सम्राट अशोक व्यक्ति र विचार - Blog Details

Blog Details

  • Home
  • Blog
  • सम्राट अशो...
सम्राट अशोक व्यक्ति र विचार
अशोकले आफ्नो नाम स्तम्भमा नलेखेर रहस्य सिर्जना गरेका थिए। तर अशोकको मान घटेको छैन। किनभने उनले नाम हराओस भन्ने नै चाहेका थिए।

सम्राट अशोक व्यक्ति र विचार

02 Jun, 2026

सम्राट अशोक व्यक्ति र विचार

-गोविन्द बेल्वासे

आफूलाई महत्वपुर्ण मान्नु दुःखको कारण हो भनेर गौतम बुद्धले सिकाएका थिए। जब मानिसले ‘म’ र ‘मेरो’ को भावना बोक्छ, तब हिंसा, इर्श्या र लोभ जन्मिन्छ। बुद्धको उपदेशले व्यक्तिपूजाको विरोध गर्छ। उनले आफ्नो तस्बिर वा मूर्ति राख्न बन्देज गरेका थिए भनिन्छ। ‘मलाई होइन, मेरो बचनलाई पछ्याउनु’ भन्ने शन्देश बाँडेका थिए। यो भावना थेरबादी बुद्धमार्गीहरूले अवलम्बन गर्छन् ।

बुद्धको यही अन्तरदृष्टिबाट सम्राट अशोक प्रभावित रहेछन्। राजाको शरीर मरेपछि पनि उसको दर्शन बाँच्न सक्छ भन्ने उनले महसुस गरेको हुनुपर्छ । तर दर्शन बाँच्नको लागि व्यक्ति ओझेल पर्नुपर्छ। यही बुझाइले अशोकलाई ‘देवनामप्रिय प्रियदर्शी’ मात्र लेख्ने बनायो । ‘महाराज अशोक’लेखाउने चाहना भएन।

लुम्बिनीको अशोक स्तम्भमा पनि सम्राट अशोकको नाम कुँदिएको छैन । लुम्बिनी, तिलौराकोट, निग्लिहवा लगायतका ठाउँमा कतै पनि अशोकको नाम भेटिन्न।

इतिहासले कैयौं राजा र सम्राट एवं शासकहरू देखे भोगेको छ। तीमध्ये अधिकांशले आफ्नो नाम पछिसम्म रहोस भनेर विजयस्तम्भ, दरबार वा मूर्तिहरू बानाएर छाडे। तर व्यक्ति समयको क्षण मात्र हो र विचार बाँचिरहन्छ भन्ने एउटा सम्राट पनि रहेछन्। उनले जानीजानी आफ्नो नाम ओझेलमा पार्न खोजेका रहेछन्। उनले नचिनिएर नै राजाको कर्तब्यमा बाधिएको एक ‘देवनामप्रिय प्रियदर्शी’को सन्देश छाड्न चाहेका रहेछन्। यो लेख चाहेर पनि गुमनाम हुन नसकेका एक सम्राटको गाथा हो। यहाँ एक सम्राटले बुद्धको अहिंसालाई साम्राज्यको नीति मात्र नभई जनजीवनको सार बनाउने प्रयास कसरि गरे भन्ने विवेचना गर्ने छौं। घाँसीको ख्यातिप्रति डाह एवं इर्शामा छट्पटिएका भानुभक्तभन्दा विपरित अशोकको चाहना भेटिन्छ ।

देवनामप्रिय प्रियदर्शी: नाम पछाडिको रणनीति

आज पनि ‘देवनामप्रिय प्रियदर्शी राज्ञो’ उत्कीर्ण भएका स्तम्भहरू खडा छन्। कतै पनि सम्राट चिनाउने ‘अशोक’ भन्ने शब्द छैन। इतिहासकारका अनुसार ३० भन्दा बढी स्तम्भ र शिलालेखहरू मध्ये मास्कीमा मात्र ‘अशोक’ लेखिएको छ। बाँकी सबै ठाउँमा ‘देवनामप्रिय प्रियदर्शी’ भेटिन्छ।

यो कुनै संयोग मात्र होइन। यो एक सचेत रणनीति थियो। ‘देवनामप्रिय’ को अर्थ – ‘देवताहरूको प्यारो’। ‘प्रियदर्शी’ को अर्थ – ‘प्रिय दृष्टि भएको’ वा ‘जसले अरूलाई प्रेमले हेर्छ’। यी दुबै शब्द व्यक्तिको पहिचानको सट्टा गुणको पहिचान हुन्। जनताले राजाको नाम नभई नीति र गुण सम्झिउन् भन्ने अशोकको चाहाना रहेको पुष्टि हुन्छ।

यो धारणा बुद्धको ‘अनत्ता’ (अनात्मवाद) सँग मेल खान्छ। स्थायी ‘म’ हुँदैन भनेर बुद्धले सिकाएका छन्।

कलिङ्ग र एनिमाको जागरण

सम्भवतः कलिङ्ग युद्ध अशोकको जीवनको सबैभन्दा ठूलो घटना थियो । एक लाखभन्दा बढी मानिस मारिए। डेढ लाख जति निर्वासित भए। युद्धपछिको मैदानमा हिंड्दा देखेका लाश, गिद्ध, छट्पटाइरहेका आमा र विधवाहरूको रोदनले अशोक भित्रको कोमलतालाइ जगायो भनिन्छ। त्यो दृश्यले उसलाई भित्रैदेखि हल्लायो।

मनोविज्ञानका ज्ञांता कार्ल योङको ‘एनिमा’ को अवधारणा अनुसार उनको अवस्था विश्लेषण गर्न सकिन्छ। एनिमा पुरुष भित्रको स्त्री गुण हो । दया, करुणा, माया। अशोकले लामो समयसम्म राजनीति र युद्धको कठोर संसारमा यी गुणलाई दबाएर राखेका थिए। आमा शुभाध्राङ्गीले दरबारमा अपहेलना भोगेको देखेका थिए। अशोकको इगोले एनिमालाई दबाएर राखेको थियो । कलिङ्गको मैदानमा ती गुण विस्फोट भए। उनको एनिमाले ‘यो तैले गरिस्’ भन्ने ग्लानि प्रकट गरायो।

परिणामतः अशोकले बौद्धमार्गी आचरण अंगिकार गरे। त्यो अवस्थासम्म क्रुर शासक ‘चण्ड अशोक’ भन्ने परिचय बनेको थियो। तर पश्चातापमा जलेको नाम भस्म बनाएर ‘प्रियदर्शी’ प्रयोग गर्न थाले। यो उनी भित्री रुपान्तरणको बाहिरी संकेत हो।

साँची, विदिशा र रानी देवीको भूमिका

अशोकको जीवनमा रानी देवीको अर्को महत्वपूर्ण पक्ष थियो । देवी विदिशा निवासी थिइन्। उनी आफैं शाक्य वंशकी हुँदा बुद्ध दर्शनसँग जोडिएकी थिइन्। उनले आफ्ना सन्तान महेन्द्र र संघमित्रालाई बौद्ध धम्मको आदर्शबीच हुर्काइन्।

तर अशोकसङ्ग उनी सधैं साथ भइनन्। पाटलीपुत्रको राजदरबार र विदिशा टाढा थिए। अशोक र देवीबीच फेरि मिलन भयो कि भएन भन्ने विषयमा इतिहासकारहरू एकमत हुन सकेका छैनन्। भौतिक भेट नभएकै भए पनि साँचीको स्तूपाले फरक तथ्य उजागर गरिरहेका छन् । अशोकले त्यहाँ स्तूप बनाउन लगाए। तर शिलालेखमा कतै ‘अशोक’को नाम लेखिएको छैन। ती स्तूप देवीको निरीक्षणमा बनाइएका थिए। स्तुपा बनेको ठाउँ देवी हुर्केकै थलो पनि हो। ती दुर्इबीच प्रेम मौलाएको भूमि पनि हो।

महेन्द्र र संघमित्रा श्रीलंका गएर बुद्ध धर्म फैलाएका थिए । उनीहरूकी आमा देवीले सानैदेखि बुद्धको कथा सुनाएको हुनुपर्छ। बाबु अशोकले शाही शक्ति दिए। तर बाबुको प्रभुत्वले भन्दा आमाको आध्यात्मिक संस्कारले धम्म विस्तार गरायो।

प्रिन्सेपको आकस्मिक खोज:

अशोकको यो असाधारण ‘मौनता’ र ‘अज्ञात स्तम्भ’ सँग सम्बन्धित सबैभन्दा रोचक प्रसंग उनको मृत्युको २,००० वर्षपछि देखिन्छ। सन् १८३० को दशकमा, ‘ब्राह्मी’ नामक एक प्राचीन लिपि पढ्न सम्भव भयो । उक्त लिपीको अर्थ लगभग १,५०० वर्षदेखि कसैले पनि बुझेको थिएन। त्यसको अर्थ निकाल्ने काममा युरोपेली विद्वानहरू लागिरहेका थिए। यसै क्रममा कोलकाता टकसालका एक बहुप्रतिभाशाली ब्रिटिस अधिकारी, जेम्स प्रिन्सेप, ब्राह्मी लिपिको रहस्य समाधान गर्ने नायक बने।

सन् १८३७ मा, धेरै वर्षको अध्ययनपछि, प्रिन्सेपले यो लिपि सफलतापूर्वक पढ्ने शुत्र पत्ता लगाए। हरियाणाको टोपराबाट फिरोजशाह तुगलकले दिल्ली पुर्याएको स्तम्भको शिलालेखलाई उनले अध्ययन गरिरहेका थिए। त्यसमा एउटा शासकको बारेमा लेखिएको थियो जसले आफूलाई ‘देवनामप्रिय’ र ‘प्रियदर्शी’ को रूपमा वर्णन गरेको थियो। यी उपाधिहरू श्रीलंकाको बौद्ध भिक्षुहरूले वर्णन गरेको अशोकसँग मिल्ने देखिन्थ्यो। कुनै पनि राजाले आफूलाई प्रत्यक्ष ‘राजा अशोक’ भनेर सम्बोधन गरेको प्रिन्सेपले कतै भेटेका थिएनन्।

ब्राह्मी लिपिमा कोरिएको ‘देवनामप्रिय प्रियदर्शी’ भनेका राजा अशोक नै हुन भन्ने पहिचान गर्ने श्रेय प्रिन्सेपले पाएका छन् । मास्की (कर्नाटक)को शिलालेखलाई उनले पहिलो प्रमाणका रूपमा लिएका थिए। यी शिलालेखहरूमा ‘अशोक’ शब्द प्रयोग भएको छ। ‘देवनामप्रिय’ र ‘प्रियदर्शी’ जस्तै लिपि र शैलीमा कोरिएको थियो। यो खोज नै दुई नामलाई जोड्ने कडी बन्यो।

अशोकको मौनताको पराकाष्ठा:

अशोकले आफ्नो व्यक्तिगत नाम लुकाउन ठूलो प्रयत्न गरेको देखिन्छ । उनको परिचय लुकाउने ‘प्रियदर्शी’ शब्दले नै यथार्थ भने उजागर गरेको छ।

बुद्ध दर्शनको विजय:

अशोकको यो नीति ठ्याक्कै बुद्धको ‘अनात्मवाद’ को मनोवैज्ञानिक परीक्षण जस्तै थियो। बुद्ध भन्छनः स्थायी ‘म’ हुँदैन । अशोकले आफ्नै राज्य र इतिहासमा त्यस ‘म’ लाई मेटाएर ‘म’ भन्ने अवधारणा नै गलत सिद्ध गर्न खोजेको भान हुन्छ।

श्रीलंका बौद्ध धम्मर्को दोस्रो घर बन्यो। कार्ल जंगको दृष्टिकोणमा श्रीलंका एक ‘स्त्री भूमि’ जस्तो छ। उता अशोकले ‘पुरुष चिन्तन’ (धम्म – प्रज्ञा) पठाए। स्त्री भूमिले ‘रिसीभ’ गर्यो, आत्मसात गर्यो, पोषण गर्यो। आज श्रीलंकामा अशोकको नामभन्दा धेरै ‘सिद्धार्थ’ र ‘बुद्ध’ को नाम छ। अशोकको इच्छा पूरा भयो – उनी अस्तित्वमा रहेनन्, बुद्धको दर्शन मात्र बाँकी छ।

व्यक्ति मेटिँदा पनि व्यक्तित्व अमर हुन्छ

हामी अशोकलाई बिर्सन सक्दैनौं। तर उनले गुमनाम हुने प्रक्रिया सुरु गरेका थिए। त्यो भाव अनुकरणीय छ। राजा हुनुको अर्थ दरबार र विजय मात्र होइन। शासक हुनुको अर्थ जनताको चेतना विस्तार गर्नु पनि हो।

यी स्तम्भहरू कुनै अज्ञात राजाका थिएनन्। प्रिन्सेपले खोजेपछि विश्वले त्यो राजालाई चिनेकोछ। तर आफ्नो नाम लुकाएर विचारलाई उजागर गर्ने एक महान सम्राट बनेका छन्। हत्याको कलङ्क बोकेको अशोकले आफ्नो ‘म’ लाई पूर्णतः गुमनाम हुने प्रयास गर्यो। पछि उसैले अहिंसालाई संस्थागत नगरेको भए बुद्ध दर्शन सायद आजको जस्तो व्यापक हुने थिएन। उनको योगदान कुनै भौतिक दरबार वा विजय भित्र सिमित छैन । उनले समाजको रक्तनलीमा अहिंसाको भाव भर्न गरेको प्रयास अनुकरणीय भने छ।

अशोकले आफ्नो नाम स्तम्भमा नलेखेर रहस्य सिर्जना गरेका थिए। तर अशोकको मान घटेको छैन। किनभने उनले नाम हराओस भन्ने नै चाहेका थिए। यो सन्देश बाँचिरहनु अशोकमाथिको कलङ्क पखालीनु पनि हो। यो नै देवनामप्रिय प्रियदर्शीको निरन्तरताको प्रासंगिकता हो । व्यक्ति विस्मृत हुँदा पनि विजयी हुन्छ, र हिंसा त्यागेर अहिंसा अंगिकार गर्दा साँचो जीत आफैं पाइन्छ।

मौनता नै अशोकको कीर्तिस्तम्भ हो।

@NepallGhar

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!