तीन घण्टा हिँडेर टुप्पामा पुग्यौं - Blog Details

Blog Details

  • Home
  • Blog
  • तीन घण्टा ह...
तीन घण्टा हिँडेर टुप्पामा पुग्यौं
त्यही बाटोमा भर्लाको टाटा फुटेर भुइँमा लडेको भेटियो। टिपेर माथि पुगेपछि भित्रको फल बोक्रा छोड्याएर खाएँ। त्यो स्वादले मलाई एकैचोटि बाल्यकालमा पुर्‍याइदियो। उनले त्यो घटना सुनाउनुको उद्देश्य मलाई सतर्क गराउनु थियो ।

तीन घण्टा हिँडेर टुप्पामा पुग्यौं

12 Jan, 2026

तीन घण्टा हिँडेर टुप्पामा पुग्यौंः

एक्काइसौँ शताब्दीमा, म पहिलो पटक बेलायतबाट यति लामो समय बाहिर बसेँ। तीन महिना। यसअघि कहिल्यै लगातार यति धेरै समय बेलायत बाहिर बिताएको थिइनँ। समय आफैँ अनौठो लाग्यो। देश मात्रै होइन, आफू पनि फेरिँइदो रहेछ भन्ने अनुभूति भयो।

भारतका मथुरा, वृन्दावन, विदिशा, साँची, उदयगिरी गुफा र भिमबेटकाका चित्रहरू हेर्दै, ठाउँहरू घुम्दै दस दिनमा बुटवल आइपुगेँ। यस शताब्दीमा यति लामो समय नेपाल बसेको पनि यो पहिलो अनुभव नै हो। एक चौथाइ शताब्दी बाहिर बिताएर नेपाल फर्कँदा, मैले देश मात्रै होइन, समय पनि फर्केर हेर्ने मौका पाएँ।

विदेश जानुअघिको नेपाली समाज र अहिलेको समाजबीचको दूरी भोगें । फरक कागजमा होइन, मानिसको सोचमा देखेँ। म कलेज पढ्दै गर्दा मेरा भाञ्जा लोकसेवा तयारी गर्दै थिए। त्यो बेला मध्यम वर्गीय किशोरहरूको सबैभन्दा ठूलो सपना लोकसेवा पास गर्नु हुन्थ्यो। स्थिरता थियो। देशमै भविष्य खोज्ने आँट थियो।


त्यही तुलना गर्ने अवसर एक दिन जुर्‍यो। बिहानी पदयात्रा गरेर २२ मिनेटको नाके उकालो उक्लिएर एउटा चौपारीमा बसेको थिएँ। त्यहीँ दुई किशोर भेटिए। त्यो मोटरबाटो नहुँदा नुनको भारी बोकेर ढाक्रे हिँड्ने पुरानो बाटो थियो। त्यही बाटो हुँदै उनीहरू बसन्तपुरतिर जाँदै थिए। केही दिनअघि म त्यही बाटोबाट एक छिमेकीसङ्गै उक्लिएको थिएं । ती रिटायर्ड सहप्राध्यापकसँग चार घण्टा हिँडेर पुगेका थियौं। तर किशोरहरूसँग जाँदा कम समय लाग्यो। फर्किँदा पनि हिँडेरै फर्कियौँ।

उकालो चढदै गर्दा मैले ढाक्रेलार्इ भेटेका मेरो अनुभव सुनाएँ। सोधेँ, “ढाक्रे भनेको थाहा छ?” उनीहरूलाई थाहा रहेनछ। पहिले पनि त्यही चौपारीमा भेटिएका अरू किशोर–किशोरीलाई यही प्रश्न सोधेको थिएँ। कसैले पनि जानेका रहेनछन्। अचम्म मानिन । जीवन शर्माको ‘शिमली छायाँमा बसी भरिया…’ गीतको कुरा गर्दा भने चिन्ने रहेछन्। त्यही भरिया नै ढाक्रे हो भनेर बुझाएँ।

डाँडामा पुग्ने अन्तिम उकालो फेरि नाके उकालो नै थियो। करिब ४५ मिनेट लाग्यो। उनीहरू उमेरले मेरा भतिजा बराबर थिए, तर संवाद दाइ–भाइको जस्तै सहज भयो। फर्किँदा उनीहरू जापानी भाषामा आपसमा कुरा गर्न थाले। मेरो प्रतिक्रिया जान्न चाहे। मैले नबुझेको बताएँ। विष्णुले हाँस्दै भने—मेरो तालु, चस्मा, उमेरको कुरा गरेको रहेछ।

मैले उनीहरूको केटीसाथी र भविष्यको कुरा कोट्याएँ। उनीहरू जापान नपुगुन्जेल घरजमको सोच नै नआउने बताउँथे। विदेश नगएसम्म भविष्य उज्यालो हुँदैन भन्नेमा ढुक्क थिए। त्यो सुन्दा, त्यही उमेरमा लोकसेवाका लागि कस्सिएका मेरा जेठा भाञ्जा सम्झिएँ।

बाटो उही थियो। तर सपना फेरिएका थिए।

त्यही फरकले मलाई यो समय कति बदलिएको रहेछ भन्ने गहिरो अनुभूति गरायो।


उकालो चढ्दै गर्दा विष्णुलाई मभन्दा बढी मुस्किल हुँदै थियो। सास फेर्ने ताल बिग्रिएको थियो। पाइला बिस्तारै छोटिँदै गएका थिए। म भने उनलाई बीच–बीचमा उक्साउने प्रयास गर्थें। “अलिकति मात्रै बाँकी छ,” भन्थें। ढिलो गरेत “अब त फर्कन पाइँदैन।” त्यो उक्साहट मित्रताका लागि भन्दा पनि आत्मबल जोगाइराख्नका लागि थियो।

किरणको हिँडाइ भने फरक थियो। उनी पहाडमै हुर्किएका रहेछन्। पछिल्ला पाँच वर्षदेखि मात्रै तराई बस्न थालेका। उनको परिवार भने सबै जापानमै रहेछन्। त्यसैले जापान पुग्नु उनीहरूको साझा लक्ष्य रहेछ। किरणले पहिले पनि टुरिस्ट ट्रेकिङ रुटमा हिँडिसकेका रहेछन्। साहसिक अनुभवको स्वाद उनीसँग थियो। प्रकृतिसँग रमाउने उनको बानीले विष्णुलाई पनि फकाएको रहेछ। नत्र तराईमै जन्मेर हुर्किएको बिष्णुले यस्तो उकालो किन रोज्थ्यो र?

विष्णु झण्डै लत्रिएका थिए। पसिना मात्रै होइन, आत्मबल पनि चुहिँदै गरेको जस्तो देखिन्छ। किरण भने पचास–साठी पाइला अघि–अघि हिँडिरहेका थिए। उनीहरूबीचको त्यो दूरी पहाड र तराईको दूरीजस्तै लाग्यो। म बीचमा थिएँ। न पूरै थाकेको, न पूरै सजिलोमा।

पहिले जनार्दन घिमिरे सरसँग म यही डाँडो उक्लिएको थिएँ। त्यतिबेला अलि सजिलो बाटो रोजिएको थियो। यसपालि भने म नयाँ बाटो छिचोल्न उत्साहित थिएँ। किरणले देखाएको गोरेटो मान्छे खासै नहिँड्ने रहेछ। जङ्गल बाक्लो। उकालो ठाडो। किरणले “यही बाटो हो” भन्दै हामीलाई डोर्याउन नथालेको भए, म आफैँ त्यतातिर हिँड्ने हिम्मत जुटाउने थिइनँ।

त्यही बाटोमा भर्लाको टाटा फुटेर भुइँमा लडेको भेटियो। टिपेर माथि पुगेपछि भित्रको फल बोक्रा छोड्याएर खाएँ। त्यो स्वादले मलाई एकैचोटि बाल्यकालमा पुर्‍याइदियो। किरणले भने जङ्गल पदयात्राको एउटा अनुभव सुनाए। बारीको काक्रो झै देखेर जङ्गलको काँको खाएका रहेछन्। त्यसपछि मुख सुन्निएको, बान्ता भएको अनुभव रहेछ। जङ्गलमा जे पायो त्यही खान हुन्न भनेर झस्काए । उनले त्यो घटना सुनाउनुको उद्देश्य मलाई सतर्क गराउनु थियो ।

उनलाई भर्लाको टाटाको अनुभव रहेनछ। मलाई भने थियो। त्यसैले ढुक्क भएर खाएँ। सानोमा काँचो भलाय उछ्रिएको सम्झना पनि ताजा भयो। स्वाद र पीडाको त्यो मिश्रित स्मृतिले मन हल्का बनायो।

म सात वर्षको हुँदाको कुरा झल्झली आयो। बारीको डिलमा उभिएको कटुँसको रूख सम्झिएँ। त्यो कटुँसको स्वाद जिब्रोको टुप्पामा सल्बलायो। थुक घुटुक्क निलें। समय र स्वाद कति सजिलै जोडिँदा रहेछन्।

विष्णु मभन्दा पछिपछि हिँड्दै थिए। उनको हालत देखेर मैले भनेँ, “ढाक्रेको अनुभूति सुनाउँछु।” उनीहरू दुवैले चासो देखाए। हामी तीन जना तीनवटा ढुङ्गामा बस्यौँ। जङ्गलको बीच थियो। मोबाइल नेटवर्क खुल्छ कि खुल्दैन भन्ने धुकचुक मनमा थियो। ढिलो गरेरै भए पनि खुल्यो। मैले मेरो लेख खोले । बाचन गरेँ ।

https://flyktm.com/travel/govind/fullarticle.aspx?WritingID=173

उनीहरूले ध्यान दिएर सुने। शब्दहरू उनीहरूको थकाइभन्दा गहिरो ठाउँमा पुगिरहेको जस्तो लाग्यो। त्यो क्षण म सुत्केरी नारीले बच्चा हुर्काएजस्तै खुसी भएँ। म पुरुष हुँ। नारीजस्तो गर्भ बोकेर सन्तान जन्माउन सक्दिनँ। तर अक्षर जन्माउन सक्छु। अनुभूति सिर्जना गर्न सक्छु। त्यसैले आफ्नो सिर्जना सुनाउन पाउँदा म हर्षित भएँ।

डाँडोमा पुगेपछि विष्णु सबैभन्दा बढी दङ्ग परे। उनी तराईमै जन्मेका, तराईमै हुर्किएका। टुप्पोमा उभिएर देखिएको हिमालको दृश्यले उनको शरीर मात्रै होइन, हड्डी पनि हाँसेको होला जस्तो लाग्यो। उनी केही बेर बोल्न सकेनन्। आँखाले मात्रै प्रतिक्रिया दिए। एकछिन पछि भने "जीवना हिमाल दखेको मेरो दोस्रो मौका हो" ।

त्यो दृश्यले मलाई पनि धेरै कुरा सोच्न बाध्य बनायो। बाटो उही थियो। पहाड उही थियो। तर अनुभूति फरक थियो। एकातिर विदेश पुग्ने हतार। अर्कोतिर यहीँ बसेर स्मृति खोज्ने मन।

ओरालो झर्दै गर्दा उनीहरू जापानी भाषामा कुरा गर्दै थिए। म बुझ्दिनथेँ। तर बुझ्नै नपर्ने कुरा पनि धेरै हुँदो रहेछ। उनीहरूको भविष्य जापानमा थियो। मेरो अनुभव यहीँ थियो।

त्यही फरकले मलाई यो शताब्दीको समाज कता जाँदैछ भन्ने देखायो। ढाक्रे हराए। शब्द मात्रै बाँकी रहे। गीतमा। लेखमा। स्मृतिमा।

म त्यो दिन थाकेँ। तर गह्रुँगो थकाइ थिएन। अनुभवको थकाइ थियो।

र, सायद त्यही थकाइ नै मेरो पूँजी हो।

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!