अर्धज्ञानको पीडा र अनभिज्ञताको सुख - Blog Details

Blog Details

  • Home
  • Blog
  • अर्धज्ञानक...
अर्धज्ञानको पीडा र अनभिज्ञताको सुख
अर्धज्ञानले सधैं दुःख दिन्छ। जसलाई थोरै मात्र ज्ञान छ, तर पूर्ण ज्ञान छैन, त्यो मानिस अन्धविश्वास, भ्रम, र दुःखको चक्रमा फस्छ। सूर्यग्रहणको उदाहरणले यो स्पष्ट पार्छ। पूर्ण अनभिज्ञता कहिलेकाहीँ सुखदायी हुन्छ। केही नजान्ने मानिसले थोरैबेरको अलमलपछि सुख पाउ

अर्धज्ञानको पीडा र अनभिज्ञताको सुख

21 Apr, 2026

अर्धज्ञानको पीडा र अनभिज्ञताको सुख

मानव जीवनमा ज्ञानको आफ्नै महत्त्व छ। तर सधैं ठूलो ज्ञानले मात्र सुख दिन्छ भन्ने छैन। कहिलेकाहीँ सिमित जानकारीले मानिसलाई दुःखी बनाइदिन्छ भने पूर्ण अनभिज्ञताले सुखी जीवन बाँच्न सहयोग गर्छ। यस लेखमा हामीलार्इ अर्धज्ञानले कसरी दुःख दिन्छ, र अनभिज्ञता किन सुखदायी हुन सक्छ भन्ने विषयमा चर्चा गर्नेछु।

सूर्यग्रहणको उदाहरण

सूर्यग्रहणलाई लिऔं। धेरै बर्ष अघिको कुरा हो। ज्योतिष विज्ञानको पटक्कै ज्ञान नभएका गाउँलेहरूलार्इ खग्रास ग्रहणले एक्कासी दिउँसै अँध्यारो हुँदा अलमल्लमा पार्थ्यो। गाईभैंसीहरू चिच्याउँदै जंगलबाट गाउँ फर्कन थाल्थे। ती गाउँलेहरू केहीबेर बिलखबन्धनमा पर्थे, र फेरि उज्यालो भैहाल्यो। सवै कुरा पुनः सामान्य बन्थ्यो। त्यसपछि उनीहरू खुसी हुन्थे। सूर्यग्रहणले गर्दा अध्यारो भएको भन्ने पनि उनीहरूलाई थाहा हुँदैनथ्यो। तर उनीहरूको अनभिज्ञताले उनीहरूलाई दुःख दिँदैनथ्यो । बरु केहीबेरको अलमलपछि पुन: उज्यालो देखेर उनीहरू प्रसन्न हुन्थे।

तर समस्या तब आउँछ जब कसैलाई सूर्यग्रहणको बारेमा थाहा त हुन्छ, तर किन लाग्छ भन्ने थाहा हुँदैन। त्यस्तो अर्धज्ञान भएको मानिसले अछुत जातले भगवानलाई छोयो, राक्षसले सूर्य निल्यो भन्ने जस्ता अन्धविश्वास फैलाउँछन्। यही अर्धज्ञान र डरको फाइदा टपरेहरूले उठाउँछन्। ती टपरेहरू (बाहुन वा पुजारी) गाउँगाउँमा गएर ‘ग्रहणको पापबाट मुक्ति पाउन दान देऊ’ भन्ने प्रचार गर्छन्। साधारण मानिसहरू डरले अन्न, पैसा, गाई, भैंसीसमेत दान गर्छन्। टपरेहरूले सिदा (खानाको सामग्री) र दान बटुल्छन्, तर उनीहरू आफैं ग्रहणको वैज्ञानिक कारण नै जान्दैनन् या त जानीजानी लुकाउँछन्।

यसरी उनीहरूको आर्थिक लाभ हुन्छ भने समाजमा विभेद र अन्धविश्वास बलियो हुन्छ। सच्चा ज्ञानको अभावमा टपरेहरूको यो शोषणले गाउँलेहरू दुःखी हुन्छन्। त्यसैले अर्धज्ञानले टपरेहरूलाई धनी बनाउँछ, तर सर्वसाधारणलाई ठगी र भ्रमको जालोमा पार्छ। यसले समाजमा विभेद बढाउँछ र मानिसहरू आपसमा झगडा गर्छन्। यहाँ अर्धज्ञानले नै दुःख दिएको छ। पूर्ण ज्ञान भएको भए उनीहरूले यो प्राकृतिक घटना हो भन्ने बुझ्थे, र पूर्ण अनभिज्ञता भएको भए उनीहरू केहीबेर अलमलिएर फेरि आफ्नो काममा लाग्थे। तर अर्धज्ञानले उनीहरूलाई अन्धविश्वासमा फसाएर दुःखी बनाउँछ।

चेतना र आत्माको रहस्य

यसलाइ अलि गहिरो चिन्तन गर्दा अर्कै देखिन्छ। डेविड ह्यूम भन्ने पश्चिमी दार्शनिकले एउटा कुरा भनेका छन् - मानिसले मस्तिष्क र बुद्धि महसुस गर्छ, तर चेतना कहाँबाट आउँछ भन्ने थाहा पाउँदैन। यो एकदमै रोचक कुरा हो। हामी सबैलाई थाहा छ कि हामी सोच्छौं, महसुस गर्छौं, देख्छौं, सुन्छौं। तर यो "म" भन्ने चेतना कसरी उत्पन्न हुन्छ? यो प्रश्नको जवाफ अहिलेसम्म कसैसँग छैन।

रोचक कुरा के छ भने हाम्रा प्राचीन वेदहरूमा पनि यस्तै कुरा भनिएको छ। ऋग्वेदमा आत्मालार्इ विवेक, ज्ञान, अनुभूति, बुद्धि होइन भनिएको छ। यसको अर्थ के हो? यसको अर्थ हामीले जसलाई "म" भनेर बुझ्छौं, त्यो वास्तवमा एउटा भ्रम हुन सक्छ। ह्यूमले उपनिषद्को अध्ययन गरेर यो धारणा बनाएका हुन सक्छन् । वा आफैंले सोचेर पनि यही निष्कर्ष निकालेका पनि हुन सक्छन्।

आजको विज्ञानले के भन्छ?

क्वान्टम भौतिकी, न्यूरो साइन्स, एस्ट्रोनोमी जस्ता विधाले मानिसलाई धेरै कुरा सिकाएको छ। विज्ञानले चेतना भनेको शरीर भित्रको एउटा अल्गोरिदम हो भन्ने देखाउँछ । हाम्रो मस्तिष्क एउटा जैविक कम्प्युटर जस्तै हो। यसले संकेतहरू प्रशोधन गर्छ, र हामी त्यसलाई चेतना भन्छौं। जब शरीर मर्छ, यो कम्प्युटर बन्द हुन्छ। चेतना सकिन्छ। दुःख र सुख भनेको समयको कुनै खण्डमा चेतनाले महसुस गर्ने भावनामात्र हुन्।

यो ज्ञानले मानिसलाई के सिकाउँछ?

यसले हामीलार्इ जति धेरै तनाव लियो त्यत्ति दुख्ख हुन्छ भन्ने सिकाउँछ । दुःखी हुनु हाम्रो चेतनाको खेल मात्र हो। समयको कुनै क्षणमा हामीलाई सुख महशुस हुन्छ अनि कुनै क्षणमा दुःख। तर यी दुवै अस्थायी हुन्। जब मानिसले यो कुरो गहिराइमा बुझ्छ, तब उसलाई साँचो सुख प्राप्त हुन्छ। उसले हरेक भावना आउँछ र जान्छ भन्ने थाहा पाउँछ। कुनै पनि चीज स्थायी छैन। यो बुझाइले नै मानिसलाई दुःखबाट मुक्ति दिन्छ ।

प्राचीन ऋषिहरूको ज्ञानको रहस्य

यहाँ एउटा ठूलो प्रश्न उठ्छ।

यी सबै वैज्ञानिक अनुसन्धानहरू माइक्रोस्कोप, जेम्स वेब टेलिस्कोप जस्ता अत्याधुनिक उपकरणको सहायताले मात्र सम्भव भएका हुन्। तर हाम्रा प्राचीन ऋषिहरूले यी उपकरण बिना नै चेतना र सृष्टिको यति गहिरो ज्ञान कसरी पाए? उनीहरूले दुःखबाट मुक्ति पाउने मोक्षको अवधारणा कसरी विकास गरे? यो साँच्चै अचम्मको कुरा हो।

यसको जवाफ खोज्दै जाँदा हामीले के देख्छौं भने ऋषिहरूसँग एस्ट्रोनमीको ज्ञान त थिएन (जस्तै पृथ्वी गोलो छ, सूर्यको परिक्रमा गर्छ), तर उनीहरूले तारा, सूर्य, चन्द्रमाको उदाउने र अस्ताउने क्रम राम्रोसँग अध्ययन गरेका थिए। उनीहरूले समयलार्इ राशी, ग्रह तथा ताराहरूको स्थान गणना गरेर समयलाई बुझ्न सफल भएका थिए। घडी, पला, प्रहर, दिन, हप्ता, महिना, वर्ष तथा यूगको गणना गर्न जानेका थिए । प्रोफेसर हकिन्स एवं अलबर्ट आइन्स्टाइनले व्याख्या गरेको समयको अवधारणा नै पुर्वीय दर्शनमा पनि भेटिन्छ।

समयको भ्रम

सबैभन्दा ठूलो कुरा के हो भने ऋषिहरूले समयलाई भ्रम हो भन्ने बुझेका थिए। यो अवधारणा आइन्सटाइनले नोबेल पुरस्कार पाउनु भन्दा धेरै पहिले नै उनीहरूले जानिसकेका थिए। आइन्सटाइनले फोटोइलेक्ट्रिक इफेक्ट एवं समय कसरी सापेक्षिक छ भन्ने बारेमा काम गरे। तर उनको यो अवधारणा ऋषिहरूले हजारौं वर्ष पहिले नै बुझिसकेका थिए। उनीहरूले समय इलुजन (भ्रम) हो भनेर मोक्षको अवधारणा विकास गरे। मोक्षको अर्थ नै समय, स्थान, र कारणको बन्धनबाट मुक्त हुनु हो। समय त सधै चलायमान छ । हरेक बस्तु बदलिरहेको छ । यसविषयमा हेराक्लिटसले एक ब्यक्तिले एकपटक भन्दा बढि एउटै नदी तर्न सक्दैन भनेर ब्याख्या गरेका छन् । त्यो ब्यक्ति पुनः खोलामा प्रवेशगर्दा नदीको पहिलेको पानी बगिसकेको छुन्छ । उसले त अर्को पानी भएको नदी तर्ने छ । यस विषयलार्इ नदीले भाव ब्यक्त गरेको रूपमा हेरमान हेस्सेले शिद्धार्थ भन्ने पुस्तकमा बर्णन गरेका छन् । समयको बहाव पनि त्यसै गरी पुनः समात्न सकिँदैन् । बगिरहन्छ ।

समय (time) वास्तवमा कति “वास्तविक” छ र कति “भ्रम” (illusion) हो भन्ने प्रश्नले दुवै—आधुनिक विज्ञान र पूर्वीय दर्शन—लाई गहिरो रूपमा आकर्षित गरेको छ। Stephen Hawking जस्ता वैज्ञानिकले समयलाई भौतिक नियमहरूको दृष्टिकोणबाट हेरे, जबकि पूर्वीय सभ्यताले यसलाई चेतना र अनुभवसँग जोडेर व्याख्या गर्‍यो।

हकिङ्सका अनुसार समय पूर्ण रूपमा स्वतन्त्र र स्थिर चीज होइन। उनको पुस्तक A Brief History of Time मा उनले “arrow of time” को अवधारणा प्रस्तुत गर्छन्—समय सधैं एकै दिशामा बगिरहेको देखिन्छ, भूतबाट वर्तमान हुँदै भविष्यतिर। तर यो दिशा किन हुन्छ? यसको मुख्य कारण entropy अर्थात् अव्यवस्था बढ्दै जानु हो। भौतिकशास्त्रका नियमहरू प्रायः समय-सममित (time-symmetric) भए पनि हाम्रो अनुभवमा समय एकतर्फी देखिन्छ। यसले संकेत गर्छ कि समयको अनुभूति आंशिक रूपमा मानव अनुभवसँग सम्बन्धित छ, केवल ब्रह्माण्डको वस्तुगत गुण मात्र होइन।

अर्कोतर्फ, पूर्वीय दर्शन—विशेष गरी Upanishads र बौद्ध विचारधाराले—समयलाई अझै गहिरो रूपमा “माया” (illusion) का रूपमा हेर्छ। यहाँ समयलाई निरन्तर बग्ने वस्तु होइन, तर चेतनाको निर्माण मानिन्छ। वर्तमान क्षण मात्र वास्तविक हो, भूत र भविष्य मानसिक संरचना हुन्। बौद्ध दर्शनमा “क्षणिकवाद” (momentariness) को सिद्धान्तले भन्छ कि सबै कुरा क्षण-क्षणमा उत्पन्न र नष्ट भइरहेका छन्, त्यसैले स्थायी समयको धारणा भ्रम मात्र हो।

यी दुई दृष्टिकोण विरोधी भने होइनन्। हकिङ्सको सापेक्षता (relativity) सम्बन्धी व्याख्याले देखाउँछ कि समय पर्यवेक्षकअनुसार फरक हुन सक्छ—छिटो गतिमा चल्दा वा बलियो गुरुत्वाकर्षण क्षेत्रमा समय ढिलो बग्छ। यसको अर्थ समय एक सार्वभौमिक, समान दरमा चल्ने वस्तु होइन। यो विचार पूर्वीय दर्शनको “समय अनुभवमा निर्भर छ” भन्ने धारणा नजिक देखिन्छ।

यसरी हेर्दा, आधुनिक विज्ञान र पूर्वीय दर्शन दुवैले समयलाई पूर्ण रूपमा स्थिर र स्वतन्त्र वस्तु मान्दैनन्। विज्ञानले यसलाई भौतिक नियम र संरचनासँग जोडेर व्याख्या गर्छ भने पूर्वीय चिन्तनले चेतना र अनुभवसँग। अन्ततः, समयको “इलुजन” भन्ने विचारले हामीलाई यो बुझ्न सहयोग गर्छ कि हामीले अनुभव गर्ने वास्तविकता सधैं पूर्ण सत्य नहुन सक्छ—यो हाम्रो अवलोकन, सन्दर्भ र चेतनाको सीमासँग गहिरो रूपमा जोडिएको हुन्छ।

अद्वेत वेदान्त र श्रोडिङ्गर

चेतनाको उत्पत्ति र समाप्तिको विषयमा अद्वेत वेदान्तको आफ्नै धारणा छ। अद्वेत वेदान्त भन्छ - सबै एक हो। त्यो एक नै ब्रह्म हो। यो शरीर, मन, बुद्धि सबै माया हुन्। साँचो चेतना भनेको त्यो ब्रह्म हो। यसलाई बुझ्न एउटा उदाहरण लिऔं।

दुई जना मानिसले एउटै रूखलाई हेर्दा दुई फरक रूपमा देख्छन्। यसको अर्थ हामीले जे देख्छौं, त्यो हाम्रो मनले बनाएको छवि मात्र हो। रूख आफैंमा त्यस्तो छैन जस्तो हामी देख्छौं। हाम्रो चेतना, इन्द्रिय र मन मिलेर एउटा संसार रचेका हुन्छन्। श्रोडिङ्गरले इलेक्ट्रोनको कक्ष अनिश्चित हुन्छ भन्ने क्वान्टम सिद्धान्तबाट पनि यस विषयलाइ ब्याख्या गरेका छन् - पदार्थको निश्चित अवस्था हुँदैन, त्यो पर्यवेक्षकमा निर्भर हुन्छ। क्याट प्याराडक्स उनको चर्चित शिद्धान्ध हो ।

दयानन्द सरस्वतीको त्रेतवाद

ऋग्वेदका ज्ञाता महर्षि दयानन्द सरस्वतीले यसलाई त्रेतवादको रूपमा व्याख्या गरे। त्रेतवाद भनेको तीन प्रकारको दृष्टिकोण हो। उनले चराको उदाहरण दिएका छन् - चराले कुनै चीजलाई जसरी देख्छ, त्यो मानिसले देख्ने भन्दा फरक हुन्छ। एउटै चीजलाई फरक-फरक प्राणीले फरक-फरक रूपमा देख्छन्। यसको मतलब हामीले देखेको संसार "वास्तविक" छैन, यो हाम्रो इन्द्रिय र चेतनाको खेल मात्र हो।

दयानन्दले चेतना, सृष्टि, र हिरण्यगर्भको बारेमा पनि व्याख्या गरे। हिरण्यगर्भ भनेको सृष्टिको सुरुवाती बीज हो, सुनको गर्भ। उनले यो सबै ज्ञान आफ्ना गुरु विराजानन्द डण्डी गुरूबाट सिकेका थिए। विराजानन्दले नै ऋग्वेदको मर्म बुझाएका थिए। ऋग्वेदमा यी सबै कुराहरूको व्याख्या पहिले नै भइसकेको थियो।

निष्कर्ष

पहिलो कुरा - अर्धज्ञानले सधैं दुःख दिन्छ। जसलाई थोरै मात्र ज्ञान छ, तर पूर्ण ज्ञान छैन, त्यो मानिस अन्धविश्वास, भ्रम, र दुःखको चक्रमा फस्छ। सूर्यग्रहणको उदाहरणले यो स्पष्ट पार्छ।

दोस्रो कुरा - पूर्ण अनभिज्ञता कहिलेकाहीँ सुखदायी हुन्छ। केही नजान्ने मानिसले थोरैबेरको अलमलपछि सुख पाउँछ। तर यो दिगो सुख होइन, किनभने कुनै न कुनै दिन केहि कुरा उसले पनि सिक्छ नै।

तेस्रो कुरा - पूर्ण ज्ञानले साँचो सुख दिन्छ। चाहे त्यो वैज्ञानिक उपकरणबाट आएको होस्, चाहे प्राचीन ऋषिहरूको साधनाबाट। जब मानिसले चेतना, समय, र संसारको वास्तविक प्रकृति बुझ्छ, तब उसलाई थाहा हुन्छ कि सबै दुःख र सुख अस्थायी भ्रम मात्र हुन्। त्यसपछि उसले मोक्षको अनुभव गर्छ - जन्म र मृत्युको चक्रबाट मुक्ति।

चौथो कुरा - प्राचीन ऋषिहरूको ज्ञान अचम्मको छ। उनीहरूसँग आधुनिक उपकरण थिएनन्, तर उनीहरूले साधना, चिन्तन, र गहिरो अवलोकनको बलमा यी सबै सत्यहरू बुझे। उनीहरूले ताराहरूको गणितीय गणना गरे, समयको भ्रम बुझे, चेतनाको उत्पत्ति र समाप्ति बुझे, र सबैभन्दा महत्त्वपूर्ण - दुःखबाट मुक्ति पाउने बाटो देखाए।

अन्त्यमाः हामी अर्धज्ञानमा अड्किनु हुँदैन। कुनै कुराको ज्ञान प्राप्त गर्न छ भने त्यसको पूर्णता खोज्नुपर्छ। साथै, हामीले आफ्ना प्राचीन ज्ञान परम्परालाई पनि सम्मान गर्नुपर्छ। विज्ञान र आध्यात्म दुवैले एउटै सत्यतर्फ संकेत गर्छन् - संसार भ्रम हो, र त्यो भ्रम तोड्ने नै साँचो सुखको बाटो हो।

यसैले भनिन्छ - अर्धज्ञान दुख्खको मुहान हो। पूर्ण ज्ञान नै साँचो वरदान हो। र कहिलेकाहीँ केही नजान्नु पनि सुखदायी हुन्छ, तर त्यो सुख दिगो हुँदैन। दिगो सुखको लागि पूर्ण ज्ञानको खोजी गर्नैपर्छ। त्यो पूर्ण ज्ञानको नाम नै मोक्ष हो।

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!