Blog Details

cateringpal
स्थानीयलाई त ई.सं. चौथो शताब्दीमा मथुरा अहिलेको हार्बर्ड, अक्सफोर्ड, क्याम्ब्रिज जस्तो दर्शनशास्त्र अध्ययन-अध्यापनको केन्द्र थियो भन्ने पनि थाहा रहेनछ। दण्डी गुरूको कुटीका बारेमा केही आर्य समाजका व्यक्तिहरूलाई थाहा रहेछ। तर, बुद्ध दर्शनको उत्पत्तिको विषयम

मथुरामा ऋृग्वेदका गुरूको कुटी खोज्दा

15 Nov, 2025

मथुरामा ऋृग्वेदका गुरूको कुटी खोज्दा

(नियात्रा) - गोविन्द बेल्वासे


ऋग्वेदका आधिकारिक श्रोत र गुरू बिराजा नन्द

ती गुरूले बचपनदेखि नै आँखा देख्दैन थिए । उनी ऋृग्वेद कण्ठस्त रहेका गुरू हुन् । त्यसैले श्रुति र स्मृतिका भरमा अडिएको वेदको आधिकारिक श्रोत उनै गुरू हुन् । उनै गुरूको कुटी खोज्न म मथुरा पुगेको थिएं । उनको जन्म सन् १७९० देखि १८१०को बीचमा भएको मानिन्छ ।

गीता प्रेस, गोरखपुरले प्रकाशित गरेको ऋग्वेदको मुख्य आधार सायणाचार्यको वैदिक भाष्य (टीका) हो। उक्त छपाइ शाकल शाखा नाम गरेको प्रचलित सम्पादनमा आधारित छ। त्यसैले मेरो मनमा गीता प्रेसले छापेको ऋृग्वेदको आधिकारिकता माथि प्रश्न उठेको थियो ।

ऋृचाको उच्चारण अनुसार अर्थ लगाउनु पर्ने वैदिक ज्ञानको मर्म हो । सो कुरा दयानन्द सरस्वतीलार्इ बिराजा नन्द गुरू भेट्नुभन्दा पहिला पढेका ब्याकरण पुनः सिकाएपछि मात्र ऋृग्वेद पढाउनुबाट पनि पुष्टि हुन्छ ।

कुटी खोज्ने संघर्ष र आधुनिकताको चुनौती

कुटी त भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले शिलान्यास गरेर पाँचतले स्मारकमा परिणत भएको पाएँ। म बिराजा नन्द कुटीभन्दा १५० कदम नजिकै पुगेको थिएँ। पाएको सूचनाअनुसार म कुटीको नजिकै हुनुपर्छ भन्ने थाहा थियो। तर, स्थानीय मानिसहरूलाई जसलाई सोध्यो, उसले "थाहा छैन" भन्थ्यो।

म साँगुरो गल्लीबाट निस्केर त्यो मूल सडकमा पुगेपछि बायाँ लागेको थिएँ। मलाई गुगल म्यापले डोर्याउँदै त्यहाँसम्म पुर्याएको थियो। कुटीको अगाडिपट्टि बोर्ड छ भन्ने जानकारी पाएको थिएँ। अहिले गुगललाई उछिनेर एआइको सनसनीको युग हो भनिन्छ। तर, कतैपनि वेबसाइटतिर बिराजा नन्द दण्डी गुरूको कुटीको बारेमा जानकारी नपाएपछि म मथुरा पुगेको हुँ।

शहरमा पुगेपछि पनि कुटी भेट्न तीन दिन लाग्यो। बाटोका दुबैतिर करिब दश हात मोहडाका जस्ता घरहरूको माथिसम्म हेर्दै हिँडे। कतै पनि मैले खोजेको बोर्ड देखिरहेको थिइन। घरहरू जोडिएका थिए। मकैका झोँता सुलीमा लस्करै झुण्डाएको जस्तो देखिने अग्ला घरहरू खाप्पिएर लम्पसार थिए। घरको लस्करको ताल देख्दा उहिले बटौलीको नुन बजार गएको झल्को पाएँ। सानो मोटर पनि मुस्किलले गुड्न मिल्ने सडकका दुबैपट्टिका घर उस्तै गरी खाँदिएका थिए। उपराष्ट्रपति श्री बि.डी. जत्तीले १९७५ मा उद्घाटन गरेको त्यो कुटीको महत्त्व छिमेकीलाई थाहा नै रहेनछ।

स्थानीयलाई त ई.सं. चौथो शताब्दीमा मथुरा अहिलेको हार्बर्ड, अक्सफोर्ड, क्याम्ब्रिज जस्तो दर्शनशास्त्र अध्ययन-अध्यापनको केन्द्र थियो भन्ने पनि थाहा रहेनछ। दण्डी गुरूको कुटीका बारेमा केही आर्य समाजका व्यक्तिहरूलाई थाहा रहेछ। तर, बुद्ध दर्शनको उत्पत्तिको विषयमा केवल संग्रहालयले मात्र सूचना संगालेर बसेको छ। सन् ३९९ मा फाहियान त्यही ज्ञान केन्द्रसम्म चीनदेखि हिँडेरै पुगेका थिए। म भने सजिलै उडेर र गुडेर पुगेको छु।

दण्डी गुरू र दयानन्द सरस्वती

गुगल गर्दा भेटिएको आर्य समाजको सामुदायिक भवन मेरो एक मात्र सम्पर्क सूत्र थियो। त्यसैले म मथुरा पुगेको भोलिपल्ट बिहान नै त्यता लागें। मथुरा पुग्दाको दिन म अबेला राति पुगेको थिएँ। समय भएको भए पुग्दाकै दिन त्यो सम्पर्क सूत्रमा जाने विचार थियो। यसबाट मभित्र बिराजा नन्द दण्डी गुरूको कुटी भेट्ने कति इच्छा थियो भन्ने बुझिनै हाल्नु भएहोला।

बिराजा नन्दलाई आर्यसमाजका व्यक्तिहरूले दण्डी गुरू भनेर चिन्दा रहेछन्। किन दण्डी गुरू भनेका हुन भन्ने त मलाई पुरै जानकारी छैन। तर, अनुमान भने छ। बिराजा नन्द गुरू निकै कडा मिजाजका थिए भन्ने कथन छ। चेलाहरूलाई उनले दण्डी (लठ्ठी)ले नै निकै पिट्थे भन्ने विषयमा दयानन्द सरस्वतीका प्रसङ्गहरूमा पनि जोड्ने गरिन्छ। गुरूको कडा पिटाइको समर्थन गर्ने भएकोले दयानन्दसँग उनका सहपाठीहरू पनि रुष्ट हुन्थे भन्ने विवरण भेटिन्छ। दयानन्दले पनि गुरूको पिटाइ त निकै खान्थे। तर, उनले भने चेलालाई तह लगाउनकै लागि राम्रो उद्देश्यले गुरूले पिट्ने गरेको तर्क गर्दा रहेछन्। संस्कृत शास्त्रहरूमा गुरूले विद्यार्थीलाई ताडन (नियन्त्रण) गर्नुपर्ने उल्लेख हुनुबाट पनि ती गुरू-चेलाको प्रसङ्गलाई मनन गर्न सकिन्छ।

बिराजा नन्द दण्डी, दयानन्द सरस्वतीका गुरू हुन। धेरै मुस्किलले, हण्डर खाएपछि भेटिएका खोजे जस्ता दक्ष गुरू थिए उनी। पूर्वीय दर्शनको जानकारी हुने धेरैजसोलाई दयानन्दको बारेमा थाहा हुन्छ। तर उनका गुरूको बारेमा जिज्ञासा राख्ने मान्छे भातमा बियाँ भेटिए जस्तो हो। ढिँकीमा धान कुट्ने जमानाको अन्त्यतिर भने दण्डी गुरू प्रख्यात थिए।

कुटी भेटियो!

भारतका राष्ट्रपतिले नै जग शिलान्यास गर्न पुग्नुले भारत स्वतन्त्र भएको समयमा त्यो कुटीलाई कति महत्त्वका साथ हेरिन्थ्यो भन्ने पुष्टि हुने रहेछ। तर, शिलान्यास गर्ने व्यक्तिको बारेमा म त्यो घरभित्र पस्नुभन्दा पहिला थाहा थिएन। त्यति महत्त्वपूर्ण भूभाग किन ७५ वर्षमै ओझेलमा पर्यो होला भन्ने पनि विचारणीय पक्ष छ।

  • उक्त कुटी भेट्ने उपाय सुझाएका व्यक्तिले हिन्दुस्तानी दवाखानामा सोध्न भनेका थिए।
  • चारजनालाई सोध्दा पनि जानकारी भएको मान्छे भेटिएन।
  • एक स्थानीय दुकानदारको सहयोगमा अर्को स्थानीय व्यक्तिले मलाई बाटो देखाए।

करिब १५० पाइला हिँडेपछि फलेक जोडेर बनाएको दुवैतिर खोल्न मिल्ने सटर जत्रो ढोकामा पुगेर उनले यही हो भनेर देखाए। हुन पनि "दण्डी स्वामी गुरू विराजा नन्द स्मारक" लेखेको बोर्ड देखेपछि म ढुक्क भएँ।

दयानन्द सरस्वतीकै कारण उनका गुरू चिनिने हुनाले बोर्ड पनि त्यसै अनुसार लेखिएको रहेछ। तल्लो लाइनमा "दीक्षा स्थली महर्षि दयानन्द सरस्वती" लेखिएको छ।

मथुराको गल्ली र १९औं शताब्दीको अनुभव

म बसेको होटलबाट केही किलोमिटरमा उक्त कुटी भएकोले म हिड्दै पतली गल्लीमा छिरें। त्यो गल्लीमा हिँड्दा म सानो छँदा देखेको जीवनशैली भेटें। त्यो जीवनशैलीले उन्नाइसौं शताब्दी झल्काउँदै थियो। साँगुरो गल्ली, त्यसमा पनि गाइहरू बाँधिएकाले हिँड्दा सतर्कता चाहिने। भुस्या कुकुर हरेक दश पाइलामा भेटिने। बीचबीचमा कतै गधा र घोडाको लादी कुच्दै हिँड्न पर्ने। एक-दुई ठाउँमा गल्लीलाई नै तबेला बनाइएको पनि रहेछ। झन् एलर्जीले गर्दा मेरो नाकले काम गर्नै छाडेको थियो। नत्र त्यहाँको गन्धको वर्णन गर्ने थिएँ।

मेरो जीवनमा मैले देखेका ठूला मानव बस्तीहरू मध्ये मथुराको फोहोरले प्रथम पुरस्कार प्राप्त गर्ने हौसिल बनाएको छ। फोहोरी बस्तीको लागि पुरस्कार दिने निर्णायक मण्डलमा म परें भने पूर्णाङ्क नै दिनेछु।

सम्पर्क सूत्रको पर्खाइ र संग्रहालयको यात्रा

धेरै दुरी थिएन, त्यसैले आर्यसमाजको सभाहलसम्म म गल्ली चाहार्दै पुगेको थिएँ। मेरो ध्यान एलर्जीको जोखिम बोकेरै भए पनि कुटी भेट्नुमा केन्द्रित थियो। पुग्न त पुगें, तर त्यहाँ संस्थाको सम्पर्क व्यक्ति कोही थिएन। माथिल्लो तलाका हलहरू बन्द थिए।

तल्लो तलामा संस्थाले भाडामा दिएको सटरका पसलेलाई सोधें। उनले सहयोग गरेर एउटा फोन नम्बर दिए। फोन उठ्यो। मैले "नेपालबाट कुटी खोज्न आएको" भनेर चिनारी बताएँ। उनले "अहिले अस्पतालमा भएकोले ८ घण्टापछि फोन गर्नु" भने।

कुटीको विषय ८ घण्टाका लागि स्थगित भएपछि संग्रहालय जाने दोस्रो बुँदाले ग्राह्यता पायो। सडकमा घोडाले तान्ने सामान ढुवानीका गाडाहरूले उन्नाइसौं शताब्दीको बजारको प्रतिनिधित्व गरिहाल्यो। चालकको खल्तीमा भएको मोबाइल फोनले एक्काइसौं शताब्दीको भाइब्रेशनको धक्का पनि सहेकै देखें।

बाटोमा हिँड्दा: "बजुलीको तार जोडिएको गाँठो सुरक्षित पार्न आफ्नो पेटभित्र राखेर बोतल झुण्डिएको" भेटियो, जसमा ठोक्किनबाट म मुश्किलले बचें।

माटोका मट्का र स्थानीय मान्यता

सडकमा दुबैतिरका छेउमा माटोका मट्का बेच्न राखिएका थिए। किन्दै गरेका ग्राहकहरू सबै महिला नै देखिए। चिया र लस्सी खाने माटोका भाडाको प्रचलन जीवन्त रहेछ।

एक युवालाई सोध्दा थाहा भयो:

  • "सधैं यसरी यी मटका बेचिँदैनन्"।
  • दिवाली अघिको अष्टमीमा आमाहरूले मटकामा पानी भरेर सुत्ने कोठामा राख्ने गर्दा रहेछन्।
  • दिवालीका दिनमा त्यही मट्काको पानीले नुहाउँदा छोराहरूको आयू बढ्छ भन्ने मान्यता रहेछ।

ताज्जुब मान्दै हिँड्दै हेर्दै संग्रहालय पुगें। तर, सोमबार संग्रहालय बन्द हुने रहेछ

कृष्ण जन्मस्थानको भ्रमण र विवाद

मथुरा पुगेपछि कृष्ण जन्मस्थान त हेर्नै पर्यो ।

जन्मस्थानका गेटहरूको विवरण:

  1. गेट नम्बर १: मान्छेको भिड धेरै।
  2. गेट नम्बर २: गल्ली भित्र पर्ने हुनाले लाइन नै बस्न नपर्ने स्थिति।
  3. गेट नम्बर ३: पहिलो भन्दा पनि धेरै लामा तीन वटा लाइन बसेर भित्र छिर्दै थिए।

कृष्ण लिलामा सुनिएका र पढिएका कथाहरूमा बर्णन गरिएका संरचनाहरू प्रबचन गुरूहरूले बताउने जस्तो धेरै पुराना महशुस गरिन । केहि सय वर्ष भित्र बनाइएका र सजाइएका ती तिर्थाटनमा मान्छेको भिड थियो ।

कृष्ण भगवान जन्मिएको बन्दिगृहमा छिर्दा शरीरको अगाडि पछाडि र छेउँको भाग अरू ब्यक्तिले नछुने गरी भित्र पस्न सम्भव नै थिएन । धन्न धक्का धुक्कि भने थिएन ।

मन्दिरको अर्को पट्टि मस्जिदका बुर्जा देखिन्थे तर त्यो परिसर बन्द थियो । कानूनी लडाइमा धर्महरूको तछाड मछाडले गर्दा कृष्ण जन्मभूमि पनि विवादित रहेछ । मन्दीर र मस्जिद अंशबण्डाको विवादले राम जन्मभूमिको विगत झल्काउँदै थियो ।


Recent Blogs