाति अलि अलमल भयो। हामीले सुन्ने गरी नै उसले घण्टा मिनेट गणना गर्यो । तर उसको आँखामा एउटा अलमल देखियो। उसलाई त्यो उत्तर अपूर्ण छ भन्ने लागेछ । उसले भन्यो, "हजुर, घण्टा मिनेट त समय हैन, त्यो त नाप्ने गणना हो।"

त्यो क्षण म स्तब्ध भएँ। नौ वर्षको बालकले मेरो अपेक्षाभन्दा धेरै गहिरो कुरा छोयो। उसले समय र समयको मापनबीचको भिन्नता छुट्यायो। घडीमा देखेको संख्या समय होइन भन्ने उसलाई थाहा थियो। तर उसलाई समयको परिभाषा दिन गाह्रो भयो। अन्ततः उसले त्यो प्रश्न मतिरै सोझ्यायो: "हजुरले नै भन्नुस्, समय के हो?"

कसरी उसलाई उत्तर दिऊँ भनेर सोच्दै थिएँ, उसले अर्को कुरा थप्यो। "विभिन्न देशको समय फरक हुन्छ," उसले भन्यो। उसले नेपालमा बस्ने आफ्नो ठूलोबुवाको उदाहरण दियो । अहिले हामी गफ गर्दैगर्दा उहाँहरूको सुत्ने समय भैसक्यो । उसले समयको क्षेत्र (टाइम जोन) को अवधारणा सहजै व्यक्त गर्यो।

तर उसको तर्क त्यहीं रोकिएन। उसले भन्यो, "नेपाल र बेलायतमा समय फरक हुन्छ भने, समय एउटै चीज होइन नि। समय त देशहरूले मिलाएको नियम मात्र हो।"

यो सुन्दा मलाई आनन्दको अनुभव भयो। मैले ती महिनौंदेखि सोचिरहेको विषयलाई यो नौ वर्षे बालकले सहज भाषामा व्यक्त गरिरहेको थियो। समय एउटा मानव निर्मित संरचना हो। हाम्रा पुर्खाले खेती र दैनिकी व्यवस्थित गर्न एउटा मापदण्ड बनाए । तर त्यो घडी, पला, दिन, महिना, वर्षको मापदण्ड नै समय होइन।

आधुनिक प्रविधि अभावको हाम्रो बाल्यकालमा ज्ञानको धारणा बनाउने आधार फरक थियो। अहिलेका बच्चाले धारणा बनाउने आधार फरक रहेछ भन्ने महसुस गरें। सायद उसकै उमेर हो कि अझै केही वर्ष पछि हो, मैले "पृथ्वी गोलो छ" भन्ने प्रमाणित गर्ने पाठ्यपुस्तक पढेको सम्झिएँ।

हाम्रो ज्ञानको धरातलभन्दा संस्कृत गुरूहरूको धारणा भिन्न थियो। हामी अन्धविश्वास खण्डन गर्ने तर्क खोज्थ्यौ। पृथ्वी गोलो हुनुका कारणहरू पुष्टि गर्ने तर्क गर्थ्यौ। हाम्रालागि पुस्तक नै मुख्य स्रोत थियो। हामीले पृथ्वी गोलो छ भन्ने विश्वास गर्थ्यौ। हामीले पढ्ने पुस्तकमा त्यहि लेखिएको थियो।

तर अहिले अन्तरिक्ष यात्रीले माथिबाट पृथ्वी कस्तो देखिन्छ भनेर बताउँछन्। त्यस्ता रङ्गीन फोटो र भिडियो हेर्ने बच्चाको ज्ञान स्वतः फराकिलो हुने नै भयो। उनीहरूले पृथ्वीलाई फोटोमा भए पनि देखेका छन्। उनीहरूले पृथ्वीको गोलोपन "विश्वास"(आइड्यालीजम) गर्नुपर्दैन, उनीहरूले त्यो "देखेका"(इम्पारासिजम) हुन्छन्।

यो भिन्नता बुझ्दै गर्दा मलाई एउटा विषय स्पष्ट भयो। हरेक पुस्ताले आफ्नो समयको उपलब्ध माध्यमबाट संसार बुझ्छ। कुनै पुस्ताले ढिलो बुझ्छ, अर्को पुस्ताले चाँडो बुझ्छ। तर यो "ढिलो र चाँडो" नै पुनः समयको एउटा मापन मात्र हो। सत्यको आविष्कारको गति फरक छ, तर सत्य आफैं उत्तिकै सत्य छ।

प्राचीन ज्ञान र आधुनिक विज्ञान

पहिलेका ऋषिलाइ पृथ्वीले सूर्य घुम्छ भन्ने थाहा थिएन । आर्यभट्टले नालन्दा वश्विध्यालयमा पृथ्वी आफ्नो अक्षमा घुम्ने तर्क गरेका थिए । तर सातौ शताब्दीमा ब्रम्हगुप्तले त्यसलाइ नपत्याएर भट्टको गणितलार्इ मात्र ब्याख्या गरे । उदयगिरीका गुफामा बसेर ब्रम्हगुप्तशुक्त लेखे । त्यहि तथ्यबाट पनि उनीहरूको ज्ञान र प्रवृधिको स्तर बुझ्न सकिन्छ ।

तरपनि सूर्य उदाउने र अस्ताउने समय गणना गरेर पात्रो लेख्थे । हिसाब राख्थे । पूर्वको डाँडामा भन्दा पश्चिमको डाँडोमा सूर्य ढिलो अस्ताएको गणना गर्थे। ऋषिहरूले अर्को वर्ष कहिले ग्रहण लाग्छ भन्ने हिसाब निकाल्न सक्थे। उनीहरूले सूर्यको परिक्रमाको गणित जानेनन्, तर उनीहरूले समयको चक्र भने बुझेका थिए।

त्यस्तै, फरक नातिले सहजै बुझ्ने र मनन् गर्ने विषय हामीले उमेर छिप्पिएपछि अरू माध्यमबाट सिक्छौ। यो समाजको निरन्तर गति हो। उनीहरूको पुस्ताले हामीले देखेकोभन्दा फरक संसार देख्छ।

मैले आफ्नो बाल्यकाल सम्झें। आकाशमा तारा हेर्थे। ऋतु परिवर्तनलाई महसुस गर्दै। हामीसँग घडी थियो, तर समयलाई "अनुभव" गर्ने हाम्रो तरिका प्राकृतिक घटनासँग जोडिएका थिए। अहिलेको पुस्ताले समयलाई डिजिटल घडीमा देखिने अङ्कसँग जोड्छन्। तर, कुनै श्रेष्ठ वा अर्को न्यून छैन। केवल भिन्न मात्र छ।

समयको विषयमा मेरो बुझाइ सिकाउन नातिलाई एउटा उदाहरण दिएं। कार चलाउँदा प्रयोग गर्ने नेभिगेटरको समय सम्झाएं। सेटलाइटले छिन्छिनमा समय मिलाउँछ भन्ने विषयमा व्याख्या गरें। मैले उसलाई भनें, "GPS ले सही बाटो देखाउनको लागि २० वटा सेटलाइटहरूसँग समय मिलाउँछ। ती सेटलाइटहरू पृथ्वीको वरिपरि धेरै तीव्र गतिमा घुम्छन्। आइन्स्टाइनको सापेक्षताको सिद्धान्तअनुसार तिनको समय हाम्रो भन्दा अलि सुस्त चल्छ।"

उसको आँखा फराकिलो भयो। "मतलब उपग्रहको घडी हाम्रो घडीभन्दा बिस्तारै चल्छ?"

"हो," मैले भनें। "त्यो फरक नमिलाउने हो भने, नेभिगेटरले गलत बाटो देखाउँछ। हरेक दिन करिब १० किलोमिटरको त्रुटि हुन पुग्छ।"

तर मैले यति भन्दै गर्दा मनमनै गम खाएं। के यो बालकलाई अहिले नै यति गहिरो विज्ञान बुझ्ने बोझ दिनु उचित होला? किनकि अझै उसले समयको विषयमा त्यति गहिरो गरी अध्ययन गर्ने बोझ बोकिहाल्ने समय भएको छैन भन्ने मलाई लाग्छ। उसलाई पहिले समयको सुगन्ध लिन दिनुपर्छ। समयलाई अनुभूति गर्न दिनुपर्छ। घरमै बसेर लोगो मिलाउँदा, स्कूलको बिदा हुने दिन पर्खँदा र साथीहरूसँग खेल्दा समय बितेको थाहा नै नपाएको उसले अनुभव गर्नु पर्छ।

ब्रह्माण्डीय समयको रहस्य

सेटेलाइटले परिधिमा एक चक्कर घुम्न लाग्ने समय पृथ्वीको समय भन्दा फरक हुन्छ। त्यहि गतिमा सेटेलाइटले चक्कर पुरा गर्न पृथ्वीमा हामीले २४ घण्टामा एक चक्कर लगाउने समयले पुग्दैन। त्यसैगरी सूर्य, अन्य ग्रह, नेबुला-निहारिका, वा ग्यालेक्सीको पनि फरक फरक समय हुन्छ।

मैले यो विषयमा जानकारी प्राप्त गरेको धेरै भएको छैन। बृहस्पतिको एउटा दिन पृथ्वीको १० घण्टा मात्र हो, तर शुक्रको एक दिन पृथ्वीको २४३ दिन बराबर हुन्छ। मङ्गल ग्रहको एक वर्ष पृथ्वीको ६८७ दिन बराबर हुन्छ। एकै ब्रह्माण्डमा यति धेरै प्रकारका "दिन" र "वर्ष" हुँदा कसको समय सही? कसको समय वास्तविक?

मैले नातिलाई भनें, "कल्पना गर, ब्रह्माण्डमा एउटा यस्तो ग्रह छ, जहाँ हाम्रो एक घण्टा बित्दा त्यहाँ ५० वर्ष बित्छ। त्यहाँको बच्चाले एक वर्षमा हाम्रो ५० वर्षको समय पार गर्छ। त्यस ग्रहको मापन अनुसार हाम्रो जीवन केबल दुई घण्टा मात्र हुन्छ।"

उसले सोध्यो, "त्यस्तो ग्रह हुन्छ?"

म मुस्कुराएँ। "क्वान्टमको संसारमा सम्भावना छ।"

पूर्वीय दर्शनमा समय भ्रम हो भन्ने पण्डितहरूको तर्क मैले सुनिरहेको हुन्थें। बौद्ध दर्शनमा क्षणिकता (अनित्यता) को धारणा छ। सबै बहन्छ, केही स्थिर छैन। वैदिक दर्शनमा काललाई महादेवको रूप दिइएको छ। संसारलाई निल्छ र पुनः उत्पन्न गर्छ। यी सबै कथाले एउटै कुरा भन्छन्: समय सापेक्ष छ, समय परिवर्तनशील छ, समय भ्रम हो।

पश्चिमी विज्ञान पनि अहिले त्यही निष्कर्षमा पुगिरहेको छ। क्वान्टम भौतिकशास्त्रले भन्छ—समयको कुनै अस्तित्व नहुन पनि सक्छ। समय हाम्रो चेतनाको उपज मात्र हो भन्ने सिद्धान्त पनि छन्। रेने डेस्कार्टस र शंकराचार्यको ब्याख्या त्यस्तै मोडिएका छन्। हामीले अतीत र भविष्यलाई एउटा रेखामा राखेर हेर्छौं, तर वास्तविकता त्यो रेखा हैन।

समयको यथार्थलाई घण्टा मिनेटले त हामीले गन्ने माध्यम मात्र बनाएका हौं। त्यसैले परिधि कत्रो छ, त्यसै आधारमा कसले कसलाई घुम्छ भन्ने हिसाबले समय फरक पर्दोरहेछ। पृथ्वीको परिधि ठूलो छ त्यसैले हामीलाई २४ घण्टा लाग्छ। सानो परिधि भएको इलेक्ट्रोनलाई न्यूक्लियसको वरिपरि घुम्न धेरै कम समय लाग्छ।

सायद अझै सानो भाग देख्न सक्ने यन्त्र पनि भविष्यमा बन्ला। इलेक्ट्रोनले न्यूक्लियसलाई कति समयमा चक्कर लगाउँछ भन्ने पनि हाम्रो २४ घण्टाको तुलनामा हिसाब गर्न सकिएला। अहिले रिचर्ड फाइनम्यानको सम्भाव्यताको सिद्धान्तमा आधारित क्वान्टम कम्प्यूटर प्रयोग हुन थालेका छन्। अब झन् सानो देख्ने र गणना गर्ने यन्त्र बनाउनतिर नातिपुस्ताहरू अग्रसर हुने नै छन्।

मैले नातिलाई भनें, "तिमीहरूको पुस्ताले एउटा नयाँ संसार देख्नेछ। समयलाई एक वस्तु जस्तै हेरफेर गर्न सकिनेछ। तर त्यो विज्ञानलाई सही ढङ्गले प्रयोग गर्ने जिम्मा पनि तिमीहरूकै हो।"

उसले सोध्यो, "समयलाई कसरी गलत प्रयोग गर्न सकिन्छ र?"

मैले जवाफ दिएँ, "अरूलार्इ उछिनेको देखिन, अरूलाई पछाडि पार्न तथा झेल्ली गर्नको लागि। मानिसहरूले हरेक नयाँ आविष्कारलाई कहिलेकाहीं त्यसैगरी प्रयोग गरे। तर समयको सही प्रयोग भनेको आफू भित्रको शान्ति बुझ्नु हो।"

समय भ्रम हो भन्ने बुझ्न सक्ने हो भने जन्मदेखि मृत्युसम्मको समय पनि भ्रम हो। बाँचुन्जेल अरूको उन्नतिमा डाहा गर्ने, उसलाई उछिन्न खोज्ने, गर्दै दुःखको कारणमा रमाउनु नै जीवनको मूल्य रहेछ।

यो कुरा मैले धेरै पछि मात्र बुझें। हामी सबै समयको दौडमा होडबाजी गरिरहेका हुन्छौं। अरूभन्दा धेरै कमाउनु, अरूभन्दा अगाडि हुनु, अरूभन्दा छिटो दौडनु। तर हामीले बिर्सन्छौं—यो दौडको कुनै अन्तिम रेखा छैन। जब मर्ने बेला आउँछ, कसैले पनि भन्ने छैन, "ओह, कति धेरै घण्टा कमाएँ।"

नातिले मलाई सोधेको थियो, "हजुरलार्इ सानोमा के गर्न मन लाग्थ्यो?"

मैले भनें, "सानोमा म आकाशका तारा हेर्थें। अहिले पनि तारा हेर्छु। समय बदलिएको छ, तर म उही छु।"

"त्यसो भए तपाईंले समय जित्नुभयो?" उसले सोध्यो।

म हाँसेँ। "होइन बाबु, मैले समयलाई मेरो साथी बनाउन सिकें।"

सूर्य बिस्तारै पश्चिमतिर लाग्दै थियो। नातिले आफ्नो स्मूदी रित्यायो र गिलास भान्सातिर लग्यो। मैले सोचेँ—हाम्रो यो कुराकानी पनि समयको एउटा कण हो। यो कण कहिले सम्झिनेछ उसले? सायद ६३ वर्षको उमेरमा, ऊ आफ्नो नातिसँग बसेर समयको विषयमा कुरा गर्दा, यो बेलुकाको क्षण उसको मस्तिष्कमा बिजुली झैं चम्किनेछ।

समय त हाम्रा सम्झनाहरूको लामो श्रृंखला हो। समय त एउटा सानो बच्चाको आँखामा देखिने कौतुहलता हो। समय त हजुरबुबा र नातिबीचको यो अनमोल संवाद हो।

हुन सक्छ—समय भनेको केही होइन। तर समयले हामीलाई जोड्छ। बितेका पल, आउने पल र अहिलेको क्षण। यी सबै एउटै धागोमा गाँसिएका छन्। र त्यो धागोको नाम हो—जीवन।

नाति भित्र गएपछि मैले आफ्नो ल्यापटप खोलें र टाइप गर्न थालेः

"आज मैले मेरो नातिसँग समयको बारेमा कुरा गरें। उसले समय के हो भन्ने जान्न बाँकी नै छ भन्यो। थाहा छैन भन्यो । तर अहिलेको यो पल सुन्दर छ। मैले ६२ वर्षमा समयको परिभाषा खोजें। एउटा ९ वर्षको बच्चाले मलाई सिकायो। समयलाई परिभाषा चाहिँदैन—समयलाई अनुभव मात्र गरिन्छ।

मैले घडीमा हेरें—रातको ९ बजेर १५ मिनेट। त्यो संख्याले के अर्थ राख्छ? केही अर्थ राख्दैन। तर यो पलले अर्थ राख्छ। यो लेखले अर्थ राख्छ। यो क्षण जिउँदो हुनुको अर्थ राहन्छ।

यही नै समयको सबैभन्दा ठूलो रहस्य हो। हामीले यसको परिभाषा कहिल्यै पाउँदैनौं। तर हामीले यसलाई हरेक स्वासमा अनुभव गरिरहेका हुन्छौं। समय हो, होइन, दुवै सत्य हुन सक्छ। तर जब मेरो नाति मसँग बसेर संसारको रहस्य खोज्छ, त्यो पल मेरो लागि अनन्त हुन्छ।

आजको यो कुराकानीपछि मैले समयले हामीलाई दौडाउँदैन भन्ने बुझें। हामीले नै समयलाई दौडाउँछौं। हाम्रो मनमा डाह, ईर्ष्या, प्रतिस्पर्धा छ। समयसँगको हाम्रो गलत सम्बन्धका कारण नै यस्तो हुन्छ। हामीले समयलाई शत्रु ठान्छौं। हामीले समयसँग हार्छौं वा जित्छौं भन्ने सोच्छौं। तब हामी आफैंलाई दुःखको आगोमा झोस्छौ।

नातिको सोच सहज थियो—घण्टा मिनेट समय हैन, गणना हो। देशहरूमा समय फरक हुन्छ भने समयको कुनै एकल सत्य छैन।

हुनसक्छ, एउटै सत्य छ—यही क्षण। यही सास। यही अस्तित्व।

विगत सम्झना हो, भविष्य कल्पना हो। वर्तमान मात्र वास्तविक छ। र वर्तमानलाई जिउने कला नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।

मेरो ६२ वर्षको यात्रामा मैले धेरै कुरा कमाएँ, धेरै गुमाएँ। तर आज, मेरो नातिसँगको यो संवादले मलाई एउटा अनमोल उपहार दिएको छ । समय भ्रम हो भन्ने सोचाइले मलाई समयसँगको मेरो सम्बन्धलाई नयाँ कोणबाट हेर्न सिकायो।

मैले अब डाहा गर्न छोड्नेछु। अब पछाडि वा अगाडि छु भन्ने सोच्ने छैन। म अब समयको दौडमा हारजित नाप्ने छैन। किनभने दौडिने ठाउँ नै छैन। हामी सबै एउटै ब्रह्माण्डीय क्षणमा तैरिरहेका छौं।

समयको यो लेख मेरो नातिको लागि हो। एक दिन ऊ ठूलो हुनेछ। ऊ संसारको जटिलतासँग जुझिरहेको हुनेछ। तब यो पत्रले उसलाई सम्झना गराउनेछ। हजुरबुबासँग बिताएको एउटा साँझ पनि समय थियो भन्नेछ। त्यो साँझ पनि आजको जस्तै एक साँझ हुनेछ।

आकाशमा लाखौं वर्ष टाढाको एउटा ताराबाट प्रकाश आएर अहिले हाम्रो आँखालार्इ छुन्छ। हाम्रा सम्झनाले पनि समयको यात्रा पार गर्छन्। र ती सम्झनाहरू नै हाम्रो अमरताको एक मात्र सत्य रूप हुन्।

समयको विषयमा जति लेखे पनि कमै हुन्छ। तर समयलाई नलेखी अनुभव गर्ने तरिका नै जीवन हो। र जीवन नै समय हो। नाति सुत्न गयो। म झ्यालबाट तारालार्इ हेरिरहेँ। एउटा तारा अत्यन्त चम्किलो देखियो। त्यो तारा मैले सानोमा देखेको तारा नै हुनसक्छ। हुनसक्छ त्यो तारा मेरो नातिले वर्षौपछि देख्ने तारा पनि हुनेछ। समयको यो चक्रमा, कहाँ म अन्त्य हुन्छु, कहाँ ऊ सुरु हुन्छ भन्ने छुट्याउन सकिन्न।

हुनसक्छ, यो नै समयको सबैभन्दा सुन्दर रहस्य हो। हामी सबै एउटै अनन्त क्षणमा जोडिएका छौं। जन्म र मृत्यु दुई किनारा हुन्, तर त्यही बीचको नदी अनन्त छ। त्यो नदीको नाम हो समय। हेराक्लिटसको दोहोर्याएर तर्न नसकिने नदी त्यहि हो।

प्रत्येक नयाँ दिनको आफ्नै समय हुन्छ। र प्रत्येक पुस्ताले समयलाई आफ्नै तरिकाले परिभाषित गर्छ। यही समयको अनन्त यात्रा हो। यही जीवन हो।"

मुकाम- बेलायत

@NepallGhar

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!